logo
  • शुक्रबार, असोज ९ २०८३

वामीटक्सारमा पहिलो पटक सरायँ, युवा पुस्ताको सक्रिय सहभागिता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल १४ कार्तिक, मुसिकोट, गुल्मी ।

गुल्मीको वामीटक्सारमा पहिलो पटक सरायँ नाच नाचिएको छ। वामी विश्व सम्पर्क मञ्च, नौमति सांस्कृतिक समिति र मुसीकोट युवा क्लबको आयोजनामा भएको वृहत् मुसीकोट सरायँनाच महोत्सवको अवसरमा सोमवार प्रतियोगितात्मक रुपमा सराय नाचिएको हो। वडा दशैँको एकादशी देखि पूर्णिमा सम्म विभिन्न शक्तिपीठहरूमा नाचिने सरायँ पछिल्लो समय लोप हुने अवस्थामा रहेको भन्दै महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ। उक्त सराय प्रतियोगितामा युवा पुस्ताको आकर्षण देखिएको छ।

 १७ समुहको सहभागिता रहेको प्रतियोगितामा बडागाउँ सराय समुह ए प्रथम, बडागाउँ सरायँ वडा नं. ३ द्वितीय, देउराली माइकास्थान समुह तथा बडागाउँ सरायँनाच समुह वि तृतीय र मुसीकोट दरवार सरायनाच समुह तथा धारापानी फेदी समुहले सान्त्वना स्थान प्राप्त गरेका छन्। महोत्सवमा संस्कार जागरण अभियान तथा वडा नं. १ को उज्जल गिरि समुहको लोक भजन, वडा नं. ७ को नेवारी समुदायको लाखे नाच, कर्ण जिसिको पट्टा नाचलगायतका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल (जिवन) ले संस्कृति जगेर्नामा नगरपालिका पनि नागरिक संगै रहेको बताउनु भएको छ।

सामाजिक विकास नगरपालिकाको प्राथमिकतामा रहेको र सोहि अन्तरगत कला संस्कृति पर्ने भन्दै सवैको चासो र चिन्तन बाट संस्कृति संरक्षण गर्न सकिने बताउनु भयो। मेयर खरेलले भन्नभयो –“अरुदेशले भौतिक विकास गरे, हामी भौतिक विकासमा केहि पछि छौं तर साँस्कृतिक हिसावले संसारमै अव्बल छौं, यसलाई जोगाउन र थप परिस्कृत गर्न नागरिक संगै नगरपालिका संगै छ।” कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारी, नेपाली काग्रेसका विष्णु कुमारी सापकोटा, नेकपा एमालेका प्रकाश काफ्ले, नेकपा माओवादी केन्द्रका राजन सापकोटा, राष्ट्रिय जनमोर्चाका मोहनलाल श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कलाकारहरु उज्जवल गिरि, ओम सेन्चुरी, विष्ण श्रीपाली, गोविन्द वि.सि., विर बहादुर वि.क., कमल बराल लगायतका कलाकारहरूको प्रस्तुती रहेको थियो। कार्यक्रममा वामी विश्व सम्पर्क मञ्चका कार्यवाहक अध्यक्ष डिलाराम खरेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने राजेन्द्र विक्रम कुवँरले सरायँको ऐतिहासिकता झक्झकाउनुभएको थियो।

कार्यक्रम वामी विश्व सम्पर्क मञ्चका सल्लाहकार राम केसीको अध्यक्षता, मुसीकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीको स्वागत मन्तव्य, वरिष्ठ उपाध्यक्ष अनुप पाण्डेको स्वागत गीत तथा महासचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमकै अवसरमा सहयोग दाताहरुलाई सम्मान गरिएको थियो भने अतिथि तथा सहयोगीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो। वामी विश्व सम्पर्क मञ्च, सांस्कृतिक समितिले विगत देखि नै संस्कृति जगेर्नामा भूमिका खेल्दै आएको छ। हरेक २/२ वर्षमा नौमति वाजा प्रतिस्पर्धा गराउँदै आएको सांस्कृतिक समितिले यस वर्ष सरायँनाच प्रतियोगिता आयोजना गरेको हो भने मुसीकोट युवा क्लबले सामाजिक काम गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend