logo
  • शनिबार, साउन ३० २०८३

मान्छेको किन्ने क्षमता बढ्यो तर काम गर्ने क्षमता घट्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

Dinesh_Kumar_Ghimire
दिनेश कु. घिमिरे प्रबन्धक साना किसान कृषि सहकारी संस्था लि. पर्रोहा

साना किसान कृषि सहकारी संस्था लि. पर्रोहाका प्रबन्धक दिनेश कुमार घिमिरे किसानहरुसंग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिमा पर्दछन् । करिव २ हजार ८ सय शेयर सदस्य रहेको साना किसानमा आधा भन्दा बढी कृषकहरु नै रहेका छन् । पछिल्लो समयमा भारतको अघोषित नाकाबन्दीले नेपालमा आत्मनिर्भरको बहस चलिरहँदा कृषि क्षेत्रका चुनौति र सम्भावनाको बारेमा सानाकिसानडटकमकर्मी जी.एस. खरेलले प्रबन्धक घिमिरेसंग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंंले यो सहकारी संस्थामा काम गर्न थालेको कति वर्ष भयो ?
करिव १२ वर्ष भन्दा बढी नै भयो ।

अर्थात किसानसंग प्रत्यक्ष सम्पर्कमा रहेको १२ वर्ष भन्दा बढी भयो , हैन त ?
हो, हाम्रो संस्था साना किसान कृषि सहकारी संस्था लि. पर्रोहामा शुरुदेखी अहिले सम्म किसानहरुको संख्या नै बढी छ । यसर्थ मैले काम शुरु गर्दादेखि अहिलेसम्म म किसानहरुसंग प्रत्यक्ष सम्पर्कमा रहिरहेको छु भन्न सकिन्छ ।

त्यसो भए किसानहरुको समस्याहरुको बारेमा पनि तपाईंलाई राम्ररी नै थाहा छ ?
मलाई लाग्छ किसानको समस्यासंग अहिले कोही पनि अनभिज्ञ छैन । नेपाल कुनै समय कृषि प्रधान मुलुक भनेर चिनिएको मुलुक हो । यहाँका अधिकांश व्यक्तिहरु कि त कृषि क्षेत्रमा लागेका छन्, कि उसका आफन्तहरुले खेति किसानी गर्दछन्, नभए पनि कृषि क्षेत्रको र किसानको बारेमा जानकारी चाहिँ राख्दछन् ।

अहिले भारतको अघोषित नाकाबन्दी पछि आत्मनिर्भरताको बहस निकै चर्चामा छ । तपाईंलाई के लाग्छ , नेपाल कृषिमा आत्मनिर्भर हुन सक्ला ?
हुन सक्छ, तर यसमा दुई पक्ष, सरकार र जनता दुबैले गम्भीरतापूर्वक आ–आफ्नो दायित्वबोध गर्नुपर्दछ । सरकार , जसले किसानहरुको समस्या बुझ्नुपर्यो अनि समाधानका लागि कदम चाल्नु पर्यो । जस्तै : एउटा किसानले धान खेति गर्न खोज्यो भने खेत जोताई, सिंचाई देखि मलखाद हुँदै धानकटाई सम्म समस्या नै समस्या भोग्नुपर्दछ । खेत जोत्ने बेलामा डिजल नपाए ट्रयाक्टर नै चल्दैन अनि जोताई हुँदैन । यदि जोताई भयो भने सिंचाईको समस्या । यदि समयमै पानी परेर धान रोपि हालेपनि मलखाद ब्ल्याकमा किन्नुपर्दछ । कृषि प्रयोजनका साधनहरु किसानले सहुलियत दरमा किन्न पाउनुपर्यो । सिंचाईका लागि अनुदान दिनुपर्यो । यो सरकारको कुरा भयो । अब जनताले पनि आफ्नो दायित्व बोध गर्नुपर्यो । यहाँ कतिका खेत छन् तर रोप्दैनन् । कतिले घडेरी बनाएर बाँझै छाडेका छन् । सुन्दा तपाईंलाई अचम्म लाग्ला, आजकल खेत अधियाँ गर्ने सम्म किसान पाईन छाडे । सबैलाई बिलासिताले छोएको छ । यहि सैनामैनामा हेर्नुभयो भने ७५ प्रतिशत जनसंख्या खेति गरेर खानभन्दा किनेर खानमा अगाडी छ ।

तपाईंको भनाईमा जनता पनि जागरुक हुनुपर्यो ?
हुने नै जनता हो । १२ वर्षमा मैले थुप्रै यस्ता व्यक्तिहरु देखें जो हिजो खेतिपाति गर्नुहुन्थ्यो तर आज किनेर खानुहुन्छ । उहाँहरुसंग जग्गा नभएर होईन, सहरिया बन्ने होडले त्यस्तो भएको हो ।

त्यसो भए देश कृषिमा आत्मनिर्भर हुन नसक्नुमा सरकार भन्दा जनता दोषि छन् ?
मैले अघि नै भनिसकैं नी , दुवै पक्षले आ–आफ्नो दायित्वबोध गर्ने हो । सरकारले कृषि काम गर्न सहज वातावरण बनाईदिने हो, अनि जनताले काम गर्ने हो । मसंग टन्न पैसा छ, नुन तेल तरकारी जे चाहिए पनि किन्न सक्छु । मैले किन खेति गर्नुपर्यो? भन्ने सोंचले गर्दा नै देश परनिर्भर बन्दै गएको हो । पहाडमा खेत र बारी हुँदाहुँदै पनि तराईमा कोठा भाडामा लिएर श्रीमान्ले विदेशबाट पठाएको पैसाले आफ्नो दिनचर्या चलाएको हामीले धेरै महिला दिदीवहिनीलाई देख्न सक्छौं । एकातिर पहाडको उत्पादन घट्यो, अर्कोतर्फ यतातिरको खपत बढ्यो । अनि विदेशबाट आयात नगरेर के गर्ने ?

अर्थात विदेशबाट भित्रिएको रेमिट्यान्सले पनि हामीलाई परनिर्भर बनाएको हो त ?
रेमिट्यान्सले देश धान्यो त भनियो, तर त्यही रेमिट्यान्सले कैयौंलाई परनिर्भर पनि बनायो जुन हामीले महसुस नै गरेका छैनौं । थुप्रै मान्छेको क्रय क्षमता त बढ्यो तर काम गर्ने क्षमता भने खस्कदैं गयो ।

तपाईंको संस्था पनि त कृषि सहकारी संस्था हो नी, तपाईंको संस्थाले किसानको लागि केही गरेको छ ?
किसानको शत प्रतिशत सहयोग त हामीले पनि गर्न सकेका छैनौं तर अरु सहकारीले भन्दा पक्कै पनि हामीले किसानका लागि बढी नै गरेका छौं जस्तो मलाई लाग्छ । किसानलाई विना धितो लघुकर्जा दिएर होस् वा व्यवसायिक रुपले भैंसीपालन, गाईपालन, बाख्रापालन, बंगुरपालन गर्ने किसानलाई सस्तो ब्याजदर (९प्रतिशत) मा ऋण उपलब्ध गराएर होस् , हामीले सहयोग गरिराखेका छौं ।

ऋण बाहेक अरु कुनै सहयोग गर्नु भएको छ ?
अवश्य पनि गरेका छौं । ठाउँ हेरेर नि:शुल्क रुपमा ब्याठे बोका प्रदान गरेका छौ जसबाट बाख्रापालन गर्ने किसानहरु लाभान्वित हुनुभएको छ । त्यसैगरी स्प्रेटंकीहरु वितरण गरेका छौं । त्यति मात्र नभएर हरेक वर्ष साधारणसभामा मिहिनेती किसानहरुलाई हामीले सम्मान पनि गर्दै आइरहेका छौं, त्यो पनि एक प्रकारको सहयोग नै हो । सम्मान कार्यक्रमले किसानहरुलाई आफ्नो आत्मविश्वास बढाउन मद्दत मिल्छ ।

तालिमहरु दिनुभएको छैन ?
थुप्रै दिएका छौं । तर तालिमहरु चाँही किसानहरुलाई मात्र नभएर गैर किसानका लागि पनि दिएका छौं । व्यवसायिक रुपले पशुपालन तालिम, पशु स्वास्थ्य तालिम, च्याउखेति तालिम, अचार बनाउने तालिम, सिलाई कटाई तालिम, ब्यूटीपार्लर तालिम जस्ता आत्मनिर्भर बनाउने खालका तालिमहरु हामीले हाम्रा सदस्यहरुलाई प्रदान गरिरहेका छौं । त्यतिमात्र नभई ११ महिने व्यवसायिक कृषि खेति तालिम लिनका लागि साना किसान विकास बैंकको सहयोगमा गत वर्ष १ जना र यस वर्ष ३ जनालाई ईजरायल पनि पठाएका छौं ।

अन्त्यमा प्रसंग फेरी आत्मनिर्भरताकै , देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्ला ?
देशलाई आत्मनिर्भर बनाउन कृषिमा जोड दिनुपर्छ । देशमा कृषि क्रान्तिको खाँचो छ । सरकारले कृषि खेति गर्न आवश्यक साधनहरु ट्रेक्टर, थ्रेसर लगायत अन्य मेसिनरी समानहरुमा भन्सार छुट दिनुपर्यो । प्राङ्गारिक खेति गर्न तालिमहरु प्रदान गर्नुपर्यो । सिंचाईका लागि अनुदान दिनुपर्यो । बेमौसमी तरकारी खेति गर्न ब्यापक रुपमा तालिम प्रदान गर्नुपर्यो । साना साना लघुकर्जा लिने किसानहरुलाई पनि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्यो । सहज रुपमा खेतिको बिमा हुने ब्यबस्था मिलाउनुपर्यो । त्यसै गरी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्यो । १ रुपैयाँ महँङ्गो भएपनि स्थानीय उत्पादन नै खरिद गर्ने बानी बसाल्नुपर्यो । स्थानीय उत्पादन प्रयोग नगर्ने अनि आत्मनिर्भरताको गफ छाँटेर मात्र कसरी बनिन्छ आत्मनिर्भर ?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend