साझा नेटवर्क
रन्जित चौरासिया, वीरगन्ज १२ कार्तिक । तराई विकास तथा सन्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाइँले सुरु गर्नु भएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत पर्साको पटेर्वा सुगौली गाउँपालिका पटेर्वामा डा. प्रिती चौधरीको जन्मदिनको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत डा. प्रिती चौधरी सो अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम प्रति ऐक्यबद्धता जनाउदै डा. चौधरीले आफ्नो जन्मस्थल पटेर्वा टोलको नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा भव्य कार्यक्रम गरेर वृक्षारोपण गरेकी हुन् । विद्यालय परिसरमा विभिन्न प्रजातिका करिब एक सय भन्दा बढी बिरुवाहरू रोपिएका थिए । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले आफ्नो गाउँठाउँलाई हरियाली युक्त बनाउन र पर्यावरणीय सन्तुलन कायम राख्नका लागि हरेक गाउँ र टोलमा वृक्षारोपण गर्नुपर्ने बताए ।
तराई विकास तथा सन्चार केन्द्र नेपालले थालेको “जन्मदिनलाई सत्कर्ममा जोडौं” अभियान निक्कै प्रेरणादायी कदम भएको भन्दै यो अभियानमा हरेक नागरिक जोडिनुपर्ने सुझाएका थिए । उनले अहिले गरिने वृक्षरोपणको लाभ हामी लगायत भावी पुस्ताले उठाउने भन्दै उनीहरूले हरियाली वातावरणको महत्व र सत्कर्मको माध्यमबाट समाजसेवा गर्न सबैलाई प्रेरणा मिल्ने बताए । एक फरक प्रसङ्गमा प्रमुख अतिथि चौधरीले हालको राजनीति कमाइखाने भाडो भएको टिप्पणी गर्दै आफू मन्त्री भएको बेला पर्सा जिल्लाको ग्रामीण भेगहरूमा सडक, पुल र बिजुली बत्ती ल्याएको दाबी गरे ।
सो अवसरमा आयोजक संस्था तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाईले प्राकृतिक श्रोत माथि चरम दोहन भइरहँदा पृथ्वीको अस्तित्व नै सङ्कट तर्फ धकेलिइरहेको सन्दर्भलाई मध्यनजर गर्दै विशुद्ध रुपमा सेवाभावका साथ रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दर चाँदीखोलाबाट पहिलो पटक अभियानको रुपमा आफुले सुरु गरेको यो अभियानले हाल देशभरबाट निरन्तरता र ऐक्यवद्धता पाइरहेकोमा खुशी व्यक्त गरे ।
सोही अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले आफ्नो जन्मदिनको अवसरमा भव्य वृक्षरोपण आयोजना गर्नु भएकोमा चौलागाईले आभार प्रकट गरेका थिए । आयोजक संस्थाका सल्लाहकार चन्द्रकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, महासमिति सदस्य शैलेन्द्र कुमार यादव, नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष युवराज खड्का, बरिष्ठ पत्रकार राघव साह लगायतकाले डा. चौधरीको जन्मदिनको अवसरमा उनको उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनलाई सत्कर्ममा जोडौं अभियानमा चौधरीले सरिक भई राम्रो कार्य गरिरहनु भएकोमा प्रशंसा गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य रामजनम चौधरी, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु महतो लगायत विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी एवं स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend