साझा नेटवर्क
रंजित चौरसिया, वीरगंज साउन १३ ।
भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशमा कारवाही स्वरुप काजमा तानिएका सहायक शाखा अधिकृत (छैठौ तहका) रामसुन्दर महतो कुशवाहाले तत्कालिन अवस्थामा वीरगंज यातायातमा रहेर गरेका सनाखत नामसारीका थप कालाकर्तुतहरु बाहिर आउने क्रम जारी रहेको छ ।
अधिकृत कुशवाहाले यातायात कार्यालय वीरगंजमा रहंदा हजारौं सनाखत नामसारी गरेको भए पनि प्रमाणको रुपमा यस अनलाईन सँग दर्जनौ सुरक्षित छ । नारायणघाट, चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसनका साहुहरुले बिचौलिया मार्फत प्रति ब्लुबुक कम्तिमा दुई हजार र बढीमा पाँच हजार दिएर अधिकृत कुशवाहा सँग सनाखत नामसारी गराउने गरेको पाईएको छ । सनाखत नामसारीबाट करोडौं कमाउन सफल व्यक्तिको रुपमा चिनिएका अधिकृत कुशवाहाले ब्लुबुकमा मात्र सही गर्ने गरेको र प्रायःको ढाडामा नचढाईएको एक बिचौलियाले बताए ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।
तर भ्रष्टाचार विज्ञको रुपमा चर्चामा रहेका अधिकृत कुशवाहाले विक्रीकर्ता, खरिदकर्ता र सवारी अनुपस्थित रहेको अवस्थामा ना ५८ प ६४३९ नम्बरको मोटरसाईकललाई २०८२/३/३२ गतेका दिन सनाखत नामसारी गरेको पाईएको छ । गोर्खा जिल्ला पालुङटार–२ निवासी सतिस आचार्यको नाममा दर्ता रहेको ना ५८ प ६४३९ नम्बरको मोटरसाईकल नवलपरासी जिल्ला गैडाकोट–१० निवासी आयुष पाण्डेको नाममा सनाखत नामसारी भए पनि हालसम्म ढाडामा उल्लेख नरहेको स्रोतले जनाएको छ ।
ना ५८ प ६४३९ नम्बरको मोटरसाईकल मिति २०८२/३/३२ गते सनाखत नामसारी हुँदा त्यसको करिब ३ महिना अगावै विक्रीकर्ता सतिस आचार्य र खरिदकर्ता आयुष पाण्डे विदेश गएको र हालसम्म विदेशमा नै रहेका ती स्रोतको कथन रहेको छ ।
वर्षौ देखि वीरगंज यातायात कार्यालयमा रहेर अकुत सम्पत्ति कमाएका भ्रष्टाचार विज्ञ रामसुन्दर महतो कुशवाहा माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सनाखत नामसारी, राजस्व छली लगायत सम्पत्ति शुद्धिकरणमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाएको भए पनि तीब्र गतिले कारवाही प्रक्रिया अघि नबढदां सचेत नागरिकहरु आश्चर्य चकित भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend