logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङमा सडक सुरक्षा सचेतना तथा सवारी चालकहरूको लागि अभिमुखीकरण सुरु, पहिलो कार्यक्रम बडिगाडमा सम्पन्न 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,२९ फागुन, बागलुङ ।

बागलुङ जिल्लामा सडक सुरक्षा सचेतना तथा सवारी चालकहरूका लागि अभिमुखीकरण कार्यक्रम बडिगाड गाउँपालिका बाट सुरु भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाभर सडक सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनु भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालय, बागलुङको संयुक्त आयोजनामा बडिगाड गाउँपालिकाको सभाहलमा पहिलो सडक सुरक्षा सचेतना तथा चालकहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।  बडिगाड गाउँपालिका र जिल्ला ट्राफिक कार्यालय बागलुङको सहयोग तथा सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा बडिगाड, गल्कोट तथा वुर्तिवाङ क्षेत्रमा सञ्चालन भैरहेका सवारीधनी तथा चालकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन न्यूरेले चालक अनुशासन, ट्राफिक चिन्ह र प्रयोग सम्बन्धी चेतनामूलक प्रस्तुती दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बडिगाड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिमसेन वनले गाउँपालिका भित्र कति सवारी साधन छन् भन्ने यकिन नहुँदा नियमनमा समस्या भएको भन्दै पालिका भित्रका सवारी साधनहरूलाई गाउँपालिकामा दर्ता गर्न आग्रह गर्नुभएको थियो।

त्यस्तै मुसीकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठले मुसिकोट वडा नं. १ र २ का बासिन्दा बडिगाड गाउँपालिका प्रवेश नगरी आफ्नै पालिका केन्द्र पुग्न नसक्ने अवस्था रहेको तर यातायात कानुनका कारण समस्या भएको भन्दै यातायातमा सहजिकरणको लागि आफूहरुको पहलमा जिल्ला प्रशासन र जिल्ला प्रहरीले सहयोग गर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले व्यवहारिक रुपमा सहजिकरण गर्न सकिने विषयमा आफू तयार रहेको भन्दै खर्बाङ र वामीटक्सार विचको समस्या नहुनेगरी समन्वय गर्ने भन्दै मातहत ट्राफिक युनिटलाई सहजिकरणको लागि निर्देशन समेत दिनुभएको थियो।

त्यस्तै यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्माले व्यवसायीका जायज मागहरू प्रति ध्यानाकर्षण भएको बताउनु भएको थियो। कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले राज्यका निकायहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको तथा आम नागरिक समेत जागरुक हुन नसकेको औँल्याउनु भएको थियो।

कार्यक्रममा ढोरपाटन यातायात व्यवसायी प्रालिका सचिव नर बहादुर खत्रीले ट्राफिक नियमहरू पूर्ण पालनाको लागि आफूहरू तयार रहेको तर अवैधानिक सवारीको विगविगि रहेको भन्दै कडाइका साथ नियम पालना गराउनुपर्ने बताउनु भएको थियो। त्यस्तै बडिगाड गाउँपालिका लुम्बिनी प्रदेश सँगको सीमामा भएकोले व्यवहारिक रुपमा धेरै कठिनाइ भोगिरहेको भन्दै त्यसको व्यवस्थापनको लागि आग्रह समेत गर्नुभएको थियो। चालकहरूले सडकमा असरल्ल निर्माण सामानले सवारी आवागमनमा समस्या भएको, प्रदेश सिमा जोडिएको क्षेत्र भएकोले १ किलोमिटर गुड्न पनि सास्ती खेप्नुपरेको लगायत गुनासो गरेका थिए।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको स्वागत मन्तव्य तथा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, बागलुङका प्रमुख उप-अनुसन्धान निर्देशक जयन्द्र प्रसाद उपाध्याय, सशस्त्र प्रहरी बल, आश्रित गुल्म बागलुङका प्रमुख सहायक प्रहरी नायब उपरीक्षक रविन अधिकारी, बडिगाड गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend