logo
  • शुक्रबार, असोज ९ २०८३

धादिङ बस दुर्घटनाः मृतक चार जनाको सनाखत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहरामा काठमाडौंबाट पोखराहुँदै बेनीतर्फ गैरहेको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल तथा कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको सनाखत भएको छ । दुई महिला तथा छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

मृतक एक महिला र तीन पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टर बाट तथा दुई जनाले इसेवाबाट टिकेट काटेका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका थिए । सहचालक तामाङ सकुशल छन् ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १७ जना घाइते छन् । १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक तामाङ तथा बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् । गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले यात्रुहरुको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend