logo
  • शुक्रबार, असोज ९ २०८३

गलकोट बहुमुखी क्याम्पसमा श्रीमदभागवत् शैक्षिक ज्ञानमहायज्ञ गरिंदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

थम्मन थापा, बागलुङ, माघ १८ । गलकोट बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरिएको छ । क्याम्पसमा आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्न लागिएको श्रीमदभागवत् शैक्षिक ज्ञान महायज्ञको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको क्याम्पसले जनाएको छ ।

मंगलबार गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी गलकोट क्षेत्रकै एक मात्र सामुदायिक क्याम्पसको दीर्घकालीन गुणस्तरीय भौतिक र शैक्षिक विकासमा सहयोगार्थ शैक्षिक ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

क्याम्पसको १९ औं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी संगीतमय कथा प्रवचन सहित महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पसका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।

हाल क्याम्पसमा बिएड र बिबिएसका कक्षाहरु सञ्चालन हुँदै आएकोमा विश्व बजार अनुकुलका विभिन्न विषयहरू थप गर्ने तथा हाल सञ्चालन हुँदै आएका विषयहरूको समेत स्तरोन्नति गरी स्नातकोत्तर तहका कक्षाहरु र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

श्रीमदभागवत् शैक्षिक ज्ञान महायज्ञ मार्फत २० करोड रकम संकलन गर्ने लक्ष्य रहेको श्रीमदभागवत् शैक्षिक ज्ञान महायज्ञ  आर्थिक समितिका संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकमले क्याम्पसको २० रोपनी भन्दा बढी जग्गा खरिद गरेर अध्ययन अध्यापन भवन, प्रशासनिक भवन, छात्रावास भवन, स्मृति कक्ष तथा सभा भवन, पुस्तकालय कक्ष, प्रयोगात्मक कक्ष, खेलकुद मैदान र स्मृती पार्क लगायतका संरचना समेत निर्माण गर्ने उद्देश्य महायज्ञले राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो ।

क्याम्पसको शैक्षिक भौतिक विकासका लागि आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेकाले वार्षिकोत्सवको अवसरलाई सदुपयोग गरी महायज्ञ आयोजना गरिएको र सो अवसरमा देश विदेशमा रहेका महानुभावहरूलाई सहयोगका लागि अपिल गर्ने आयोजकले जनाएको छ ।

महायज्ञमा भागवत भाष्कर श्री कमलनयन गौतमज्यूको प्रमुख वाचकमा दैनिक संगीतमय भजन कृतन, नृत्य पाठ पुजा लगायतका कार्यक्रम रहने जनाईएको छ । गौचम ज्यूले सञ्चालन गर्ने संगीतमय श्रीमद्भागवत महायज्ञको सफलताका लागि समाजका सबै पक्षसँग सहयोगको अपिल गरिएको सहायक क्याम्पस प्रमुख चुडामणी शर्माले बताउनुभयो ।

वि.सं २०६१ मा स्थापित गलकोट बहुमुखी क्याम्पस सुरुवातमा गलकोट माध्यमिक विद्यालयको भवनमा बिहानी समयमा सञ्चालन हुँदै आएको थियो । क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि वि.स. २०६१ फाल्गुण १४ गतेदेखि २२ गतेसम्म विश्वशान्ति धनधान्यान्चल महायज्ञ आयोजना गरी संकलित रकमबाट क्याम्पसको भवन निर्माण तथा शैक्षिक व्यवस्थापन गरीएको थियो ।

तत्कालीन समयमा महायज्ञबाट १ करोड ५० लाख नगद संकलन तथा झण्डै २५ लाख बराबरको जग्गा निःशुल्क प्राप्ति भएको थियो । क्याम्पसमा शिक्षा शास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा गलकोट नगरपालिका सहित, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी २५७ विद्यार्थी अध्ययनरत रहेका छन् ।

महायज्ञ सञ्चालनका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको संयोजकत्वमा महायज्ञ मूल समारोह समिति र २६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महायज्ञ सफल पार्न मुल समारोह समिति तथा उपसमितिहरूले तयारीलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend