साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज १४, बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत छैठौं तहका अधिकृत चन्द्रशेखर साहले ठूलो सवारी शाखाको फाँट प्रमुख भई आफ्ना शाखाका कर्मचारीहरूलाई केही गर्न नदिई सबै काम एकलौटी रुपमा गरिराखेको आरोप लाग्न थालेको छ । ठूलो सवारी शाखामा मोटो रकम आउने भएको हुनाले फाँट प्रमुखको हैसियतले “एनीहाउ पैसा कमाउ” अभियानमा लाग्दा फाँटकै कर्मचारीहरूबाट विद्रोह हुन थालेको समाचार स्रोतले जनाएको छ ।
भ्रष्टाचार सन्दर्भमा राम्रो अनुभव बटुल्न सफल भएका अधिकृत चन्द्रशेखरले फाँट र कार्यालयमा मन्त्री कौशल किशोर राय मेरा गुरु हुन र म उनका चेलो भएको कारण कसैले फुर्ती लगाए सरुवा गराई दिने धम्की दिने गरेको स्रोतले बताए । माननीय श्रम तथा यातायात मन्त्री राजनीतिक गर्नु भन्दा अगाडि शिक्षण पेशामा रहेको हुनाले सोही विद्यालयमा अधिकृत शेखर साहले पढाई गर्दा वर्तमान समयमा उहाँहरु गुरु चेला भएको स्वयं अधिकृत साहले धाक लगाउने गरेको उनको भनाइलाई उद्धृत गर्दै स्रोतले जनाएको छ । कार्यालयका कुनै पनि कर्मचारी र अधिकृतहरूलाई भैलु नै नदिई प्रत्यक्ष रुपमा मन्त्री रायको नाम लिंदै धेरै बोल्ने प्रयास गर्यो भने मन्त्रीजी सँग भनेर वीरगंजबाट लखेट्न बेर लाग्दैन भनी धाक देखाउने गरेको स्रोतको भनाई रहेको छ ।
अधिकृत साहले ठूलो सवारी शाखाको फाँट प्रमुख भई सेवाग्राहीहरूसँग मोटो रकम असुली राखेको भुक्तभोगीहरू बताउँछन् । भ्रष्ट प्रवृतिका अधिकृत साहले वीरगंज यातायात कार्यालयमा करिब ७ वर्ष देखि कार्यरत्त रहेका छन् । उनको सरुवा बीचबीचमा भइरहँदा पनि उनी १०/१५ दिनको लागि रवाना लिएर जान्छन् र शक्ति केन्द्रलाई चाँदीको जुत्ता भिडाई पुनः वीरगंज यातायात मै आउने गरेका छन् । अधिकृत साहको करिब ७ वर्षको बसाइमा उनी करिब २० करोडको सम्पत्ति आर्जन गरेको र ती सम्पत्ति आफ्ना नातागोताको नाममा राखेको उनका निकटवर्ती बताउँछन् । निवर्तमान समयमा ट्रायल प्रमुख भई सवारी चालकका सेवाग्राहीहरूलाई हैरान गर्ने गरेको कारण लाइसेन्सको काम बदनाम हुँदै गएको बताइन्छ ।
अधिकृत साहले विगतमा ट्रायल प्रमुख भएको नाताले सवारी चालकको परीक्षामा फेल भएका सेवाग्राहीहरूसँग रकम उठाई कार्यालयमा ठूलठूला व्यक्तिको सिफारिस हो भनी परीक्षा समितिलाई झुक्याउदै अनावश्यक तरिकाले लाखौं लाख कमाएको स्रोतको कथन रहेको छ । अधिकृत साहले कुन मितिमा सरकारी जागिरेमा प्रवेश गरेका हुन र उनको जम्मा तलब कति भएको छ तथा उनका हालको सम्पत्ति कति रहेको छ ? यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा अधिकृत साहबाट ठगिएका भुक्तभोगीहरू दाँतले औला टोक्न बाध्य भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend