साझा नेटवर्क
बिद्यालय जान छोड्ने किशोरीको सँख्या बढ्दै
गँगा खड्का गुल्मी ,कार्तिक ८ ।
बालिका दिवस को अवसरमा महिला तथा बालबालिका कार्यालय गुल्मी र सेवा सञ्चार गुल्मीको सहकार्यमा गुल्मीको नेटा गा बि स का किशोरीमाझ बालिका दिवस मनाइयो । धेरै कार्यक्रम र दिवसहरु सदरमुकामकेन्द्रित भैरहेका बेला बालिका दिवस ग्रामिण ठाउँका बालिकाहरुको अवस्था समस्या र समाधानका लागी गाउँसम्म पुगेर कार्यक्रम गरिएको हो ।
बिशेषगरी बिद्यालय जान छोडेका किशोरीहरु लाइ लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा उनिहरुको समस्या र कारणहरु बारे छलफल गरिएको थियो । कार्यक्रममा सहभागी किशोरीहरुले आफुहरुले पढ्ने बिद्यालयमा अँग्रेजी माध्यमबाट पढाईहुन थालेपछि पढ्न नसकेको र नेपालीमा बोले २ रुपैयाँ जरिवाना तिर्नुपर्ने भएकोले बिद्यालय छोड्न बाध्य भएको बताए ।
अधिकाँश दलित परिवारका किशोरीहरु मोवाईल र फेसबुकका कारण बिद्यालय जान छोडेको उनका अभिभावकहरुले बताएका छन् । आफ्ना छोरीहरुलाई पढाउने तिव्र ईच्छा भएको भएपनि बिद्यालय छोडेकाले आफुहरु दुखित भएको अभिभावकहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा सहभागी एक किशोरी बताउँछिन् मेरो धेरै पढ्ने रहर थियो तर स्कुलमा अँग्रेजी माध्यमको पढाई सँगै हामीले सरकारी स्कुलमा मासिक शुल्क पनि बुझाउनु पर्छ ।त्यो पैसा भएन बिद्यालय छोड्नु पर्यो।
किशोरी कार्यक्रम शुरु भएको यस गा बि स मा बिद्यालय जान छोडेका किशोरीहरुलाई सँगठित गरी मासिक बचत गर्ने बानीको बिकाश सँगै अन्यक्रियाकलापमा सक्रिय बनाउने कोशिस त गरिएको छ तर यो प्रयासले मात्रै पुग्ने देखिदैन ।
बिद्यालय छोड्ने किशोरीको सँख्या बढ्दै गएपनि बिद्यालयले किशोरीको मनोवल बढाएर बिद्यालय सम्म ल्याईपुर्याउन कुनै पहल गरेको पाईएको छैन । कार्यक्रममा नेटा गा बि स का सामाजिक परिचालिका दुर्गा घिमिरेले आफुले किशोरी कार्यक्रम मार्फत सक्रिय बनाएको र सिपमुलक तालिमको ब्यवस्था भए किशोरीलाई फाईदा हुने बताइन् ।
अधिकाँश किशोरीहरुले आफुहरुलाई सिपमुलक तालिमको ब्यवस्था गरिदिन अनुरोध गरेका छन ।१० वर्ष देखी १७ बर्ष सम्मका किशोरी सहभागी भएको कार्यक्रममा अन्य महिलाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend