साझा नेटवर्क
वीरगन्ज १५ असोज। वीरगन्ज महानगरपालिकाको मेनरोड भारतीय महावाणिज्य दूतावासको पुर्वपट्टी स्थित सहनी ब्रदर्श एण्ड सप्लायर्सद्धारा लाखौं लाखको कर छली भइरहेको छ भने पर्सा, बाराका प्रायः पालिकाहरूमा सहनी ब्रदर्शद्धारा कमिसनको जगजगी बढेको समाचार स्रोतले जनाएको छ ।
सहनी ब्रदर्शका सञ्चालक संदिप सहनीले प्रायः पर्सा, बाराका स्थानीय तहहरूमा जिन्सीका सामानहरू सप्लाइ गर्ने र कार्यालय प्रमुख तथा लेखापाललाई मोटो कमिसन दिने गरेको स्रोतको भनाई रहेको छ । कतिपय स्थानीय तहहरूमा सञ्चालक सहनिले भ्याट सहितको बिल मात्र उपलब्ध गराउने र आफु २० प्रतिशत राखी बाकी रकम प्रमुख र लेखापाललाई बुझाउने गरेको बताइन्छ ।
पर्सा, बाराका स्थानीय तहहरुका अधिकांश भ्रष्टाचारी कर्मचारीहरूले सहनी ब्रदर्श एण्ड सप्लायर्स सँग कारोबार गर्ने गरेको बताइन्छ । सहनी ब्रदर्शका सञ्चालक सहनिले आफ्ना र आफ्ना केही नातेदार तथा आसेपासेहरूको नाममा करिब एक दर्जन फर्महरू दर्ता गराई स्थानीय तहहरूमा जिन्सीका सामानहरू सप्लाइ गर्दै आएको स्थानीय तहका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताए ।
कुनै पनि पालिकाले एउटा फर्म सँग वार्षिक १० लाख सम्मको मात्र कारोबार गर्ने बाध्यात्मक नियम रहेको कारण सहनीले बढी भन्दा बढी फर्महरु राखेको ती कर्मचारीको भनाई रहेको छ । सहनी सँग रहेका फर्महरूले वार्षिक रुपमा करिब ५० करोडको सामानहरू सप्लाइ गर्ने गरेको बताइन्छ । भारतबाट तस्करी गरेर मगाइएका सामानहरूलाई सहनीले आफ्नो फर्महरूको स्थानीय तहहरूमा बिल बिजक दिने गरेको बताइन्छ ।
सहनीले आर्थिक वर्ष २०७९-०८० र २०८०-०८१ मा सबै भन्दा बढी कारोबार पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, धोबीनी, कालिकमाई, पकहाँ मैनपुर र बाराको विश्रामपुर, प्रसौनी, फेटा, बारागढी, जितपुर सिमरा लगायतका दर्जनौं स्थानीय तहहरूको भ्रष्ट कर्मचारीहरू सँग साँठगाँठ गरी कारोबार गर्ने गरेको ती स्रोतको दाबी रहेको छ ।
स्थानीय तहका अधिकांश भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र जिन्सी प्रमुखहरूले सहनी सँग मिलोमतो गरी अनियमितता गर्ने गरेको बताइन्छ । सहनी ब्रदर्शले मासिक लाखौं लाख कर छल्दै कारोबार गर्दै आइरहेकोमा आन्तरिक राजस्व कार्यालय पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले सहनी सँग खरिद खाता र वर्ष भरीमा भए गरेका सप्लाईको बिल बिजक नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो भने उनी नेपाल सरकारको कतिको राजस्व छलिरहेका छन् घाम जस्तै छर्लङ्ग हुने स्रोतको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend