साझा नेटवर्क
रंजित चौरसिया,बारा २३ मंसिर। बारा जिल्लाको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालयले घुमुवा खटाई अवैध कारोबार तस्करीलाई प्रसय दिइरहेको समाचार स्रोतले जनाएको छ । ईप्रका प्रसौनी मातहतका युनिटबाट र तस्करबाट रकम असुलीकै लागि दुई जना घुमुवा खटाइएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी सहायक हवल्दारद्वय सोनालाल पटेल र भागिरथी महतो केवटले प्रसौनी मातहत पर्ने बलिरामपुर, छतवा र जोतपुर लगायतका नाकाहरूबाट हुने गरेको अबैध कारोबार गर्ने तस्करहरु सँग मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानीयले बताएका छन् ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरू चोरी तस्करीमा संगलन हुन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढ्नु स्वाभाविक भएको स्थानीयले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय प्रसौनीका घुमुवाहरु चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाइकेहरू संग मेलमिलाप गरेपछि तस्करी बढेको बुझिएको छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिइरहेको भए पनि तस्करहरू सँग महिनावारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानीयहरुको आरोप रहेको छ । सो नाकाहरूबाट सत्येन्द्र, सुरेन्द्र, जुमुदिन, शत्रुधन, अनिल, बलिराम, संजय, धुरुप, संतोष, बिजय, जुमराठी लगायतकाहरुलाई मासिक प्रति व्यक्ति ५ हजार देखि २० हजारमा तस्करीको लाईन पाएको एक व्यापारीले नाम नछाप्ने शर्तमा बताए । सो नाका भएर भारतबाट लत्ताकपडा, हार्डवेयर, रजनीगन्धा, जुत्ता चप्पल, काजु, धान, प्रतिबन्धित औषधी लगायतका सामग्रीहरूको तस्करी कार्य निर्वाध रुपमा भईरहेको जो कोहीले पनि सजिलै हेर्न सक्ने बलिरामपुरका एक युवाले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
तस्करी वापत घुमुवाद्वय पटेल र केवटले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम प्रहरी निरीक्षक बिनोद बोहरालाई राम्रै रकम बुझाउने गरेको स्रोतको भनाई रहेको छ । यदि प्रहरी निरीक्षक बोहराले मासिक नजराना नबुझेको भए रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी निरीक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ ।
ईप्रका प्रसौनी मातहतमा पर्ने छतवा चौकीको विगत समयमा सहायक हवलदार पटेल घुमुवा बसिसकेकोले उनलाई सो क्षेत्रको तस्करी बारे राम्ररी जानकारी भएकोले उनलाई विगत करिब ९ महिना देखि ईप्रका प्रसौनीमा घुमुवा राखिएको प्रहरी स्रोतको भनाई रहेको छ । सो सम्बन्धमा ईप्रका प्रसौनीका प्रहरी निरिक्षक बोहरा सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरूबाट चोरी तस्करी बढेको भए पनि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरू आश्चर्यमा परेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend