logo
  • शुक्रबार, साउन ८ २०८३

बाआमाको आशीर्वाद 


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

दुई ढाई दशक अघिसम्म चिट्ठीपत्र नै टाढाटाढा भएकाहरुबीच संवादको आधार थियो । हुलाक त्यसको ओसारपसारको माध्यम थियो ।टेलिफोनहरू केबल सहरीया धनी मान्छेहरूको घरहरूमा मात्र सिमित थियो । अझ भनौं थोरै मान्छेको पहुँचमा थियो टेलिफोन । घरदेखि टाढा बस्नेसँग सम्पर्क हुने , सन्चोबिसन्चो , मनको बह पोख्ने, दुखेसो पोख्ने माध्यम तिनै महिनौँपछि प्राप्त हुने चिट्ठी नै हुन्थे । पछिल्लो दुई तीन दशकमा विश्वमा भएको विज्ञान, सूचना र प्रविधिको चामत्कारिक विकासले गर्दा त्यसका बाछिटाहरू हाम्रो देशमा समेत परेको कारण अहिले घरघरमा इन्टरनेट र हातहातमा मोबाइल भइदिनाले सम्पर्क, सञ्चार र संवादमा सहज भएको हो । सात समुन्द्र पारी बस्ने मान्छेसँग पलभरमै आमनेसामने भएर ( Face to Face ) कुरा गर्न सकिन्छ ।

तर अर्कोतिर आज हामी एउटा निर्जीव बस्तु ( Mobile & Applications ) प्रतिको मोह र एल्गोरिदमको लतमा यसरी फस्यौँ कि संवादविहीनता र संवेदनहीन बन्दै गइरहेका छौँ । सम्बन्धहरू आर्टिफिसिएल बन्दै गएका छन् । हामीहरूको पहिलो रोजाइ मोबाइल र इन्टरनेट त्यसपछि मात्र परिवार, साथीभाइ र समाज हुने गर्दछ । मान्छे बढी भौतिकवादी ( Materialistic) र उपभोक्तावादी बन्दै गइरहेको छ । सम्बन्धहरू बढी स्वार्थमा आधारित र पैसामा बन्धकी बन्न पुगेका छन्। 

यस पंक्तिकारको प्रायः जसो हप्तामा एकदुई पटक बाआमासँग कुराकानी हुन्छ फोनमा । श्रीमती छोराछोरीसँग दैनिक भिडियो एवं अडियो कुराकानी हुन्छ । एक दिन कुराकानी भएन भने स्पष्टीकरण दिनुपर्छ छोराछोरीलाई समेत । अहिले यिनै छन् प्राथमिकतामा बाआमा भन्दा । प्राय: सबैको यस्तै हुन्छ होला।

बाआमालाई फोन गर्ने भनेको अनुकुल हुँदा, समय मिल्दा वा हप्तामा दुई तीन दिनमात्र हो । तर पनि फोन गरेन भन्ने गुनासो कहिले गर्नुहुन्न । फोन गर्दा- दर्शन बुवा भन्दा आशीर्वाद छोरा ! भाग्यमानी भए, सुखी रहे भन्नुहुन्छ।दर्शन आमा ! भन्दा आमा भन्नुहुन्छ – आशीर्वाद, सुखी रहे , मनले चिताएको पुगोस् यस्तैयस्तै । म मनमनै भन्छु , भाग्यमानी भएर नै जीवनमा सफलताका धेरै सिंडीहरु पार गर्दै यसरी यहाँसम्म आइपुगियो बुबाआमा । अब त अधिकतम समय तपाईंहरुसँग बिताउन पाए, सँगै बस्ने सौभाग्य प्राप्त भए , बरु त्यो आशीर्वाद पनि लागे हुन्थ्यो जस्तो लाग्छ ।

गर्भदेखिको संरक्षण र सुरक्षा , पालनपोषण, शिक्षादीक्षा, सफलता , आजको दिनसम्म चलिरहेका र चालेका प्रत्येक पाइलाहरूमा बाआमाको सर्तबिना ( Unconditional) हात, साथ, माया, स्नेह र प्रेरणाको अतुलनीय भूमिका रहेको छ । बरु त्यो ऋणको भारी थोरै भए पनि बिसाउने अवसर पाए कति भाग्यमानी भइन्थ्यो ? छोराछोरीको अनुपस्थिति र मायाको अभावमा जति नै छटपटी भए पनि बाआमाले छोराछोरी थप खुसी र सुखी भएको देख्ने अपेक्षा हुँदोरहेछ । फोनको कुराकानीमा खाना खाएको नखाएको सोध्ने, समयमा खान र सुत्न आग्रह समेत गर्नुहुन्छ । गर्मी मौसममा चिसो चीज खान र जाडो मौसममा तातोतातो खान भन्नुहुन्छ । गाडी चलाउँदा विस्तारै चलाउन र पैदल हिड्दा दायाँबायाँ हेरेर हिडन सुझाव दिनुहुन्छ । कति चिन्ता गर्नुहुन्छ छोराछोरीको ।

बाआमाका आफ्ना बाल्यकाल कति कष्टकर भए होलान् कल्पना नै गर्न सकिदैन । भोक,रोग, अभाव, बिद्युत, खानेपानी, सडक, यातायात, सञ्चार, स्वास्थ्यसेवा आदि नपुगेको कष्टकर समयमा जीविकोपार्जनको लागि कठिनाई आदिका बावजुत आधा पेट खाएर र आधा रात सुतेर हामीहरुलाई हुर्काउनु बढाउनु भयो ।

त्यो अविस्मरणीय कष्ट

२०६० सालमा माओवादी जनयुद्धको अन्तिम उत्कर्ष र राजतन्त्रको बर्बरताको समय थियो । म आफ्नो आइटीसम्बन्धी पढाई सकाएर जागिर सुरु भएको ५-६ महिनामा छोटो बिदा लिएर ढाई वर्ष पछि भारतदेखि फर्कनेक्रममा सुनौली (बेलहिया नाका)मा पुगेकै दिन माओवादीले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । नेपालीसेनाले सिमानाबाट आवतजावत गर्नेहरुलाई कडाइ गरेको थियो । जनतन सुरक्षाको घेरा सेनाले (स्केटिङ) गर्दै बुटवलसम्म सकुशल पुग्न सफल भएँ । म भारतबाट फर्किदै गरेको कुरा घरमा थाहा थिएन । भारतबाटै फर्किदैं गरेका एकजना गाउँलेले म घरआउँदै गर्दा बुटवलमा रोकिएको खबर घरमा सुनाएका रहेछ्न ।

गाउँमा भर्खरभर्खर सिडिएमए (Landline)फोन पुगेको थियो।त्यसैमा फोन गरेर बोलाउन लगाएर कुरा गर्न सकिन्थ्यो ।बुटवल आएको १० दिनपछि घरमा कुराकानी भयो । म अब घर नआइ त्यहींबाटै भारत फर्किने जानकारी आमाबुवालाई गराएँ । आमाबुवालाई मेरो चिन्ताले सताएको रहेछ । किनकि त्यो सशस्त्र द्वन्द र बन्दको बेला बम, बन्दुक र एम्बुसमा पर्न सकिने जोखिम अत्यन्तै धेरै थियो । त्यसका बाबजुद जसरी भएपनि छोरालाई भेटेर आउने निर्णय गरेर मलाइ थाहै नदिई मेरो घर गुल्मीदेखि  १३१ किमि टाढाको बाटो पैदल हिडेर बुटवल आउनु भएको थियो । त्यतीलामो बाटो हिडेर बुटवल आउनु सामान्य सकस थिएन नै ।

बुटवल गोलपार्क पुगेर मलाइ फोन गर्नु भयो र म लिन पुगेको थिएँ । आमाको खुट्टा दुखेर हिड्न नसकेपछि धुरुक्कै रुनु भयो । हामी रिक्सा गरेर डेरामा गयौं । बन्द अनिश्चितकाल हुने सुनेपछि दुई दिन बसेपछि सल्लाह भयो कि भोलि बिहान बाआमा पैदल नै घर फर्किने अनि म त्यतैबाट भारत फर्किने कुरा भयो । तर मेरो मनले मानेन । बाआमा मेरोलागि त्यती लामोबाटो हिडेर आउनु भयो भने म पनि बाआमासँगै फर्किनु पर्छ भनेर बिहान ५ बजे उठेर हिड्न थाल्यौं । भाग्यवस त्यही राती माओवादीहरुले बन्द फिर्ता लिएका रहेछ्न । ट्राफिकचोक पुग्दा तम्घास तम्घास भन्दै बस आयो । अनि हामी त्यही बसमा चढेर घर आएका थियौं । सकुशल घर पुगेपछि घरपरिवारमा खुसी छायो । यसरी आफ्नो सन्तानको पीर र चिन्ताले सताएपछि बाआमाले जुनसुकै जोखिम भए पनि त्याग गर्दा रहेछ्न भन्ने कुरा प्रष्ट भयो । हरेक छोराछोरीका बावुआमाले आफ्नो सन्तानको सधै भलो होस् , सधैं खुसी रहुन । कहिल्यै छोराछोरीलाई दु:ख भोग्न नपरोस् भन्ने नै सोच्नु हुन्छ ।

यसरी जीवनभरी विभिन्न अभाव, दु:खकष्ट, पीडा सहेर हुर्काएका छोराछोरीले आझभोलि बाआमालाई छुट्टै भिन्न राखेर, एक्लै गाउँघरमा छोडेर सहरमा बिलासी जीवन बिताएर बसेको देखिन्छ । कसैको बाध्यता भएर , कसैलाई सहर बसाईको रोजाइ भएर, कसैले छोराछोरी पढाउने बहानामा र  कसैले आफ्नो विगत बिर्सेर बाआमालाई एक्लो बनाएर दु:ख दिएका उदाहरण प्रसस्तै भेटिन्छ्न । अझ कसैले त वृद्ध आश्रममा राखेको समेत देखिन्छ ।

भारतीय सिनेमा जगतका सुपरस्टार अभिनेता अक्षय कुमारले प्रायः भन्ने गर्छन् – बिहान घरबाट निस्किदा बाआमाको आशीर्वाद लिएर हिड्ने, सधैं बाआमाको ख्याल राख्ने हो भने कहिल्यै असफल भइँदैन । सफलता घुमिघुमी आउँछ ।आइ लाग्ने अफ्ठ्यारा पार लाग्छ्न् । तसर्थ जीवनमा सफलता हासिल गर्न, खुशी र सुखी जीवनयापन गर्न बाआमाको आशीर्वादको महत्त्व छ । तब मात्र आफ्नो सफलता सार्थक बन्छ । नत्र उहाँहरुको आशुको श्राप कुनै पनि समयमा लाग्न सक्छ । एकबारको जुनीमा बाआमाको सम्मान गर्नु, रेखदेख गर्नु, सकेसम्म धेरै भन्दा धेरै समय दिनु हाम्रो कर्तव्य र जिम्मेवारी दुबै हो । Parents blessing matters.

हिमशिखर रसाइली, गुल्मी पिपलधारा 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend