logo
  • शुक्रबार, असोज ९ २०८३

 अधिकृत साह र लेखा अधिकृत यादवले कार्यालय उद्घाटनमै १४ लाख भन्दा बढीको खर्च देखाई गरे लाखौं भ्रष्टाचार 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया, वीरगंज २४ असोज। बारा जिल्लाको देवताल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह र हालसम्म कार्यरत रहेका लेखा अधिकृत गजेन्द्र कुमार यादवले भ्रष्टाचारको मामिलामा गन्हाई सक्दा पनि कमिसनको सेटिङ्गमा आर्थिक वर्ष २०७८/०७९ मा वडा कार्यालय उद्घाटन खर्च मै १४ लाख भन्दा बढी खर्च देखाई हिनामिना गर्न गराउँदा मलेपको कार्यालयले बेरुजु रकम कायम गरेको छ ।

 मलेपको प्रतिवेदनको क्रम सं. १४ मा गाउँपालिकाले वडा कार्यालय उद्घाटन खर्च ः सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ मा तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा गम्भिर संकट पर्ने अवस्था देखिएमा विशेष परिस्थितिको नियम बमोजिम खरिद कार्य गर्न सक्ने व्यवस्था छ । गाउँपालिकाको वडा कार्यालय र स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर उद्घाटन गर्न नियमन १४५ बमोजिम विशेष परिस्थितिमा उद्घाटन गर्नु परेकाले खरिद अन्य प्रकृया नअपनाई तत्काल खरिद कार्य गर्ने भन्ने व्यवहारको टिप्पणी सदर गरी देहायका टुक्रा बिल पेश गरेको आधारमा कार्यालय सहयोगी छोटेलाल प्रसाद सहनीलाई रु. १४, ११, ९५६ भुक्तानी दिएको छ । स्रेस्तामा पेश भएको टिप्पणी अनुसार उद्घाटन कार्य २०७८-१२-२५ मा हुने भन्ने व्यहोरा उल्लेख भाडापनि कुन मितिमा उद्घाटन कार्य भएको थियो, के कति उपस्थिति थिए र पेश भएको बिल भरपाई अनुसार खर्च पुष्ट्याइँ हुने आधार र प्रमाण पेश भएन । १ दिनको उद्घाटनको लागि रु. ७ लाख २ हजारको टेन्ट भाडा, रु. १ लाखको पिउने पानी र रु. १ लाख ४७ हजारको उद्घाटन ब्यानर खर्चको बिल पेश गरेबाट उक्त बिल तथा खर्चलाई स्वभाविक मान्न सकिदैन ।

 वडा कार्यालय र स्वास्थ्य चौकी उद्घाटन जस्तो नियमित प्रकृयाको कार्यलाई खरिदका अन्य प्रकृया पालना नगरी विशेष परिस्थितिमा खरिदको नियम अनुसार खरिद गर्नु भनी आदेश दिने तथा टिप्पणी सदर गर्ने र भुक्तानी दिने कर्मचारी तथा पदाधिकारीलाई जिम्मेवार बनाउँदै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन भएको, उपस्थिति र वास्तविक खर्च यकिन गरी वास्तविक खर्च भन्दा बढी रकम असुल गर्नुपर्दछ । पेश भएको टिप्पणी, टेन्ट हाउसको पान बिल, होटलको बिल, फ्लेक्स प्रिन्टको बिल र बिल बमोजिम खर्च पुष्ट्याइँ गर्ने प्रमाण बिना भुक्तानी दिएकोमा अनियमितता देखिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजु फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानिनोक्सानी पारेको रकम किटान गरिएको व्यवहारलाई असुल गर्नुपर्ने बेरुजुमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ । भ्रष्ट अधिकृत साह र लेखा प्रमुख यादवले लाखौं-करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारबाही प्रक्रिया अगाडि नबढाउँदा देवतालबासीहरु दांतले औला टोक्न बाध्य भएका छन् ।

 भ्रष्टाचार सन्दर्भमा सूक्ष्म अनुभव बटुलेका अधिकृत साह र यादवले कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८÷०७९ को उदघाटन खर्च मै १४ लाख भन्दा बढी खर्च देखाई भ्रष्टाचार गरेको स्थानीयको आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । तत्कालीन देवतालका अधिकृत साह हाल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका लेखा प्रमुख संजय पटेलको मिलोमतोमा भ्रष्टाचारको ताण्डव नै मच्चाइ रहेको समाचार स्रोतले जनाएको छ । तत्कालीन समयमा अधिकृत साहले देवताल गाउँपालिकामा भ्रष्टाचार गरेकै कारण स्थानीयले उनलाई सरुवा गराई अर्का अधिकृत वकिल पाललाई हाजिर गराउन आन्दोलन नै गरेका थिए । बारा जिल्लाको देवतालमा हुँदा अधिकृत साहले भ्रष्टाचारको कमाईबाट रौतहटको चन्द्रनिगाहपुरमा आलिसान महल, कयौं घडेरी, काठमाडौंमा घडेरी र वीरगञ्जमा करोडौँको अकुत सम्पत्ति आफ्ना आफन्तहरूको नाममा जोडन सफल भएको बताइन्छ भने लेखा अधिकृत यादवको कलैया र वीरगञ्जमा घडेरीहरू रहेको स्रोतले जनाएको छ । भ्रष्ट अधिकृत साह छिपहरमाई गाउँपालिकामा लेखा प्रमुख संजय पटेलको मिलोमतोमा भ्रष्टाचार गर्न तल्लीन रहेको स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend