logo
  • शुक्रबार, असोज ९ २०८३

अमरपट्टि नाका तस्करहरूको अखडामा परिणत, सम्बन्धित निकाय मौन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रन्जित चौरासिया, वीरगंज १ श्रावण । प्रहरी प्रधान कार्यालयका प्रमुख आइजिपी वसन्त बहादुर कुवँरले चोरी तस्करी नियन्त्रण गर्न आफू कुनै कसर बाकी नराख्ने दाबी गरिरहेकै बेला अमरपट्टि नाकाबाट व्यापक रूपमा तस्करी बढेको पाइन्छ । आइजिपी वसन्त बहादुर कुँवरले मुलुकको अर्थतन्त्रलाई निहाल्दै अवैध तरिकाले नेपाल भित्रिने मालसमान नियन्त्रण गर्ने योजना अन्तर्गत जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिएको बताइरहेकै बेला पर्साको ग्रामिण नाकाहरूबाट तस्करी तिब्र रूपले अगाडि बढेको पाइएको हो ।

 पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने अमरपट्टि नाका हालको समयमा तस्करहरूको अखडामा परिणत भएको पाइन्छ । अमरपट्टि नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त मिलोमतो र आर्थिक प्रलोभनका कारण तस्करी तीब्र रूपले अगाडि बढेको बताइन्छ । प्रहरीको आर्थिक मिलोमतो मात्र होइन, केही आर्थिकका कारण तस्करीको मालसमान स्कटिङ्ग समेत गर्ने गरेको स्थानीय बताउँछन । प्रहरी चौकी अमरपट्टिका प्रमुख प्रहरी नायब निरीक्षक रन्जन सिंहले तस्कर समूह सँग मासिक रूपमै नजराना मात्र बुझेका छैनन् प्रति दिन तस्कर समूह सँग थप रकमको प्रलोभन परि तस्करीका मालसमान ओहोर दोहर गराउने गरेको विभिन्न घटनाहरूले प्रमाणित गरेको छ ।

 केही दिन अगाडि मात्र सशस्त्र प्रहरीको टोलीले बर्वा भन्ने ठाउँमा तस्करीको मालसमान राखेको गोदाममै छापा हानेर तस्करीको मालसमान बरामद गर्नुको साथै नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको चल्ला पटक पटक सशस्त्र प्रहरीले बरामद गरेको थियो । अमरपट्टि नाकामा पटक पटक नेपाल भित्रियाइरहेको मालसमान सशस्त्र प्रहरीले बरामद गरेको घटना बाहिर आउन थालेपछी स्थानीय प्रहरी चौकीको मिलोमतो हुने गरेको बारे प्रष्ट पार्दछ । तर आफ्नो पहुँच र वर्दीको फाइदा उठाउदै अमरपट्टि नाकालाई कमाइ खाने थलोको रूपमा प्रयोग गर्ने गर्दापनि सम्बन्धित निकायको मौनताले ठुलै शङ्काको घेरामा जान पुगेको स्थानीयहरू दुखेसो पोख्छन् ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलले सीमाको सबै नाकामा निगरानी बढाउन आदेश दिनुको साथै ग्रामीण भेगहरूमा कुनै अप्रिय घटना हुन नदिन जिल्लाबाट समेत टोलि परिचालन गरेपनी तस्करी रोक्न सकेको छैन । सीमामा खटिने प्रहरी आफ्नै माथिल्लो तहको आदेशलाई अवहेलना गर्दै तस्करी कार्य चलाउनुले प्रहरी सङ्गठन भित्रै चर्चाको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend