साझा नेटवर्क
कमल पौडेल ,२८ बैशाख । वामी विश्व सम्पर्क मञ्चले स्थापनाको दशौँ वर्षको अवसरमा संगम स्मारिका विमोचन गरेको छ। विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रि समेत रहनुभएका गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्णराज विष्टले विकास गाउँ पुग्दै गरेको तर जनता गाउँबाट सहर झर्ने प्रवृत्ति नरोकिनु अहिलेको चुनौति भएको टिप्पणी गर्नुभएको छ।
विश्वभर छरिएर पनि एकतावद्ध रहेका वामेलीहरुको प्रशंसा गर्दै विष्टले सिकेको ज्ञान र सिपले जन्मभूमि सिञ्चित हुने विश्वास व्यक्त गर्नुभयो। वामीको विकासको लागि शालिमे क्षेत्रको विकास महत्वपूर्ण हुने भन्दै सांसद विष्टले स्वाँरा तथा पुरानो गाउँबाट दहपुग्ने पदमार्ग, शालिमेमा पानी जम्नेगरि दह निर्माण तथा मन्दिर निर्माण त्यहाँको माग रहेको भन्दै सो को समाधानको लागि पहल गर्ने बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले शालिमेको विकासबाट समृद्धि सम्भव हुने भन्दै त्यसको पहलको लागि लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। सापकोटाले बसाइँसराई बढेको विषयमा चिन्ता व्यक्त गर्दै बौद्धिक पलायन रोक्ने विषयमा आफूहरुले सोँच्ने बताउनु भएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसाल, रुद्रावती बहुमुखि क्याम्पसका पूर्व प्रमुख हिरामणि अर्याल, प्राध्यापक डाक्टर तारा प्रसाद सापकोटा, शाखाहरुको तर्फबाट शारदा शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्राध्यापक डाक्टर जिवलाल सापकोटाले स्मारिकामाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने प्रधानसम्पादक प्राध्यापक डाक्टर ज्ञान बहादुर थापाले सम्पादकीय कोणबाट प्रकाश पार्नुभएको थियो। भर्चुअलमा गरिएको कार्यक्रम वामी विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष प्राध्यापक डाक्टर इश्वरी प्रसाद पाण्डेयको अध्यक्षता, मूल समिति वामीका अध्यक्ष ज्ञानेश्वर काफ्लेको स्वागत मन्तव्य तथा अन्तराष्ट्रिय समन्वय समितिका महासचिव रोमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। गैर राजनैतिक तथा गैर नाफामूलक संस्थाको रुपमा स्थापित वामी विश्व सम्पर्क मञ्चले दशौँ वार्षिकोत्सवको अवसरमा मौलिक लेख रचना सहित स्थानीय क्षेत्रका प्रेरणादायी एवं ऐतिहासिक तथ्य तथा संस्थाको आर्थिक र प्रगतिको समेत विवरण राखी स्मारिका तयार गरेको हो। मञ्चले वामी र आसपासको क्षेत्रमा प्रकोप पिडित, आर्थिक असहाय एवम पीडितहरूको लागि राहत सहयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विविध कार्यक्रम र सहयोग, लोपउन्मुख कलासंस्कृति संरक्षण र सम्बद्र्धन तथा सामुदायिक हितका क्षेत्रमा काम गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend