logo
  • शुक्रबार, असोज ९ २०८३

बारा यातायातको गोप्य भ्रष्टाचारहरू बाहिर छताछुल्ल, प्रमुख दास दुखित, अख्तियारद्वारा अनुसन्धानमा ढिलाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया,वीरगंज २० जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका भ्रष्टाचार सन्दर्भमा आइतबार यस अनलाइनमा समाचार प्रकाशन भए पछि कार्यालय प्रमुख अविन्दर दास अत्तालिएका छन् । कार्यालयको भित्री कुरा बाहिर छताछुल्ल भएपछि उनले आफ्ना कर्मचारीहरू माथि शङ्का उपशङ्का गर्दै टाउकोमा हात राखी दुःखित बनेका छन् ।

विवादास्पद कर्मचारीको रुपमा चिनिएका अविन्दर दास वीरगंज यातायात कार्यालयमा नायब सुब्बा हुँदा निलम्बनमा समेत परिसकेका हाकिम हुन् । उनी तत्कालीन समयमा वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपाली बनाएको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गतेका दिन विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेपछि यातायात व्यवस्था कार्यालय वीरगंजबाट निलम्बनमा परेका थिए । पछि दासले शक्ति केन्द्र धाउदा निलम्बन फुकुवा भए पछि रौतहट यातायात कार्यालयको प्रमुख भई रौतहटमा पनि विवादास्पद काम गर्दै कार्यालयलाई बदनाम गरिरहँदा मधेश प्रदेश मन्त्रालयले काजमा तानेको थियो ।

मन्त्रालयबाट २०८१ माघ ९ गते बारामा आएका अविन्दर दासले करिब चार महिनाको अवधिमा आफ्ना बिचौलियाहरू मार्फत लाइसेन्स बिक्री गर्दै करोडौँ असुलेको आरोप छ । सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगर, धर्मशाला टोल निवासी दासले रामनगर गाउँपालिका वडा नं. ३ सर्लाही निवासी नातामा उनको बहिनीज्वाँई पर्ने सिकिन्द्र दासलाई हर्ताकर्ताको रुपमा राख्ने गरेको स्रोतले जनाएको छ । बिचौलियाहरूसँग हिसाब किताब गर्ने मुख्य हर्ताकर्ताको रुपमा प्रमुख दासका विश्वासपात्र रुपमा चिनिएका सिकिन्द्र दासको बसाइ कलैयामा नै रहेको स्रोतको कथन रहेको छ । प्रमुख दासले परिचालन गरेका बिचौलियाहरू मध्ये भिखारी दास नातामा उनका भाइ हुन् ।

विवादास्पद कार्यशैलीका कारण बदनामी कमाएका प्रमुख दासले वीरगंज र गौरका कार्यालयमा काम गर्दा उनले भ्रष्टाचारको आरोप खेपेका थिए । यातायात बारामा लिखित दिने सेटिङ् भएका परीक्षार्थीहरूलाई ५-६ वटामा सङ्केत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरूले नै सङ्केत चिन्ह लगाई पास गराउने गरेको स्रोतले जनाएको छ । लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ् भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको ती स्रोतको भनाई रहेको छ ।

प्रमुख दास रौतहटमा हुँदा त्यहाँ पनि केही निजी मोटरसाईकल किनेका र त्यसको व्यवस्थापन तथा मुख्य असुलीको जिम्मा सिकिन्द्र दासलाई नै दिएको ती स्रोतले जनाएको छ । रौतहटको ट्रायलमा खटिने ट्राफिक प्रहरी नायब निरीक्षक किरण कार्की हाल बाराको ट्रायलमा खटिरहेका छन् । बारा यातायतको तत्कालीन अवस्थामा लिखित प्रमुख मुकेश कुशवाहा र ट्रायल प्रमुख जिवन भन्ने जिवरमण पौडेल रहेका थिए भने हालको अवस्थामा लिखित प्रमुख जिवरमण पौडेल र ट्रायल प्रमुख मेकानिकल सुपरभाईजर संतोष सिंह रहेका छन् ।

परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाईजर संतोष सिंह र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहित तीन जना रहेका छन् । सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् ।

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै ईमान्दारीपूर्वक लिने गरेको बताईन्छ । मासिक रुपमा करोडौँ भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ ।

प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक राजकुमार सिलवाललाई जाने गरेको स्रोतले जनाएको छ । विविधमा छुटयाईएको २५ प्रतिशत रकमबाट जिल्ला प्रशासन कार्यालय बारा, श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका सचिव युवराज अधिकारी, मन्त्री कौशल किशोर राय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

प्रमुख दासले बारामा आएको करिब चार महिनाको प्रयोगात्मक परीक्षाको सिसिटिभी फुटेज नियन्त्रणमा लिई “भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रवद्र्धनमा सबैको जिम्मेवारी” नारा लिएर अगाडि बढेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म तरिकाले अनुसन्धान गरी कारवाही प्रक्रिया अघि नबढाउंदा सुशासनको पक्षमा लडने सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend