साझा नेटवर्क
काठमाडौं, आषाढ १।
‘दर्पणछाया’ धेरैले मन पराएको फिल्ममा पर्छ । नाम लिँदै कतिपयको मानसपटलमा दृष्टिविहीन बनेका उत्तम प्रधानदेखि दिलीप रायमाझी र निरुता सिंहबीचको त्रिकोणात्मक प्रेमकथा नाच्न थाल्छ ।
सोही फिल्मका निर्देशक तुलसी घिमिरे यति बेला ‘दर्पणछाया २’ का लागि भिडिरहेका छन् । तुलसीले राजधानीमा सोमबार नयाँ फिल्मको घोषणा गरे । ‘दर्पणछाया’ का तीन मुख्य कलाकार भने दोहोरिनेछैनन् ।‘‘दर्पणछाया २’ सिक्वेल चाहिँ हैन,’ निर्देशक तुलसीले सुरुमै प्रस्ट्याउन चाहे, ‘यसको छुट्टै स्टोरी छ । पहिलेकोसँग त्यसको कुनै सम्बन्ध हुने छैन र पहिलेका कलाकार सबै यसमा दोहोरिँदैनन् ।’
आफ्नै पटकथामा निर्देशन गर्न लागेका तुलसीले यसपटक पनि त्रिकोणात्मक प्रेमकथालाई नै दर्शक रिझाउने औजार बनाएका छन् तर केही भिन्न ‘दर्पणछाया’ मा दुई नायक र एक नायिका थिए भने यसपटक दुई नायिकासँग एक नायकको रोमान्स चल्नेछ । पुष्पल खड्काको अफेयर्स सहारा कार्की र श्रद्धा प्रसाईंबीच चल्नेछ । तीनै कलाकारलाई निर्देशक तुलसीले मुख्य भूमिकामा चिनाउन लागेका हुन् ।
तीन मुख्य कलाकारसहित फिल्ममा सरोज खनाल, बीएस राणा, शेरबहादुर सुमन घिमिरे, जीवन आचार्य, असीम शेर्पा, फिरोज तिमल्सिना लगायतको पनि अभिनय रहनेछ ।‘दर्पणछाया २’ घोषणा कार्यक्रममा उनले ‘दर्पणछाया’ जोडीलाई बिर्सन सकेनन् । ‘खासमा यो फिल्ममा पनि निरुता, दिलीप र उत्तमलाई गेस्ट अपिअरेन्समा खेलाउन मन थियो, तर उहाँहरूको समय नमिलेका कारण त्यो सम्भव भएन ।
’तुलसीले दिलीप अमेरिका, उत्तम गान्तोक र निरुता बम्बईमै व्यस्त भएकाले आफ्नो चाहना पूरा हुन नसकेको बताउँदै थपे, ‘नत्र एकपटक निरुता, दिलीप र उत्तमलाई बोलाएर फेरि इमोसनल सिन खिच्नु मन थियो ।’ कुनै बेलाका सफल निर्देशक तुलसीले पछिल्ला समय बक्सअफिसमा असफलता बेहोरिरहेका बेला आफ्नै हिट फिल्मको नाम लिएर लभ स्टोरी फिल्म बनाउन लागेका हुन् ।
यसै सातादेखि छायांकनमा जाने ‘दर्पणछाया २’ लाई सबु गदाल कार्की र रवि कार्कीले निर्माण गर्न लागेका हुन् । शिव ढकाल र रामेश्वर कार्कीको छायांकन रहने फिल्मलाई काठमाडौं र अमेरिकामा खिचिनेछ । फिल्ममा रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत रहनेछ भने छेन्डुप लामाले यसमा कोरियोग्राफी गराउनेछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend