साझा नेटवर्क
साझा नेटवर्क,दाङ् असोज २८ ।
दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बुधवार बसेको बैठकले मूल्य निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले बताए ।
उनका अनुसार जिउँदो खसी २५ केजीभन्दा माथिका प्रतिकेजी ५ सय ६२ रुपैयाँ तोकिएको छ । त्यस्तै खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । बोका १८ केजी भन्दामाथि प्रतिकेजी ५ सय ४२ रुपैयाँ निर्धारण गरिएको प्रमुख सुनारले बताए । मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने समेत उनले बताए । मूल्य निर्धारण हुन नसक्दा खरिदको काम समेत अगाडि बढ्न सकेको थिएन् । सबै क्षेत्रबाट मूल्य ल्याएर समितिले मूल्य निर्धारण गरेको उनको भनाइ छ ।
व्यापार कम्पनीले असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म खसी–बोका खरिद गरेर काठमाडौं पठाउने भएको छ । ढुवानीका लागि सूचना आह्वान गरिसकिएको प्रमुख सुनारले बताए । खाद्य व्यापार कम्पनीले यस वर्ष ७ सय खसी–बोका काठमाडौं लैजाने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend