साझा नेटवर्क
गुल्मी, असार ११ ।
गुल्मीमा लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ । दिवसको अवसरमा प्रभातफेरि तथा सतेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र रेसुङ्गा नगरपालिकाको संयुक्त आयोजनामा जनचेतनामुलक सन्देश, ब्यानर र प्लेकार्ड सहितको प्रभातफेरिले बजार परिक्रमा गरिएको थियो ।
प्रभातफेरिपछि आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक नविन किशोर प्रधानले जिल्लामा लागु औषध दुरुपयोग तथा ओसारपसारको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रधानले जिल्लामा लागु औषध दुरुपयोग तथा ओसारपसारको ठुलो समस्या नभएपनि प्रयोगकर्ताहरु बढ्न थालेको बताए ।
उनले लागु औषध प्रयोगकर्ताहरुको बिषयमा प्रहरी र प्रशासनमा गुनासाहरु बढिरहेकाले दुरुपयोग तर्फ सवै सचेत रहनुपर्नेमा जोड दिए । प्रधानका अनुसार जिल्लामा ०७६ देखि अहिलेसम्म तीन जना बिरुद्ध लागु औषध दुरुपयोग तथा ओसारपसारको मुद्धा चलेको छ । उनले बजारमा केहि युवा तथा बिद्यार्थीहरुले होटल, डाँडा र चोकहरुमा बसेर लागु औषध सेवन गरिरहेको बताउँदै नियन्त्रणमा लिएर सम्झाएर छोड्ने काम भएकाले आगामी दिनमा कारबाहीनै अगाडी बढाउने बताए ।
त्यस्तै होटलहरु पनि सचेत सहन पर्ने, परिवारले आफ्नो सन्तानको गतिविधी नियन्त्रण गर्नुपर्ने अवस्था रहेको प्रधानले बताए । उनले गाँजा फँडानी, बिद्यार्थी बिद्यालय सचेतना र समुदाय स्तरमा समेत सचेतनाका काम प्रहरीले गरिरहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लागु औषध सदुपयोगले आर्थिक समृद्धि हुने र दुरुपयोग हुँदा जीवन बर्बाद हुने बताए । उनले प्रहरीको समुदाय र बिद्यार्थी सचेतनासहित स्थानीय तहहरुले पनि अभियानहरुलाई जोड दिनुपर्नेमा जोड दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend