साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन २० ।
बडिगाड गाउँपालिकामा चालु वर्षको लागि एकिकृत ग्रामीण मोवाईल स्वास्थ्य सेवा कार्यक्रम शुक्रवार देखि सुरु भएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङमा कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने उद्धेश्यले यो सेवा सुरु गरिएको बताउनु भएको छ ।

अध्यक्ष अधिकारीले यो सेवा विशेषगरि महिला र वृद्धमा केन्द्रित हुने बताउँदै अशक्तको लागि घरमै पुगेर जाँच गर्ने योजना रहेको जानकारी दिनुभयो । “स्वास्थ्यको बजेट खर्च होइन, लगानी हो” भन्ने नारासहित सुरु गरिएको एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा कार्यक्रम प्रत्येक महिना गाउँपालिका भित्रका भिन्न भिन्न स्थानमा सञ्चालन हुनेछ।
सो उद्घाटन कार्यक्रम आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता, स्वास्थ्य सहायक डिल बहादुर केसिको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र केसिले एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रमको सम्पादित कार्यक्रम सहित वार्षिक प्रगति प्रतिवेदन तथा स्वास्थ्य सहायक सुदिप रञ्जन यादवले आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेत नारायण भण्डारी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष दिपेन्द्र प्रताप केसि, गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर श्रीस लगाएतको सहभागिता रहेको थियो। यसैविच आज भएको स्वास्थ्य जाँच कार्यक्रममा डा. कुन्दन कुमार यादव नेतृत्वको स्वास्थ्यकर्मिहरुको टोलीले स्वास्थ्य जाँच गरेको छ।
जस अन्तरगत ३० जना गर्भवतीहरुको भिडियो एक्सरे, ४ जनाको ए.एन.सि. प्याकेज जाँच, २० जनाको रगत जाँच तथा परिक्षण, १ जनाको खकार नमुना संकलन, ५३ जनाको स्वास्थ्य जाँच, १ जनाको इम्प्लान्ट सेवा, २८ जनाको तौल अनुगमन र ८६ जनालाई स्वास्थ्य शिक्षा तथा परामर्श सेवा दिइएको स्वास्थ्य सहायक डिल बहादुर केसिले जानकारी दिनुभएको छ । पाठेघरको मुखको क्यान्सर जाँच भिआइए सेवा पनि सञ्चालन गर्ने भनिएपनि भिआइए सलुसन अभावको कारण यो पटक जाँच गर्न नसकिएको तर अर्को पटक गर्ने योजना रहेको स्वास्थ्य सहायक केसिले जानकारी दिनुभएको छ।
यसैविच विश्व स्तनपान सप्ताहको अवसरमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले हजार दिनका आमाहरुको लागि स्तनपानको महत्व विषयमा प्रशिक्षण दिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङमा भएको कार्यक्रममा स्वास्थ्य सहायक हेम पुनले सो प्रशिक्षण दिनुभएको हो। “स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिवद्धता” भन्ने नारासहित यस वर्ष श्रावण १६ गते देखि २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइदैछ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend