logo
  • शनिबार, साउन ३० २०८३

एउटा प्राणीकाे हत्याकाे प्रदर्शन, अर्काे प्राणीकाे पुजाकाे संरक्षण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-चक्र के सी, गुल्मी ।
आफू बाँच्न र आफ्नाहरुकाे प्राणलाई बचाउने उद्देश्यले गरिने सम्पूर्ण प्राकृतिक कर्महरुलाई धर्म (nature) भनिन्छ । त्यसैले प्राणकाे रक्षा गर्नकाे लागि शारीरिक (physical)गतिविधिमा सक्रिय हुने प्राकृतिक अस्तित्वलाई प्राणी भनियाे हाेला । प्राणीकाे पहिलाे धर्म आफू र आफ्नाहरुकाे प्राणकाे रक्षा हाे । आफू र आफ्नाहरुकाे जीवनलाई सुन्दर बनाउने उद्देश्यले मानव निर्मित सम्पूर्ण कर्महरुलाई संस्कृति(Culture) भनिन्छ ।

सम्पूर्ण साैन्दर्य अनुभवकाे लागि मानसिक(mental) गतिविधिमा सक्रिय रहने प्राणीलाई मानिस भनियाे हाेला । मानिसकाे दाेस्राे धर्म आफू र आफ्नाहरुकाे जीवनलाई सुन्दर बनाउनु हाे । जीवनकाे अन्तिम तथ्य (ultimate Fact)लाई बाेध गर्न सक्ने गरि मनकाे गहिराइमा तटस्थ बस्ने चेतनालाई आत्म (Spirit) भनिन्छ । आफू र आफ्नाहरुकाे स्थिर शान्तिकाे लागि शारीरिक तथा मानसिक कर्महरुमा साक्षीभावमा आत्मिक सम्बन्ध स्थापना गर्ने प्रयासलाई अध्यात्म (spirituality) भनिन्छ ।

छाेटकरीमा,प्राणीहरु शारीरिक कर्महरुमा,मानिसहरु मानसिक कर्महरु र महापुुरुषहरु आत्मिक कर्महरुमा सक्रिय भएकाे देखिन्छ । जसरी शारीरिक कर्महरुमा सक्रिय हुने प्राणीहरुका धेरैजसो कर्महरुलाई मानिसले वेवकुफी सम्झिने गर्दा हुन् ।त्यसरी नै मानसिक गतिबिधिमा सक्रिय हुने मानिसहरुका धेरैजसो कर्महरुलाई महापुरुषहरुले वेवकुफी सम्झिदा हुन् ।

यसरी शरीर (body), मन (mind), आत्म(spirit)काे तुलनात्मक सक्रियताका आधारमा हाम्रा व्यवहारहरुलाई शारीरिक , मानसिक र आध्यात्मिक भनी वर्गीकरण गर्न सकिन्छ । प्राणीले भाैतिक उपस्थिति (existence)काे लागि स्वच्छ हावापानी ,पाैष्टिक खानेकुरा ,आरामकाे लागि संघर्ष गरिराखेकाे हुन्छ । प्राणीहरुकाे खानेकुराकाे निर्माण पनि जैविक पदार्थहरुबाट हुने गर्दछ ।

खाद्यश्रृंखलामा ठूला माछाले साना माछा खाने गर्दछ । मांसाहारी प्राणीले प्राणीहरुकाे मांससेवन गर्दछ, चराचुरुङ्गीले किराफट्याङ्ग्रा खाने गर्दछ। शाहाकारी प्राणीले वनपतिजन्य पदार्थहरु सर्वाहारी प्राणीले मांस तथा वनस्पतिजन्य पदार्थ दुवै खाने गर्दछ । प्राकृतिक सन्तुलनकाे आवश्यकता अनुसार प्रकृतिले नै मांसाहारी, शाकाहारी र सर्वाहारी प्राणीहरुकाे अस्तित्वकाे छनाैट गरेकाे छ । प्राणरक्षाकाे सवालमा मानिस सर्वहारी प्राणी हाे ।

मानवीय जीवनलाई अरु सुन्दर बनाउनकाे लागि मानिसकाे मानसिक अवस्था -मनकाे अवस्था-मनकाे स्थिति -मनस्थितिकाे प्रमुख भुमिका रहन्छ । स्वभाविक रुपमा गतिशीलता मानवीय मनकाे स्थिति हाे । त्यसैले मानसिक तहमा आफ्ना गतिविधिहरु सन्चालन गर्ने सामान्य मानिसले बाहिरकाे परिस्थिति अनुसार आफ्ना आन्तरिक व्यवहारहरुमा परिवर्तन देखाउछ थाल्दछ । फेरि बारम्बार दाेहाेर्याइएकाे मानसिक गतिविधिले नशा(आदत)काे निर्माण गराउँदछ ।

धार्मिक आस्था, साँस्कृतिक अनुभव, सामाजिक मूल्य, लाेकतन्त्रका मान्यता, राष्ट्रियता सबै मानसिक तहमा निर्माण भएका भावनात्मक नशाहरु हुन् । यस प्रकारकाे नशामा कुनै पनि चिजमा विश्वास गर्नु पर्ने आवश्यकता मानसिक हाे । एउटा व्यक्तिकाे मानसिक विश्वासका विरुद्ध अर्काे व्यक्तिकाे विश्वासकाे संघर्ष शुरु हुन्छ । त्यही विश्वासकाे सुरक्षा गर्ने मानसिक द्वन्द्वमा असल र खराबकाे छुटाउने विवेक समेत गुमाउन पुग्दछ ।

आत्मा हाम्रा सम्पूर्ण गतिविधिहरुकाे साक्षी मात्र हाे । आत्मकाे गुणमा आफ्ना व्यवहारहरु रुपान्तरण गर्ने प्रयास अध्यात्म हाे ।अर्काे शब्दमा अध्यात्म त्याे तटस्थ भाव हाे जसले मानिसलाई स्थिर शान्तिकाे दिशामा प्राेत्साहन गर्दछ । विश्वका सम्पुर्ण धार्मिक सम्प्रदायहरुकाे मुख्य उद्देश्य मानिसलाई आध्यात्मिक बनाउने हाे । यदि हाम्रा धार्मिक, सामाजिक तथा राजनीतिक नेतृत्वहरु आध्यात्मिक भइदिएको भए हामीले अपेक्षा गरेकाे धार्मिक सामाजिक तथा राजनैतिक सद्भाव यसरी तरङ्गित हुने थिएन हाेला ।

आस्था, जात, भाषा, नश्ल, पेशा सबैलाई एउटा मालामा बाँध्ने भनेकाे अध्यात्मकाे धागाेले हाे । आफ्ना आन्तरिक कमजाेरीहरुकाे व्यवहारिक रुपान्तरण गर्ने साधना अध्यात्म हाे । धर्म आस्थाकाे यात्रा हाे, अध्यात्म अनुभवकाे यात्रा हाे । आस्था र विश्वासका हाम्रा व्यवहारहरु सापेक्षित सत्यतामा आधारित हुने हुनाले व्यक्ति, परिवार र समुदायमा धार्मिक द्वन्द्व सिर्जना हुने गर्दछ ।

कुनै पनि प्राणीकाे बाँच्न पाउने अधिकारकाे संरक्षण गर्ने अभिभावकीय जिम्मेवारी मानिसकाे हाे । मांससेवन नगर्नेहरुका लागि जुनसुकै प्राणीकाे हत्या पनि हत्या नै हाे । हामीले आ-आफ्नाे स्वार्थ अनुसारकाे आस्था र विश्वास निर्माण गरेका छाैं । सबैभन्दा उत्तम मांससेवन नगर्नु- दाेस्राे उत्तम मांससेवन गर्नेहरुप्रति घृणा नगर्नु । आफ्नाे कर्महरुकाे छनाैट गर्ने हकदार र आफ्ना कर्महरुकाे नतिजाकाे भाेकदार पनि हामी आफैं हाे ।

हामी आफ्ना कर्महरुलाई आध्यात्मिक बनाउने प्रयास गराैं तर अरुका कर्महरुकाे धार्मिक ठेकेदार बन्ने प्रयास नगराैं । एकपटक हामीले हाम्रा धर्म-संस्कृति भित्रका सम्पुर्ण व्यवहारहरुकाे तथ्यगत पुनर्विचार र पुनर्मुल्याङ्कन गर्ने बेला आएकाे छ । मान्छेले नै मान्छेलाई पशुप्राणी भन्दा निकृष्ठ अछुत देख्ने तर पशुप्राणीकाे पुजा-संरक्षणकाे लागि मान्छेकाे हत्या गर्न तयार हुने आस्था र विश्वास कसरी धार्मिक हुदाे हाेला ।

धार्मिक -सांस्कृतिक उत्सवहरुमा खुल्ला रुपमा गरिने प्राणीहत्या प्रदर्शनले हामीलाई मानसिक रुपमा मानव हत्याकाे प्रशिक्षण दिएकाे छ ।किस्ता किस्तामा अनन्ततर्फ जाने प्रयास गरिराखेका छाै । एउटा प्राणीकाे हत्या प्रदर्शन र अर्काे प्राणीकाे पुजा प्रदर्शन गर्ने विराेधाभासपूर्ण संस्कृतिले हामीलाई मानसिक तथा सामुदायिक द्वन्द्वमा लगेकाे छ ।

सार्वजनिक स्थलहरुमा कुनै पनि प्राणीकाे प्रदर्शन गर्ने कानुनकाे निर्माण गरिनु पर्दछ । हाम्रा धार्मिक आस्था तथा विश्वासले हामीलाई सामाजिक सद्भाव सिकाउनु पर्दछ । हामीलाई आत्मिक सम्बन्धमा जाेड्न सक्नु पर्दछ । एउटा व्यक्तिले अर्काे व्यक्तिकाे आस्था र विश्वासकाे अस्तित्वलाई स्विकार गर्न सक्ने धार्मिक सहिष्णुता नै आध्यात्मिक यात्राकाे शुरुवात हाे ।

निरपेक्ष अध्यात्मले निरपेक्ष राज्यकाे खाेजी गर्दछ । प्राकृतिक नियम र सामाजिक न्याय स्थापना गर्ने गतिशील संविधान,ऐन,कानुनहरु समय सन्दर्भ अनुसार निरपेक्ष तथ्यहरुकाे दिशामा परिमार्जन हुने निश्चित छ । बहुसंख्यक जनताकाे आस्था नै राज्यकाे आस्था हुने भने अल्पसंख्यक जनताले आफ्नाे राज्यकाे खाेजीकाे शुरुवात गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend