साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी असार १४ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले रैथाने बालीको संरक्षण एवं प्रवर्द्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको वडा नं १३ अन्तर्गत उपल्लो भँगारीमा रहेको रेसुङ्गा होम स्टेलाई रैथाने बाली संरक्षण गर्दै सञ्चालन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले रैथाने बालीको संरक्षण गरेर आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनु भएको छ । उहाँले विगतमा कोदो, फापर, जौ, भटमास जस्ता रैथाने बालीलाई नचिनेर चामल मात्रै खाँदा सुगर, ब्लडप्रेर जस्ता रोग लाग्न थालेको बताउनु भयो । उहाँले परम्परागत खानालाई संरक्षण गर्दै स्वास्थ्य बचाउनका लागि पनि यो कार्यक्रम ल्याइएको बताउनु भयो ।
पर्यटनको विकासबाट यस्ता प्रकारका रैथाने बालीको प्रवर्द्धन गर्न सजिलो हुने पन्थीको भनाइ छ । रेसुङ्गालाई पर्यटकीय गन्तव्यस्थल बनाउन नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानले थप सहयोग पुग्ने उहाँले बताउनुभयो । रैथाने बालीको संरक्षणबाट गुल्मी आउने पर्यटकलाई गुल्मीको पहिचान खाना, भेषभुषा, नाचगान, परम्परागत रहनसहन र विभिन्न जातिका संस्कार जस्ता कुराको विकासमा टेवा पुग्ने बताइएको छ ।
पहाडी क्षेत्रमा रैथाने बालीहरु लोप हुँदै गएको सन्दर्भमा ती बालीहरुको संरक्षण गर्दै व्यावसायिक उत्पादन बढाउने उद्देश्यले नगरपालिकामार्फत् यो कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रमले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई माथि उकास्न थप सहयोग पुग्ने आशा लिइएको छ ।
पछिल्लो समयमा जिल्लाका अन्य गालिकाहरुले पनि आफ्नो नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend