साझा नेटवर्क
-शिव सुवेदी ।
हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो हरितालिका तीज । किंवदन्ती अनुसार भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिन हो, हरितालिका तीज ।
विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामना सहित व्रत बसी पूजाआजा गरी मनाइने पवित्र पर्व हो, हरितालिका तीज । कुनै पनि चाडपर्वको आफ्नै विशेषता, मूल्यमान्यता र पहिचान हुन्छ। चाडपर्वको आफ्नो विशेषता, मूल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो भने त्यसको मूल्य, मान्यात, आदर्श, पहिचान र विशेषताको प्रतिकूल हुने कार्यहरू गर्नु विकृति हो ।
अहिले यो पवित्र पर्व हरितालिका तीज विकृतिको शिकार बनेको छ । तीज वा कुनै पनि चाडपर्व मनाउने विषयमा कसैको दुईमत हुन सक्दैन, यो सुखद पक्ष हो । चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृति त हाम्रा अमूल्य सम्पत्ति हुन्। यसको संरक्षण र संवर्धन गरिनुपर्दछ। तर यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ । धर्म संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ।
केही हदसम्म समय क्रम अनुसार परिवर्तन पनि गर्नुपर्छ। तर पछिल्लो समय तीज भड्किलो भन्दै गएको छ । समयक्रमसँग नेपालमा तीज मनाउने चलन फेरिएको छ। सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ । तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ । तीज आउनुभन्दा महिनौं अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ ।
हिन्दु महिलाको महान पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा नचाहिँदो तडक भडक पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, ख्वाउने र बहुमूल्य वस्तुको प्रदर्शनी गर्ने होड चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ ।
केही वर्षदेखि विभिन्न संघ-संस्था, दलहरु र तिनका भातृ संगठनको आयोजनामा सामूहिक रुपमा दरखाने अभियान चलिरहेको छ । कुनैपनि चाड पर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ । धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा तीज आउनु महिनौ अघिदेखि पार्टी प्यालेस र होटलमा महँगा गरगहना कपडा प्रदर्शनी गर्ने र टिकट बिक्री गर्ने प्रचलन बढेको छ ।
पार्टी प्यालेस घर टोल र सडक तीजमय देख्न पाइन्छ दिदीबहिनीहरु महँगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ । हिजोआज तीजमा गाइने मिठा सामाजिक सन्देश बोकेका र भाव भएका गितहरु सुनिन छोडेका छन् । युबा युवतीहरु अमर्यादित पाराले नाचिरहेका दृश्यहरुले सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभुषलाई प्राथमिकता दिएर रंगिएका देखिन्छन् ।
आर्थिक हिसाबले पनि तीज झन खर्चिलो र भड्किलो फेसन भएको छ । अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जन जीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ । तीज मनाउने क्रममा हुनेखाने महिलाहरुले हुँदाखाने महिलाहरुलाई पछाडि पारेका छन् । यस्ता विकृति र भड्किलो फेसनले कमजोर आर्थिक हैसियत भएका महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ ।
यस्ता विकृतिले हाम्रो संस्कार र संस्कृतिका मूल्य एवं मान्यतालाई दिग्भ्रमित गर्ने र समग्र समाजलाई नै दूषित बनाउने हुनाले यस खालका विकृति र विसंगतिलाई हटाई हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न जरुरी छ । हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो । अरु कुरा त मानिससँगै मेटिएर जाने हो ।
धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व, अर्थ र विशेषता भएका यस्ता पर्वहरूको मर्म, भावना र उद्देश्य अनुरूप सभ्य तथा सुसंस्कृत ढंगले चाडपर्वहरू मनाउनु र धर्म एवं संस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो । अहिलेकाे तिजमा पहिला पहिला आमा दिदिबहिनीहरुको पालामा तीजलाई महिलाहरुले आफनो विशिष्ट चाडका रुपमा मनाउँथे । आफना पिर, व्यथा, वेदना अनि सुख दुखलाई गीत संगीतका माध्यमबाट अभिव्यक्त गर्थे ।
तीजका गितहरुमा महिलाहरु एकत्रित भएर नाच्थे एकापसमा गाउँथे तर अहिले त्यस्ता गित सुन्न पाइँदैनन् । महिनौं दिन देखि तीजका नाममा दर र दारु खाने परम्पराले संस्कृति जगेर्ना गर्न सक्दैन । अबको पुस्ताले तिजलाई नाच्ने र गाउने चाडको रुपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रुपमा लिनु उपयुक्त हुन्छ । केही वर्षदेखि संस्थागत रूपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि बढिरहेको छ ।
पछिल्लो समयमा त लगभग प्रतिस्पर्धा जसरी कार्यक्रमहरूको आयोजना भैरहेको देखिन्छ । महिलासँग सम्बन्धित संघसंस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारी/गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरूका संघसंगठन, क्लब, समूह आदि सबैले तीजको कार्यक्रम आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ । आउने दिनमा कुनैपनि संस्थाहरुले तिजको नाममा हुने भड्किलो कुरा रोक्न सकिएन भने आगामी पुस्ताले चाडपर्व मान्न छाड्नुका साथै तिज जस्ता पर्व बिस्तारै लोप भएर जाने छ ।
के हामीले खोजेको संस्कृति यस्तै हो त ? अनि हरितालिका तीजको संस्कृति यही हो त ? अझ अचम्म र दुखद पक्ष त के छ भने कतिपय संघसंस्थाले नै तीज आउनु कहिले हो कहिले हो, पहिल्यै नै तीज कार्यक्रमहरूको आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ। यो झनै विकृतिको रूपमा मौलाएको छ । संस्कृतिको संरक्षण गर्नु हरेक व्यक्ति, समूह, संघ–संगठन, सरकार सबैको दायित्व हो । तर, संस्कृतिको नाममा विकृति भित्र्याउने छुट भने कसैलाई छैन ।
महिना दिन पहिल्यैदेखि तीजका नाममा भोजभतेर र नाचगान न त सांस्कृतिक/धार्मिक रूपमा सही देखिन्छ न त साधन, स्रोत, समय र औचित्यका हिसाबमा सही । ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने त आहानै छ नि। पर्वको मर्म बुझेर त्यसको उपभोग र प्रचलन गर्नु राम्रो हो। तर पर्वलाई नै गिज्याउने गरी, त्यसको मर्म विपरित कार्य गर्नु/गराउनुलाई भने शोभनीय मान्न सकिंदैन।
तीजमा आएको यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्म माथि गम्भीर आघात पुर्याएको छ भने नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको छ । व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ । शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ ।
त्यसैगरी आजभोलिका कतिपय तीजगीत र नाचगान त घरपरिवारमा बसेर हेर्न र सुन्न सकिने खालका पनि छैनन् । तर आजभोलि यतिमै मात्र सीमित रहेन, हरितालिका तीजको परिभाषा लगभग बदलिएको छ । माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ ।
सर्वसाधारण परिवारमा पर्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राखेर चार्डपर्व भडकिलो र खर्चिलो नगरीकन मनाऔ । सम्पुर्ण दिदी बहिनी हरुमा हरितालिका तीजको शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend