साझा नेटवर्क
गुल्मी, असोज १९ ।
देशभरका स्थानीय तह कर्मचारीहरूले पेन डाउन गरे सँगै गुल्मीको रेसुङ्गा नगरपालिकाका कर्मचारीहरुले पनि आजदेखि पेन डाउन गरेका छन् । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिको आह्वान अनुसार अत्यावश्यक सेवा बाहेक सबै सेवा अनिश्चितकालको लागि बन्द गरेका हुन ।
आज नगर प्रमुख खिलध्वज पन्थीलाई ध्यानाकर्ण पत्र बुझाउदै कर्मचारीहरुले पेनडाउन सुरु गरेका हुन । स्थानीय सेवाका कर्मचारीहरूको वृत्ति विकास एवं सेवाको सुरक्षा लगायतको विषयमा २० बुँदे माग सहित पेन डाउन गरेको स्थानीय तह कर्मचारी नगर संघर्ष समितिका संयोजक रामचन्द्र खनालले बताएका हुन् ।
संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यक्रम अनुसार रेसुङ्गा नगरपालिकामा पनि अत्यावश्यक बाहेक सबै सेवा बन्द रहेको जानकारी विज्ञप्तिमा उल्लेख छ । दबाबमूलक सङ्घर्षका कार्यक्रममा लाग्नु बाध्यता भएको भन्दै यसबाट सेवाग्राहीमा पर्ने असर प्रति क्षमा मागिएको छ । संघीय निजामती विधेयकमा स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न दबाब स्वरुप कर्मचारीहरू ६ दिन देखि आन्दोलनमा रहेका छन ।
स्थानीय तहका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवावाट हुनुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागू हुन नहुने, समायोजन भएकाहरूको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियन अधिकारी पाउनुपर्ने लगायतका माग राखी काठमाडौं केन्द्रित आन्दोलनमा एक्यवद्धता जनाउदै स्थानीय तहमा पनि दवाव मूलक कार्यक्रम सुरु गरेका हुन्। गुल्मीका १२ वटै स्थानीय तहका कर्मचारीले पेन डाउन गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend