साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग असार १० ।
समृद्ध बडिगाड, खुशी बडिगाडवासी भन्ने लक्ष्य सहित आर्थिक वर्ष २०८०/८१ को लागि बडिगाड गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक भएको छ। बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले सनिवार १३ औं गाउँसभाको बैठकमा प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा जनप्रतिनिधि शासक होइन, जनताका सेवक हुन् भन्ने मान्यतामा रहेर काम गर्ने उल्लेख गरिएको छ।
सुशासन तथा संस्थागत विकासमा भ्रष्टाचारमा शुन्य सहनशिलता सुशासनको प्रतिवद्धता भन्ने नारालाई अगाडि सारिएको निति तथा कार्यक्रममा प्रत्येक महिनाको मसान्तमा हेल्लो बडिगाड सेवा सुरु गर्ने, प्रत्येक वडामा घुम्ती रुपमा कार्यपालिका बैठक संचालन गर्ने, विपद्लाई मध्येनजर गर्दै गाउँपालिका अध्यक्ष प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने, आयोजनाहरुलाई दिगो बनाउन आयोजना सुरक्षा कोष स्थापना गर्ने उल्लेख गरिएको छ।
पशु विकास तर्फ पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर गराउन कार्यक्रम सञ्चालन गर्ने भनिएको छ। कृषि विकास तर्फ कृषि उपज खरिद गरि बजार व्यवस्थापन गर्न कृषि उपज संकलन केन्द्र तथा हाटवजार सञ्चालन गर्ने, कृषि उत्पादनको न्यूनतम समर्थन मुल्य र खरिद विक्रि मुल्य तोकिने पनि उल्लेख गरिएको छ। त्यस्तै परम्परागत तरकारी खेतीहरुलाई संरक्षण र उपभोगमा जोड दिने पनि नितितथा कार्यक्रममा उल्लेख गरिएको छ।
बाँझो जमिनलाई भाडामा लगाएर खेति गर्ने योजना रहेको निति तथा कार्यक्रममा सामुदायीक नर्सरी स्थापना गर्ने तथा रैथाने बाली संरक्षणको समेत योजना रहेको छ। कृषिमा भैपरि आउने प्राकृतिक प्रकोप तथा बालिमा क्षति पुर्याउने बाँदर, दुम्सी लगाएतको क्षति कम गर्न प्रविधिको परिक्षण र प्रयोग गरिने भएको छ।
पालिका भित्र आन्तरिक राजश्व वृद्धि गर्न राजश्व योगदानको आधारमा बजेट वृद्धि नारा सहित योजना प्रदान गर्ने, सफ्टवयेर मार्फत राजश्व संकलन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै निति तथा कार्यक्रममा पर्यटन तथा संस्कृति तर्फ पर्यटकीय स्थल सम्भाव्यताको अध्ययन गरि पाइलट पर्यटकीय प्रोजेक्ट सुरु गर्ने, धार्मिक तथा ऐतिहासिक मठमन्दिर संरक्षण गर्ने, भाषा कला तथा संस्कृतिको संरक्षण गर्ने, तथा गाउँपालिकाको एक स्थानमा परम्परागत सिपमा आधारित नमुना जनजाति वस्ति तथा स्मार्ट भेलेज कार्यक्रम अगाडि बढाउने उल्लेख गरिएको छ।
सहकारी नियमन र प्रवद्र्धन तर्फ सहकारी शिक्षालाई अभियान बनाई वडा तहमा तालिम दिने, पालिका स्तरीय सहकारी सञ्जाल गठन गर्ने, सहकारी कै साझेदारीमा बातावरणमैत्री नमुना गाउँ स्थापना प्रक्रिया अगाडि बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
युवा रोजगार तथा स्वरोजगार तर्फ निति तथा कार्यक्रममा बैदेशिक पलायन न्यूनिकरणको लागि गाउँपालिका अध्यक्ष स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, अध्यक्ष उद्यम विकास कार्यक्रम मार्फत युवा रोजगार तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने, ढुंगाखानीको अध्ययन गरि बैधानिक रुपमा उद्योग सञ्चालन गर्ने उल्लेख गरिएको छ।
सामाजिक विकास अन्तरगत शिक्षा तथा खेलकुद तर्फ जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने अभियानलाई सार्थक बनाउने, गाउँपालिका करार शिक्षकको व्यवस्था गर्ने, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, आधारभूत तह उत्र्तिण परीक्षामा ५० प्रतिशत विद्यार्थी उत्र्तिण गराउन नसक्ने विषयगत शिक्षकलाई कारवाहि गर्ने, शिक्षक परिचय पत्रको व्यवस्था गर्ने, विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न ५ हजार भन्दा बढि नगद वा जिन्सी चन्दा सहयोग गर्ने सहयोग दातालाई गाउँपालिका बाटै सम्मानको व्यवस्था गर्ने, विद्यालयमा गाउँपालिका अध्यक्ष संग मेरा कुरा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।
त्यस्तै सरकारी वेतनधारी तथा जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायीक विद्यालयमै भर्ना गर्नुपर्ने विषयमा पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। बडिगाड गाउँपालिकाको निति तथा कार्यक्रममा स्वास्थ्य तर्फ आँखा अस्पताल संचालनको प्रक्रिया अगाडि बढाउने, स्थानिय जडिवुटिको व्यवस्थापन र उपयोगवाट आयुर्वेद चिकित्सा प्रणालीलाई थप प्रभावकारी गराउने, एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा लगाएतका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
एक महिला स्वास्थ्य स्वयंसेवीका एक फस्ट एड वक्स कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा बगैँचा निर्माण गर्ने, जनतासँग गाउँपालिका अध्यक्ष निशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी गराउने, आ.व. २०८३/८४ भित्र बडिगाड गाउँपालिकालाई पोषण मैत्री स्थानिय तह घोषणा गर्ने, अभिभावक विहिन बालवालिका तथा अति विपन्न परिवारका बालवालिकाहरुलाई आवासिय अध्ययनको व्यवस्था मिलाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
पूर्वाधार विकास तर्फ गाउँपालिकाले नै हुमपाइप खरिद गरि आवश्यक स्थानमा राख्ने, स्थायी सडक निर्माण गर्दा आरसिसि ढलानलाई प्राथमिकता दिने, बजार क्षेत्रमा ढल निर्माणमा २० प्रतिशत जनश्रमदानको व्यवस्था गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
भवन तथा सहरी विकास तर्फ भवन तथा योजना मापदण्ड २०८० कडाइका साथ कार्यान्वय गर्ने, भवन निर्माणमा नक्सापास अनिवार्य गर्ने, १० वटै वडामा योजना खाता, सम्झौता तथा फरफारक सम्बन्धि २ दिने तालिम संचालन गर्ने, योजना खाता लागु गर्ने, प्रत्येक वडामा प्राविधिक सेवा र प्रत्येक वडामा झोलुंगेपुल हेरालु राख्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
खानेपानी तथा सरसफाई तर्फ गाउँपालिकामा समुदायवाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनाको विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने, फोहर मैला व्यवस्थापनको लागि डम्पिङ साइडको व्यवस्था गर्ने, विभिन्न सार्वजनिक क्षेत्रमा २ हजार बर पिपल जस्ता विरुवा लगाउने लगाएतका कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ। २७ पेज लामो निति तथा कार्यक्रममा अघिल्लो वर्षका कैयौं कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केहि कार्यक्रम हटाइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend