साझा नेटवर्क
जमुना आरुषी
ऊ त्यो पर्खाल हेर त
फेरि घेरिएको रैछ
हतगडी लगाएर
बेरिएको रहेछ
काँडेतार लगाएर
त्यहाँ बन्द बन्द छ
बन्दित आवजमा
बन्द कोठा भित्र
बौलाही फूल
हुर्काइएको छ
एउटा रंगीन गमलामा
रंगीन चाहहरू राखेर
ऊ कपाल लुछ्दै
छाती पिट्दै
पत्थरको मुटू लिएर
पत्थरकै मानव बनी
पत्थरको ईश्वरलाई
पुकारी रहीछे पटक पटक
केवल आफै बौलाही बनेर
सुन्दर रंगाइएको गमलामा
बलजफ्ति ढकमक्क फुल्छे
सिंगारिएको आफ्नै अनुहारमा
धपक्कै बलेर मृत्यसँग
साउती गर्छे
पटक पटक ऊ वली चढ्छे
पागल प्रेमीहरूको बधशालामा
कहिले सुन्दर गुलाव बनेर
कहिले चित्ता माथि सुताइएको
मृत त्यही शवमा चढ्छे
सान्त्वनाको धागोमा उनिएर
त कहिले
कोपिलामै निमोठिन्छे
हुरी बतास सुनामी आएर
र त उसलाई रोपिएको हो
आजकल
फूलबारीबाट बलजफ्ति
उप्काए रंगीन गमलामा
रंगीन चाहनाहरू राखेर
हुर्काइएकी छे
गमलामा रोपिए पछि
गमलामै ढकमक्क फुलेर
अनि गमलाबाटै पत्तै नपाइ चुडिएर
हो त्यही फूल
जून तिमीलाई उसले
दिएकी थी पहिलो भेटमा
साच्ची त्यही फूल आजकल
बौलाही बनेकी छे
तिम्रो हृदयको गमला फूलेपछि

जमुना आरुषी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend