साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज २४ कार्तिक। छिपहरमाई गाउँपालिकाको भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहको सरुवा भए पछि सो गाउँपालिका अधिकृतबिहिन बन्न पुगेको छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका सिकेन्द्र साह कही कतै पनि लामो समयसम्म बस्न नसकेको जनाईएको छ । उनको आनीबानी र भ्रष्टाचार गर्ने शैलीले सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू असन्तुष्ट नै रहने गरेको बताइन्छ ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी अधिकृत साहले बारा जिल्लाको देवताल गाउँपालिका, रौतहटको देवाही गोनाही नगरपालिका हुदै छिपहरमाईमा हाजिर भएका थिए । उनी करिब चार महिना छिपहरमाईमा बिताए पछि उनको सरुवा धनुषा जिल्लाको बिदेह नगरपालिकामा भएको बुझिएको छ । भ्रष्टाचारको मामिलामा ताण्डव मच्चाउदै हिँडने अधिकृत साहको सरुवा भए पनि लेखापाल संजय पटेल हाल छिपहरमाईमा नै कार्यरत रहेका छन् ।
अधिकृत साह जस्तै लेखापाल पटेलले पर्सा जिल्लाको विभिन्न गाउँपालिकामा कार्यरत रहंदै छिपहरमाईमा करिब एक वर्ष देखि रहेका छन् । यस भन्दा अगाडि पनि छिपहरमाईमा कार्यरत्त रही सकेका पटेल एक वर्षको अवधिमा तीन वटा अधिकृतको सरुवा भए पनि उनी छिपहरमाईमा नै छन् । लेखापाल पटेल पर्सा जिल्ला निवासी भए पनि उनको जन्म सामान्य परिवारमा भएको हो । तर उनी सहलेखापालबाट लेखापाल बन्दै आजको दिनमा करोडौं करोड खेलाउन हैसियत राखेका पटेल गौरीगञ्जको राधेमाईमा जमिन सहित करोडौं मूल्य पर्ने घर किन्न सफल भएका छन् ।
अन्य लेखापालहरु भन्दा छुटै पहिचान बनाएका भ्रष्ट संजय पटेलले जगरनाथपुर गाउँपालिकामा हुँदा धरौटीका रकम करिब चार करोड र छिपहरमाईमा करिब दुई करोड स्वाहा पारेको स्रोतको कथन रहेको छ । उनको जागिरको सानै अवधि भए पनि सानै उमेर समुहका रहेका लेखापाल सञ्जय पटेल वीरगन्ज अन्य ठाउँमा पनि घडेरी किनेको स्रोतले बताएको छ । पटेलले कुनै पनि सेवाग्रहीहरुको चेक काटदा अग्रिम नै पिसी (पर्सनल कमिशन) लिने गर्ने गरेको बताइन्छ । भ्रष्ट अधिकृत सिकेन्द्र साह र लेखापाल संजय पटेल जस्ता भ्रष्टाचारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा धरौटीका रकम फिर्ता नपाएका सेवाग्राहीहरू घर न घाटका भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend