साझा नेटवर्क
कमल पौडेल ,९ साउन,वामीटक्सार । गुल्मीको मुसीकोट नगरपालिका वडा नं. ७ वामीटक्सारमा चौथो नौमती सांस्कृतिक महोत्सव हुने भएको छ। वामी विश्व सम्पर्क मञ्च, नौमति सांस्कृतिक समितिको आयोजनामा हरेक २/२ वर्षमा हुँदै आएको महोत्सव यसपटक पनि कोजाग्रत पूर्णिमाको पर्सिपल्ट हुनेगरि तय गरिएको सांस्कृतिक समितिका संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभएको छ।
यसैबीच सोही महोत्सव प्रभावकारी बनाउनको लागि जनप्रतिनिधि, आयोजक तथा सरोकारवाला सहित वामीटक्सारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुसीकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जिवन) ले मेलामहोत्सव सामाजिक, सांस्कृतिक विकासमा समेत योगदान हुनेगरि सञ्चालन गर्दा राम्रो हुने भएकोले धेरै संस्थाहरुले एकीकृत रुपमा वृहत कार्यक्रम सञ्चालन गर्दा नगरपालिकाले समेत सहयोग गर्न सजिलो हुने बताउनु भएको थियो।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष हरिहर सापकोटा, वडा नं. ९ का अध्यक्ष भुमा गुरुङ, पूर्व वडाअध्यक्षहरू प्रकाश काफ्ले, नारायण सापकोटा, महेन्द्र आदर्श माविका प्रधानाध्यापक देविराम शर्मा, शारदा विद्यामन्दिर माविका प्रधानाध्यापक ज्ञानहरी सापकोटा लगायतले समीक्षात्मक धारणा राख्नुभएको थियो। सो अन्तरक्रियाबाट कार्यक्रमलाई थप वृहत बनाउन अवधारणा तयार गर्नेगरी समिति गठन गरिएको छ।
यही साउन मसान्त भित्र अवधारणा पेश गर्नेगरी गठित अवधारणा निर्माण समितिको संयोजकमा प्रकाश काफ्ले तथा सदस्य सचिवमा रामचन्द्र सापकोटा रहनुभएको छ। कार्यक्रम वामी विश्व सम्पर्क मञ्च मूल समितिका उपाध्यक्ष डिलाराम खरालको अध्यक्षता, कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य तथा सचिव रामचन्द्र सापकोटा सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend