साझा नेटवर्क
गुल्मी, असार १० ।
रेसुङ्गा नगरपालिका गुल्मीको आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरसभामा पेस भएको छ । नगरपालिकाको कुल बजेट ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० हुने भएको छ । नगर उप-प्रमुख अमृता देवी कुँवरले १३ औं नगरसभाको दोस्रो बैठकमा प्रस्तुत गर्नुभएको बजेट चालु एवं साधारण खर्च रु. ५४ करोड ६८ लाख ६६ हजार ७ सय ६० पूंजीगत एवं विकास बजेट रु. १७ करोड २० लाख १२ हजार सार्वजनिक गर्नुभएको छ ।

नगरसभाले आ.व. २०८०/८१ को निति तथा कार्यक्रम सर्वसम्मत पास गरेको छ भने बजेट तथा आर्थिक ऐन पेस गरेको छ ।बजेटमा आर्थिक विकासतर्फ १ करोड १९ लाख, सामाजिक विकासतर्फ ४० करोड ८५ लाख ७१ हजार ७ सय ६०, पूर्वाधार विकासतर्फ १५ करोड ९९ लाख , वातावरण तथा विपद व्यवस्थापन ७० लाख, संस्थागत तथा प्रशासिनकतर्फ १२ करोड ४५ लाख ७ हजार विनियोजन भएको छ । नगर प्रमुख खिलध्वज पन्थीले प्रस्तुत गर्नु भएको बजेटको सारांस निम्नानुसार रहेको छ ।

आदरणीय नगरसभाका सभासद्ज्यूहरु,
नेपालको संविधानमा निर्दिष्ट मौलिक हक तथा नागरिक कर्तव्य, संविधानले प्रत्याभूत गरेको स्थानीय सरकारको अधिकार क्षेत्र, दीगो विकास लक्ष्य, आवधिक योजनाले तोकेका प्राथमिकताहरु, नेपाल सरकारले प्रकाशन गरेको बजेट तर्जुमा दिग्दर्शन लगायत स्थानीय जनताको माग, चाहना तथा आवश्यकता, स्थानीय सरकारमा भएको स्रोत साधनको उपलब्धता तथा विभिन्न सरोकारवालाहरुसँग विभिन्न चरणमा व्यापक छलफल पश्चात आ.व. 080/81 को लागि पारित भएको नीति तथा कार्यक्रमलाई प्रमुख आधार मानी यो बजेट तथा कार्यक्रम तयार गरेको छु ।
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
अव म रेसुङ्गा नगरपालिकाको “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान¨ भन्ने नारालाई साकार पार्न यस रेसुङ्गा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
आर्थिक विकासतर्फ
कृषि र पशुपक्षी विकास
सामूहिक प्रयासबाट प्राप्त हुने खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यम तथा उद्योगको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन र यातावरण तथा जैविक विविधताको संरक्षण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि र विविधीकरण, व्यावसायीकरण र औद्योगिकीकरणका माध्यमबाट किसानको आम्दानी वृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भर कृषि क्षेत्र अवको हाम्रो मार्गचित्र हो।कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा कृषि मार्फत रोजगारी सिर्जना एवं पशुपंक्षी विकासमार्फत आयआर्जनको लागि कुल रु ९३ लाख विनियोजन गरेको छु ।
सहकारी, उद्योग तथा वाणिज्य
लगानीको प्राथमिकीकरण, उत्पादन र उत्पादकत्व वृद्धि गर्न बजार मागअनुसार निजी क्षेत्रसँग सहकार्य गरी विकासका कार्यक्रमहरु अगाडि बढाउने नीति लिइएको र सोही अनुसार सरकारी, सार्वजनिक निजी साझेदारी अवधारणा अवलम्बन गरिनेछ।सोही अनुरुप सहकारी विकास, उद्योग तथा वाणिज्य क्षेत्रको विकासको लागि रु. १७ लाख विनियोजन गरेको छु ।
पर्यटन
पर्यटन प्रवर्द्धनका लागि निश्चित रणनीतिका पर्यटन विकास तथा प्रर्वद्धनका लागि गन्तव्य विकास, स्रोत बजारको पहिचान/प्रवर्द्धन र क्षमता विकासलाई आधार बनाई पर्यटन विकासको क्षेत्रमा अघि बढ्ने गरी कार्यक्रमलाई अघि बढाइएको छ । सोही अनुसार २०८०/८१ लाई रेसुङ्गा भ्रमण वर्षको रुपमा १ लाख पर्यटक भित्राउने अभियान अन्तर्गत जाउँ हिड रेसुङ्गा अभियान संचालन गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा र अर्जुन क्षेत्र लगायत पर्यटकीय क्षेत्रको समग्र विकासको लागि संघ र प्रदेश सरकारवाट वजेटको सुनिश्चितता गरिएको छ । सो बाहेक पर्यटन क्षेत्रमा थप टेवा पुर्याउनका लागि रु. १३ लाख विनियोजन गरेको छु ।
सामाजिक विकासतर्फ
शिक्षा
संविधानको अनुसुची ८ र ९ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहको लागि सुनिश्चित गरेका काम कर्तव्य तथा अधिकार कार्यान्वयन गर्न आगामी वर्षका लागि स्थानीय तहको विकास र समुन्नतीका लागि हाम्रा देहायका प्राथमिकता र संकल्प रहनेछन्।
नगर क्षेत्रभित्रको शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तर प्रवर्द्धन गर्न सशर्त अनुदान तर्फको कुल रु. २० करोड ६८ लाख र निशर्त अनुदान तर्फ १ करोड ६५ लाख गरी जम्मा रु २२ करोड ३३ लाख वजेट विनियोजन गरेको छु ।स्वास्थ्य तथा जनसंख्या निशुल्क आधारभुत स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ्य सेवामा सहजता पहुँच सुनिश्चित गर्न निम्न सङ्कल्पका साथ कार्यहरु गरिनेछ।
सवै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा, स्वास्थ्यचौकीहरुको व्यवस्थापन सुधार, तम्घास अस्पतालको व्यवस्थापन जस्ता समग्र स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि सशर्त अनुदानतर्फ रु २ करोड ७५ लाख ३ हजार र निशर्त अनुदान तर्फ रु. ८१ लाख ८१ हजार गरी जम्मा रु. ३ करोड ५६ लाख ८४ हजार रकम विनियोजन गरेको छु ।
मझेङ्ग खानेपानी योजनाको पहिलो चरणको कार्य सम्पन्न गर्नको लागि समपूरक रकमको व्यवस्था मिलाएको छु ।यसवाट नगरपालिकाका १४ वटै वडाका जनतामा स्वच्छ, सफा खानेपानीको सहज पहुँच पुग्नेछ भन्ने आशा लिएका छौं।तत्काल खानेपानीको आवश्यकतालाई पुरा गर्न साना तथा अति आवश्यक भएको स्थानका खानेपानी योजनाहरु तथा सरसफाई सम्बन्धी कार्यक्रम संचालन गर्नको लागि रु १ करोड रुपैया विनियोजन गरेको छु ।
दलित, जनजाति, महिला, वालवालिका, अपाङ्ग, जेष्ठ नागरिक, मुस्लिम तथा युवा वर्गलाई लक्षित गरी विभिन्न चेतनामूलक, सिपमूलक तथा आयआर्जनका कार्यक्रम संचालन गर्न र सस्कृति संरक्षण, खेलकुद तथा मनोरञ्जन प्रर्वद्धनका लागी कुल रु 52 लाख विनियोजन गरेको छु ।
स्थानीय सरकारले जनताका आवश्यक्ता, साधन श्रोतको विवेकसम्मत प्रयोग र प्राविधिक पक्षलाई विचार र कार्य सम्पादन गर्दा मात्र दिगो विकासको आधार निर्माण हुनेछ भन्ने मुल्य मान्यता राखी स्थानीय पुर्वाधार निर्माण गर्नेछौं।
सहभागीतामूलक योजना तर्जुमा प्रकृया अन्तर्गत वस्तीस्तरवाट माग भएका भौतिक पूर्वाधारका कार्यक्रमहरुलाई प्राथमिकताको आधारमा वजेट विनियोजन गरेको छु ।नगरपालिका भित्र रहेका मोटरबाटो तथा पुलहरुको निर्माण, स्तरोन्नत्ति एवं मर्मत संभारका लागि प्रर्याप्त बजेटको व्यवस्था गरेको छु ।
जनतालाई सेवा प्रवाहमा सहजता ल्याउन सबै वडाहरुमा वडा कार्यालय निर्माण गर्ने नीति बमोजिम चालु आ.व.मा वडा नं. ३ को वडा कार्यालयलाई रु १ करोड र वडा नं. १०, ११ र १२ का वडा कार्यालयका लागि ६०/६० लाखका दरले २ करोड चालिस लाख रकम विनियोजन गरेको छु । सबै वडाहरुमा १/१ वटा गौरवका योजना संचालन गर्नका लागि रु २० लाख देखि ६० लाख सम्म वजेटको व्यवस्था गरेको छु । सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरका छाना मुक्त नगर घोषणा गर्ने गरी कार्यक्रमलार्इ अगाडी बढाइएको छ । यसरी नगरपालिकाको समस्त स्थानीय भौतिक निर्माणको लागि कूल १६ करोड १९ लाख रकम विनियोजन गरेको छु ।
विपद पुर्वतयारीका सम्पूर्ण गतिविधि, मानव संशाधन व्यवस्था, तालिम तथा क्षमता विकास, औजार, साधनस्रोतको व्यवस्था, स्वयंसेवक टोलीको व्यवस्था, सरकारवालाको समन्वय र सहजीकरणका माध्यमबाट विपदमा हुने क्षति कम गर्न र उत्थानसिलता वृद्धि गर्ने संकल्प लिएका छौं। सोही अनुरुप सफा र स्वच्छ शहर, जनताको रहर नारालाई साकार पार्न तम्घास बजारको फोहोरमैला व्यवस्थापन, वन तथा भु संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण र विपद व्यवस्थापनका लागि रु ७० लाख रुपैया विनियोजन गरेको छु ।
सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, मितव्ययी, निस्पक्ष, पारदर्शी, बनाई सर्वसाधारण नागरिकमा सुशासनको प्रत्याभुत गराउन राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिहरुको क्षमता विकास तथा उचित प्रोत्साहनका लागि विभिन्न तालिम, गोष्ठि, अनुशिक्षण,अवलोकन भ्रमणको व्यवस्थाका लागि आवश्यक रकम विनियोजन गरेको छु । नगरप्रहरीको पारिश्रमिक न्यून रहेकोले मासिक रु. ३००० वृद्धि गरेको छु। दमकल चालकलाई मासिक रु. २००० र दमकल सहायकलाई मासिक रु. १००० वृद्धि गरेको छु।
विद्यालयका लेखापालको मासिक रु. २००० र विद्यालयका कार्यालय सहयोगी र वालविकास केन्द्रका सहजकर्ताहरुको मासिक पारिश्रमिकमा रु.१००० वृद्धि गरेको छु। त्यसैगरी सामुदायिक सिकाइ केन्द्रका परिचालकको न्यूनतम् पारिश्रमिकमा रु. ७००० थप गरी रु. १५००० पुर्याएको छु ।
स्वीकृत दरबन्दीभित्र नगरकार्यपालिकाको कार्यालय र मातहतका निकायमा सेवा करारमा नियुक्ति भएका कर्मचारीहरुको मनोवल उच्च बनाई कार्यसम्पादनमा प्रभावकारिता ल्याउन एकवर्ष सेवा अवधि पूरा भएका करार सेवाका कर्मचारीहरुको मासिक तलवबाट ५% कट्टी गरी नगरपालिकाबाट सोही अनुपातमा रकम थप गरी संचित गर्ने व्यवस्था मिलाएको छु।
उपल्लो तम्घासमा रहेको सुस्त मनस्थिति र बहिरा विद्यार्थिका लागि सञ्चालित स्रोतकक्षाको होस्टेलमा कार्यरत आयाहरुको तलवमा मासिक रू. १५०० थप गरि रु. १५००० पुर्याएको छु।सेवा प्रवाहमा प्रभावकारिता ल्याउन चालु बजेट तर्फ कुल रु १२ करोड ४५ लाख विनियोजन गरेको छु ।
यसरी समग्र विषयगत क्षेत्रको समानुपतिक विकासको लगि देहाय अनुसार क्षेत्रगत वजेट विनियोजन गरेको छु ।
आदरणीय नगरसभाका सभासद्ज्यूहरु,
संविधानको रक्षा र कार्यान्वयन गर्दै त्यसकै जगमा मुलुकलाई समुन्नतितर्फ डोराउनु नै आजको मुख्य जिम्मेवारी भएको मनन् गर्दै यसको आदर्श र श्रेष्ठतालाई जुझारु, कर्मठ, स्वाभिमानी र ईमान्दार नगरबासी नागरिकको अनवरत स्नेह र समर्थनको आत्मविश्वासका साथ अगाडी बढ्ने अठोटका साथ संघीय लोकतान्त्रिक गणतन्त्रको सिमाभित्र “विविधता बीचको एकता-आम नगरवासीको प्रतिवद्धता” भन्ने मान्यताका साथ समुन्नत नगरको आफ्नो ध्येयलाई पूरा गरी छाड्ने प्रण गर्दछु।
सबै नगरबासीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नगरको पहिचान उच्च हुन्छ भन्ने मान्यताका साथ आम नगरवासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोट सहितको सम्मुन्नत नगरपालिकाको आकाँक्षा पूरा गर्न आफ्नो अभियानमा सामेल हुन देश विदेशमा रहनु भएका सम्पूर्ण नगरबासी, बुबा-आमा, दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अपिल गर्दछु।
हाम्रो संकल्पः
अन्त्यमा, हामी गर्नेछौँ – ढिलासुस्ती र भ्रष्ट्रचारको अन्त्य । हामी दिनेछौँ – समानता, स्वतन्त्रता र स्वराजको अनुभूति। हामी बनाउने छौँ – सुन्दर, शान्त, समृद्ध र समुन्नत रेसुङ्गा नगरपालिका। आउनुहोस् हातेमालो गरौं । हामी हाम्रा वाचा र सत्य सङ्कल्प पूरा गर्ने प्रतिबद्धता नगरवासी समक्ष प्रतिज्ञा गर्दै “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान” लाई पूर्णता गर्ने अठोटकासाथ विदा लिन्छु । धन्यवाद ।
नगरसभामा प्रस्तुत बजेट पास गर्न असार १२ गते बैठक राखिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend