logo
  • शनिबार, भाद्र २० २०८३

प्रतिस्पर्धा कै लागि प्रतिस्पर्धा गर्नु कति उचित ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

केवी थापा ।
यसै त नेपालको ईतिहासका हरेक कालखण्डमा भएका परिवर्तनहरु चाहे ती राम्रा हौन या नराम्रा नै दुबैमा दिल्लीको भुमिका उल्लेखनिय रहेको यथार्थलाई कसैले नकार्न सक्दैन । नेपाल-भारत मैत्री संन्धी पश्चात् नेपाली नागरिकहरु आफ्नो जिविको पार्जनको लागि रोजगारीको खोजीमा भारतका बिभिन्न शहरहरुमा र भारतियहरु पनि नेपालमा जान सुरु गरेको भनिएतापनि बास्तवमा नेपाली भारतमा र भारतिय नेपालमा कहिले देखि आवज-जावत गर्न शुरु गरे भनेर किटान गर्न निकै मुश्किल छ ।

भारत- नेपालको रहन-सहन, संस्कार-संस्कृति, पहिरन मिल्दो जुल्दो हावा पानी र सहज भासा एवं खुला सिमानाको कारण वैदेशिक रोजगारिको लागि जाने नेपालीहरुको परापुर्व काल देखि नै पहिलो गन्तव्य भारत नै रहेको पाइन्छ भने अर्कोतर्फ अन्य बाह्र्य मुलुक जादा भिसा, पासपोर्ट लगाएत अन्य खर्चको लागि ठूलो रकम खर्चिनु पर्ने तथा उमेरको समय सिमा रहने भएको तर भारतको लागि कुनै कानुनी प्रक्रिया बिना नै सहजै प्रवेश र काम खोज्नको लागि सहज प्रक्रिया हुनु पनि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि पहिलो गन्तव्य भारत रहेको पाइन्छ ।

भने अर्को तर्फ कानुनत १८ वर्ष भन्दा कम उमेरका व्यक्तीलाई काममा राख्न नपाइने भनिएता पनि खुल्ला सिमाना भएको कारण र प्राय अधिकांशका आफन्त भारतमा रहेको र सामान्य उपचारको लागि पनि भारत तर्फ धाउनु पर्ने बाध्यता कै कारण नाबालिकहरु पनि सहजै प्रवेश गर्ने, स्कुलमा फेल हुँदा होस या घरमा झगडा परेर होस भागेर भारत आउने प्रचलन व्याप्त भएको पाइने गरेको छ ।

शुरुमा भारतमा आउने नेपालीहरुलाई सहजै विश्वास र इज्जत गर्दै नेपाली देख्ने बित्तिकै समाएर जवर्जस्ती भएनी भारतिय गोर्खा राइफलमा होस या भारतिय सरकारी निकायमा भर्ना गरिन्थ्यो भन्ने कुरा हाम्रा अग्रजहरुबाट सुनिन्छ । बिस्तारै समयले कोल्टे फेर्दै जांदा त्यस्तो अवस्था नरहेपनि केही समय पहिलासम्म नेपाली भन्ने बित्तिकै निकै भरोसा योग्य एवं सोझा र इमानदार भनेर हेरिन्थ्यो । तर समय संगै केही अपराधी प्रवृतिका मान्छेहरुको कारण केही समय यता नेपालीलाई हेरिने दृस्ठिकोण र गरिने व्यबहारमा निक्कै फरक देखिन थाल्यो ।

हुन पनि पहिले पहिलेको समयमा भारत आउने नेपालीहरु मध्य प्रायः अनपढ हुने गरेको र उनिहरुलाइ आफ्नो हक- अधिकार र नेपाल- भारत मैत्री संन्धीले भारतमा काम गर्ने नेपालिहरुलाइ दिएको सेवा, सुबिधाको बारे जानकारी नभएको र कामको लागि अर्को गन्तव्य नहुदा आफू माथी अत्याचार नै भएपनि चुप-चाप सहेर बस्ने भएकै कारण पनि नेपाली सोझा र इमान्दार हुने गर्दथे कि भनेर सोच्नु पुरै गलत नहोला ।

पछिल्लो समयमा माओबादि द्वन्दबाट पिडित भएर होस या उच्च तहसम्म अध्यन पश्चात् पनि देशको राजनितिक अस्थिरता, चरम बेरोजगारी एवं अलि अलि भएको रोजगारको लागि पनि घुस, पहुंच र आफन्तको सिफारिसको आवस्यकता हुने हुदां आफ्नो कौशल र दक्षताको सदुपयोग गर्ने अभिलासा बोकेर अधिकांश पढे लेखेका नेपालिहरु पनि भारतमा आउन लागे । त्यस मध्य पनि देशको राजधानी एवं आवत जावत गर्ने दुरि, साधनको सहजताले पनि त्यस मध्य दिल्ली प्रमुख गन्तब्य बन्न थाल्यो ।

यथार्थ विवरण एवं तथ्यांक कोहि कसैसंग नभएपनि नेपालि र नेपाली भाषी गरेर दिल्ली-एन सि आरमा करिव करिव १६/१७ लाख नेपालीको बसोबास रहेको कुरा प्रायः धेरैबाट सुनिन्छ । जनावरले पनि आफ्नो समाज र झुन्ड बनाउने गर्दछ भने मानिस त झन सामाजिक प्राणी हो, जहाँ जुन स्थिती र परिस्थिती भएपनि आफ्नै भाषी र आफ्ना देशका नागरिकहरुको एक आपसमा सम्पर्क हुने नै भयो ।

यसरी नै केही वर्ष पहिलासम्म भारतमा नेपालीको संस्था वा संगठन भनेकै नेकपा मशाल समर्थित “मुल प्रवाह अखिल भारत नेपाली एकता समाज” भन्ने मात्रै सुनिएपनि बिस्तारै प्रायः सबै जसो राजनितिक दलले आफ्ना भात्री संगठन भारतमा बिस्तार गर्न थाले त्यसै गरि क्षेत्रीय, जिल्ला, बिचार एवं उदेश्य संगै थुप्रओ संघ-संस्था जन्मिन लागे ।

दिल्ली स्थित नेपाली राजदुतावासमा रहेको लिस्टमा करिव चार दर्जन जति संघ-संस्था हुनु पछिल्लो समयमा कुनै कुनै समयको मागले खोलिए पनि अत्याधिक संघ-संस्था ब्यक्तिगत स्वार्थ सिद्ध गर्न कै लागि र पुरानो संस्थामा झै-झगडा गरेर वा आफुले चाहे अनुरुप नहुँदा वा भनौं धन आर्जन गर्ने उदेश्यले नै खोलिन्छन भन्ने कुरा प्रमाणित हुन्छ ।

भारतको अन्य शहरको त त्यति भन्दिन तर दिल्लीमा खोलिएका अत्यधिक संघ-संस्थाहरुको मुख्य उदेश्य भनेकै २६ जनवरी, १५ अगस्त, हरितालिका (तीज) आदि आदि नै हुने गर्दछन त कसै-कसैले जाती, धर्म, एवं अन्य विभिन्न नाममा मागेर खाने भांडो नै बनाएको देख्दा अत्यन्तै दुख लागेर आउँछ । नेपालीको पहिचान नै अनेकतामा एकता हो, आफ्नो संस्कार -संस्कृति लाई जोगाउदैं अर्काको संस्कृतिलाई सम्मान गर्नु हाम्रो परम्परागत संस्कार हो ।

तर भर्खरै सम्पन्न राष्ट्रिय एकता दिवस जस्ता ऐतिहासिक महत्वपूर्ण पर्वलाई उपेक्षा गर्दै १५ अगस्त र २६ जनवरीलाई लक्षित गरेर संस्थाहरुद्वारा कार्यक्रम राखिनु कदाचित आफ्नो कला-संस्कार एवं संस्कृतीको जगेर्ना गर्ने अभिप्रायले हुन सक्दैन ।

केवल एक अर्काले आफैलाई चर्चामा पुर्याउने र पैसा कमाउने तथा केही समाजका कलंकित एवं गलत बाटो अख्तियार गरेर पैसा कमाएका तर छवि र इज्जत कमाउन नसकेका केही तथाकथित समाजसेवीहरु संग मोटो पैसा लिएर उनिहरुलाइ समाजको सामु महान देखाउदै फुल-माला र अबिरले स्वागत गर्दै उनको हुँदै नभएको ब्याक्तित्वलाई प्रचार-प्रसार गर्ने माध्यम मात्र बनेका अधिकांश संघ-संस्थाको बिचमा कस्ले कसरी अर्को संस्थालाइ होच्याउने र आफैलाइ महान देखाउने भन्ने लामो समय देखि चलिरहेको होडमा यसपटक केही व्यापारी संगठनहरु पनि कुदेको देख्दा बडो अचम्म लागेको छ ।

स्वच्छ प्रतिस्पर्धा हुनु अत्यन्तै राम्रो कार्य हो, यस्ले समाजमा रहेका राम्रा र वास्तविक तथा नराम्रा र स्वार्थ सिद्दीको लागि खोलिएका संघ-संस्थाहरुको वास्तविकता जनता सामु ल्याउदछ भने अर्कोतिर सांच्चिकै धरातलिय यथार्थमा रहेर कार्य गरिरहेका संस्थाका कार्यकर्तालाई निखार्दै लैजान्छ तर यहाँ त प्रतिस्पर्धा कै लागि प्रतिस्पर्धा भएको देख्दा हाम्रो असभ्य समाजका आफैलाइ सभ्य भन्न रुचाउने महाशयहरुले समाज र बैदेशिक भुमीमा पनि हामी आफु-आफू बिचको द्वन्दलाई छताछुल्ल पारेको देख्दा सांच्चिकै नेपाल र नेपालीलाई भारतियद्वारा हेपिनुकोपछि हामी नै कारण रहेछौं भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

केही समय पहिला केही संघ-संस्थाका प्रतिनिधिको पहलमा दिल्ली-एनसिआरका सम्पुर्ण रजिस्टर्ड संघ-संस्थालाई एकजुट बनाउदै महांसघको परिकल्पना गर्दै केही पटक बैठक बसे पनि कार्यान्वयन हुन सकेन । अन्ततोगत्वा त्यहा पनि अहमता या पदिय बांडफाडमा कुरा मिलेन कि अथवा अरु नै केही कारण हो त्यो उहांहरुलाइ नै थाहा होला । धेरैवर्ष पहिला एक हिन्दी पत्रीकामा पढेको थिए “नारी मुक्ती अभियान के ब्यानर तले हि महिलाओं द्वारा जवर्जस्ती ….।”

प्रायः सबैको ब्यानरमा लेखिने भनेको साझा शब्द “आफ्नो कला र संस्कृतिको सम्मान एवं जगेर्ना गरौं । यी दुई बिच कुनै अन्तर देखिदैन दिल्लीको हकमा । समाज सेवाको नाउमा खोलिने भनेका संघ-संस्थाहरु कुनै नेपालीलाई समस्या पर्दा वा आवश्यकता हुदां एक-अर्काको मुख ताक्ने र अघि सरेर काम नगर्ने अनि अर्को सस्थाले गरिरहेको छ, गर्न दिनुस न भन्ने यहाँका संघ-संस्थाहरुको लागि २६ जनवरी, १५ अगस्त एव हरितालिका तीज आउँदा दशैं-तिहार आए जस्तै मुख मिठाउने प्रवृतिको बिचमा यसपटक ब्यापारी संगठन पनि पस्नुले अब कस्तो मोड ल्याउने हो त्यो त समयले नै देखाउने छ ।

तर यहाँ सांढेको जुधाइ बाच्छाको मिचाइ भने जस्तै यसरी प्रतिस्पर्धा हुँदा एकको कार्यक्रममा जांदा अर्को पक्षले बिरोधि कित्तामा राख्नु अर्को कोमा जादा पनि त्यही समस्या हुनु, जस्ता विविध समस्या उत्पन्न हुने हुँदा कार्यक्रमका दर्शक समेत दुविधामा पर्ने, दुबैको कार्यक्रम पुर्व सफलता एवं असफलताको शंका र डरले आयोजकलाई सताउनु, यस्तै विविध समस्या उतपन्न हुने हुदां सकेसम्म मिलेर साझा कार्यक्रम बनाउने बानी बसालौं।

कलाकार राष्ट्रका गहना हुन, कला, संस्कार, संस्कृति हाम्रो वास्तविक पहिचान हो ।यस्लाइ जगेर्ना गर्नु अत्यन्तै सह्रानिय कार्य हो । तर यस्लाइ मागी खाने भांडो बनाउनु, समाजका तथाकथित समाजमा ढलेको सिंको पनि ठाडो नपारेकालाई पैसाकै बलमा समाज सेवी बनाएर प्रस्तुत गर्नु एवं प्रतिस्पर्धा कै लागि प्रतिस्पर्धा गर्नु सर्वथा निन्दनिय छ ।

अन्त्यमा यसपटक दिल्लीमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने दुबै “सुपा देउराली टुर एन्ड ट्रावल्स र देवि देउराली सांस्कृतिक मंन्च”लाई सफलताको हार्दिक सुभकामना । बाकिं निर्णय त दर्शकको हातमा निहित छ ।

जय देश, जय नेपाल !


प्रकाशित मिति : ०८ माघ २०७४ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend