साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगञ्ज, भदौ ७ ।
भदौ ८ गते वीरगञ्जको नगर सभागृहमा समाजवादी मोर्चा सम्बद्ध दलका केन्द्रीय अध्यक्षहरुले सम्बोधन गर्ने प्रदेश स्तरीय सन्देशसभा तथा अन्तरक्रिया कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मञ्च व्यवस्थापन तथा स्वयम सेवक परिचालन कमिटीका संयोजक प्रभाकर गुप्ताले बताउनु भयो ।
मोर्चाको यही भदौ ४ गते सम्पन्न बैठकले मोर्चा गठनको औचित्य , मोर्चाको आवश्यकता अनि सहकार्य सातै प्रदेशमा पुर्याउन सन्देशसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने निणर्य गरेको थियो । मधेस प्रदेशमा मोर्चाले पहिलो सन्देशसभा तथा अन्तिरक्रिया कार्यक्रम गर्न थालेको र यहाँको व्यवस्थापनको जिम्मेवारी जनता समाजवादी पार्टीलाई परेपनि मोर्चा सम्बद्ध सबै दलका स्थानीय नेताहरुको सामुहिक बैठकबसी सन्देश सभाको तयारी एंव व्यवस्थापन गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताउनु भयो ।
वीरगञ्जमा भदौ ८ गते हुन लागेको सन्देशसभा तथा अन्तरक्रिया कार्यक्रम भव्यरुपमा सफल पार्न मोर्चा सम्बद्ध दलका नेताहरुको बैठकले बिभिन्न समितिहरु समेत गठन गरेको थियो ।
वीरगञ्जको नगर सभागृहमा हुने सन्देशसभालाई मोर्चाका नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मोर्चाले सन्देशसभा र अन्तरक्रियामा धेरैभन्दा धेरै सहभागिता जुटाउनका मधेस प्रदेशका आठै जिल्लामा सन्देशसभामा आउनको लागि आवश्यक व्यवस्थापन गरिएको बताईएको छ । पर्सा जिल्लाको गाँऊगाँऊबाट पार्टीका नेता कार्यकर्ता ल्याउन गाँऊमा नै मोर्चा सम्बद्ध पार्टीहरुले आ आफ्ना पार्टीका अगुवा कार्यकर्ता परिचालन गरेको बताईएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सहित बिभिन्न दलका अध्यक्षहरु सहभागी हुने भनिएकाले सुरक्षाका लागि कार्यक्रमस्थलको सुरक्षा व्यवस्था कडा पारिने स्थानीय प्रशासनले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend