साझा नेटवर्क
कमल पौडेल, १६ फागुन, बडिगाड ।
बडिगाड गाउँपालिकामा यहि फागुन २७ गते देखि ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूको लागि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। पालिकाका ३५ खोप केन्द्रबाट ३५ जना तालिम प्राप्त स्वास्थ्यकर्मी ७० जना स्वयंसेवीका र आवश्यक सहयोगी परिचालनमा खोप दिन लागिएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेम पुनले जानकारी दिनुभएको छ। नियमित खोप बाहेक २७ गते देखि ५ दिन सम्म सञ्चालन हुने दादुरा रुबेला विरुद्धको विशेष खोप अभियानमा १५ जनाको विशेष टोलीले अनुगमन गर्ने पुनले जानकारी दिनुभएको छ। जनस्वास्थ्य निरीक्षक पुनले दादुरा रुबेला बढि सङ्क्रामक रोग भएकोले अभियानमा कोही छुट्न नहुने भन्दै खोप सुरक्षित र प्रभावकारी भएको जानकारी दिनुभएको छ।
खोप अभियानलाई प्रभावकारी बनाउन आज पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, उपाध्यक्ष भिमसेन वन, वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेवक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
नेपालले सन् २०२६ सम्म पूर्ण खोपयुक्त देश बनाउने घोषणा गरिसकेको छ। तर वर्तमानमा करिव ४ प्रतिशत बालकालिका खोपको पहुँचमा नपुगेको तथ्यांक रहेको छ। दादुरा रुबेलाको संक्रमण अझै नरोकिएको भन्दै सरकारले यसवर्ष पनि दादुरा रुबेला विरुद्धको विशेष खोप कार्यक्रम सञ्चालन गरिरहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend