साझा नेटवर्क
-मनिकला महतारा ।
आमा म कसरी सुरुवात गरौं हजुरको बारेमा लेख्न ? मेरा यी औला थर्थराइ रहेछ्न । नयनहरु फर्फराइरहेछ्न । परेली भिजिसकेछ्न । सायद आमा मेरा परेलिले हजुरलाई खोजि रहेछ्न । अनि अबोध ओठहरुले हजुरलाई सोधि रहेछ्न त्यो पनि अविछिन्न रुपमा आमा हजुरको त्यो राम्रो, पातालो मिलेको शरीर ती तपाईले लगाएको टीकि, गाजल अनी त्यो केही अभावमा चहराएका घाउहरु सन्चो भयो होला आमा या त्यस्तै छ्न ।
हजुर त ठुला पिर पनि लुकाएर हासेकी नारी, अभावमा पनि बाचेकी नारी, सानो पिर त पिर नै नमान्ने । तर किन आमा हजुरलाई कुन त्यस्तो पिर, परिस्थितिले म बाट टाढा गराए बस म यहि प्रश्नहरुको जवाफ खोजिरहेको छु, कहिले आफुबाट, अहिले भगवानबाट सायद यसको जवाफ हजुरले मात्रै दिन सक्नुहुन्छ आमा, मलाई हजुर प्रती गर्व छ ।
हजुरले कलम समाउन सिकाएका हातले हजुरको बारेमा शब्द लेख्ने भएछ्न । मलाई नौ महिनासम्म कोखमा राखेर जन्माउनु भयो । कत्ती पिडा भो होला त्यो बेला म लेख्न त के कल्पना सम्म पनि गर्न सक्तैन । हजुरले नै भन्नू हुन्थ्यो जति पिडा भएपनि रुनु हुन्न । तर आमा आज किन मलाई रुन मन लागिरहेको छ । त्यो पनि धित मरुन्जेल तर म अभागी छु आमा रुनलाई न तपाईको काख छ न त तपाईको साथ छ ।
आमा तपाईले घर छोडेर गएको पनि चौध वर्ष भयो । तर आजपनि तपाईलाई हामिहरुको मायाले एक दिन अवश्य नै फर्काउने छ भन्ने आशालाई मर्न दिएका छैनौं । धेरैवर्ष बितिसक्यो आमा तपाईले हामीलाई छोडेर गएको । खै त्यस्तो के कारण थियो होला र त्यतीबेला, त्यस्ता के परिस्थिति आए होलान् आमा ? तपाईलाई आफुले जन्म दिएका छोराछोरी समेत छोडनु पर्ने ?
आफ्ना सन्तानको मायाले एक नारीलाई जिबन भरी बाधेर राख्छ भन्ने कुरालाइ पनि तपाईले गलत साबित गरिदिनु भो । जब एउटा सानो दुधे बच्चा भोक लागेर आमाको दुधको लागि रुन्छ तेति बेला आमाको छातीमा दुधले पोल्छ भन्छन् के त्यो पनि गलत हो र ? होइन भने तपाईलाई किन पोलेन त जब तपाईले चार वर्षकि छोरीलाइ चट्कै छाड्नु भएको थियो ।
मलाई आजपनि त्यो कालो दिन याद छ भयंकर झरी लागेको थियो । सधै जस्तै त्यसदिन पनि हामी तपाई कामबाट फर्किने समय पर्खी राखेका थियौ । तर रात परि सक्दा पनि फर्किनु भएन र त तपाईले अब न फर्किने निर्णय लिइ सक्नु भएको रहेछ भन्ने बाबाले अड्कल लगाई सक्नु भएको थियो ।
त्यो दिनको झरीले गर्दा त मलाई कहिल्यै झरीले मन रुझाउन सकेको छैन आमा । त्यो दिन मैले पहिलो र अन्तिम पटक बाबालाई रोएको देखेको थिए । सानै भएपनि मैले त्यसदिन एक निर्णय गरे कि आजको दिनदेखि मैले कहिले पनि बाबाको आखामा आँसु देख्ने छैन । सायद हामीलाइ तपाईको अभाव नहोस भनेर हो कि त्यसपछि मैले बाबालाई मजबुत नै देखे ।
तर अवसोस बाबालाई भित्र-भित्रै चिन्ताले गाली सकेको रैछ । आमा यदि तपाईले त्यस बेला बाबाले वर्षौदेखि खुन पसिना एक गरी कमाएको धनपैसा नलगेको भए सायद आज बाबा हामी सङै हुनुहुन्थ्यो होला । सायद आज तपाई प्रती मलाई यति धेरै आक्रोश पनि हुने थिएन होला ।
आमा के साच्चै नै तपाईलाई हाम्रो माया लाग्दैन होला? कस्तो मन हो आमा तपाईको आफुले जन्माएका सन्तान कहाँ होलान् ? के गर्दै होलान् ? कस्ता भएका होलान् ? भन्नी कहिल्यै पनि जान्न खोज्नु भएन आमा ।तपाई त आफ्नो नयाँ जिबनमा खुशि हुनुहुन्छ होला आमा । तर हामी तपाईले छोडे देखि नै दुखको सागरमा पौडी रहेका छौ ।
तपाईले छाडेकै कारण बाबा उमेर भन्दा पहिला नै मुटुरोगको सिकार बन्नू भो र त हामीलाइ टुहुरा बनाई कहिल्यै नफर्किने गरि सदैको लागि सन्सार छोडनु भयो । बाबाको अकाल मृत्युको दोषी पनि कहिँ हदसम्म तपाईलाई नै मान्द्छु । तपाईकै कारण आज हामी सबैको बिचाराको पात्र बनेका छौ । तपाईकै कारण हामी राम्रो शिक्षाबाट बन्चित भयौ । तपाईकै कारण त्यो सुनौलो बाल्यकाल पनि हामिले अभाव र गरिबीमा बितायौ ।
यसमा हाम्रो के दोष थियो र आमा जो तपाईले हामीलाई आज सम्म पनि सजाय दिनु भएको छ । यस समयलाइ तपाईको एक निर्णय भनौं या भाग्यको खेल हामी न त बाबाको हात सिरमा छ, न त आफ्नी जन्म दिएकी आमाको ममता नै छ । तर आमा तपाईलाई थाहा होला नहोला तपाईंले छोडे पनि बाबाले आफू बाचुँनजेल तपाईको अभाव महसुस हुन दिनु भएन।
आफुले नखाएर नलगाएर पनि हामी भाइबहिनिहरु को हरेक आवश्यकताहरु पुरा गर्नु भो।सबैभन्दा राम्रो पक्ष त आमा तपाइले त्यो बिरानो मुलुकमा हामीलाइ छोडेर जानू भो तर बाबाले आफ्ना सबै दुख पीर भुलेर हामीलाइ आशु, दु:ख र त्यो वर्षायामसङै लडाइँ लड्दै हामिलाइ सकुशल आफ्नै देशमा उतार्नु भो सायद अरु कोहि हुन्थ्यो भने या त हामिलाई तेतिकै छोडि दिन्थ्यो होला या त उ मानसिक रोगी भई सक्थ्यो होला ।
त्यही भएर पनि मेरो नजरमा मेरो बाबा भगवान भन्दा पनि माथी हुनुहुन्छ र तपाई मेरो लागि एक घृणाको पात्र मात्रै हो । जन्म दिनु भो त्यसकारण पनि होला तपाईका ती धामिला यादहरुले साह्रै सताउछन् । अन्त्यमा आमा म यो कुरामा पुर्ण विश्वस्त छु कि तपाईलाई तेति बेला भएपनि कसैले ल्लाइफकाइ गर्न सक्ने थिएन ।
तपाई तेति कमजोर महिला पनि होइन जो सानोतिनो समस्याहरुले आत्तिने।तपाई र बाबा तेतिका वर्ष परदेशमा बसिरहदा तपाई पनि त्यो वातावरणमा ढल्न सक्ने भइ सक्नु भएको थियो र तपाई आजपनि जिबितै हुनुहुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु ।
हुन त आमा तपाई आफ्नो सुखद जिबनमा खुसी हुनुहुन्छ होला । सायद यतिका वर्ष हामी देखि टाढा रह्दा हामिहरुलाई पनि भुलिसक्नु भयो होला । तर हामी जन्मदाको प्रसव पीडालाई सम्झेर भएपनि एकपटक हामीलाई भेट्ने प्रयास गर्नु होला आमा ।
बाल्यकालमा नै छोड्नु भएको कारण आज मलाई नचिन्न पनि सक्नु होला आमा तर म यी शब्दहरु अन्त्यमा मेरो बाल्यकालको र तपाईको तस्वीर राखेको छु आमा । तस्बिर हेरेपछि सायद तपाईलाई केही याद आउन सक्छ आमा । आशा राख्छु आमा तपाई समक्ष मेरा यी सब्दहरु छिटो नै पुगोस ।
मैले हजुरको दशधारा दूध चुसेको र हजुरको काखमा लडिबुडि खेलेको हरपल याद गरिरहदा हजुरलाई त्यो पल कसो याद न आउला र ? आमा ममताकि खानी, पिडा सहने त्यो अमिट्य बानी हजुर निष्ठुरी कहाँ बन्नु होला र ।
आमा म सन्सार डुले मायावी सन्सारमा भुले हरेक अङ्ग प्रत्यङलाई ढाडस दिने कुटिल प्रयत्न गरे तरपनि अभाव छ । प्रभाव छ स्वभाव छ त्यही ममतामय भकारीको ।
आमा मलाई अन्तिम इच्छा केही छैन । बस हजुरको काखमा पल्टिएर धित मरुन्जेल रुन पाउ अनि हजुरलाई एकपटक छुन पाउ । हजुरलाई छोएर म धन्य बन चाहन्छु । मेरो आमा फर्की आउनुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend