साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ १३ ।
आइतवार हुने बडिगाड गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको तयारी पुरा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने गरि सवै तयारी सकिएको गाउँपालिकाले जनाएको छ। सो उद्घाटन कार्यक्रममा बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सवै संघिय तथा प्रदेश सांसद, प्रदेशका मन्त्रिहरु, जिल्ला स्तरका सवै राजनैतिक दलका प्रमुखहरु लगाएतको सहभागिता हुने गरि तयारी भएको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभएको छ ।
भवन उद्घाटनको कार्यक्रममा बडिगाड गाउँपालिका भित्र उत्पादित विभिन्न कृषि तथा पशुजन्य सामाग्रि, हस्तकला, काष्ठ सामाग्रि, शैक्षिक प्रदर्शनी, विभिन्न झाँकीहरु लगाएतका कार्यक्रमहरु प्रदर्शन गरिने पालिकाले जनाएको छ। त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष भिमसेन बनले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रमको लागि विहान ११ बजे खौलारबाट झाँकी सहितको र्याली सुरु हुने, मध्यान्ह १२ः३० बजे भवन उद्घाटन सहित विभिन्न कार्यक्रमहरु साँझ ५ बजेसम्म रहनेगरि कार्यक्रम तयारी गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभएको छ।
२०७७ साल असोज २१ गते तत्कालीन गण्डकी प्रदेशका अर्थमन्त्रि किरण गुरुङले सिलन्यास गरेको भवनको वर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्रि पाण्डेले उद्घाटन गर्न लाग्नुभएको हो।
२०७८ मंसिर १६ गते भित्र सम्पन्न गर्ने गरि ५ करोड १८ लाख ५४ हजार ८ सय १९ रुपैयामा माउण्टेन कविन्द्र जेभिले ठेक्का लिएको थियो। तर विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले समयमै काम नसक्दा योजना लम्बिएको थियो। गत वैसाखबाट सेवा सुरू गरेकाे भवन असार मसान्तमा सम्पन्न भएकाे थियाे साेहि भवनकाे उद्घाटन हुन लागेकाे हाे।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend