साझा नेटवर्क
गुल्मी, असार ५ ।
रेसुङ्गा नगरपालिका गुल्मीको आर्थिक वर्ष २०८०-८१ को निति तथा कार्यक्रम नगरसभामा छलफलको लागि पेस भएको छ । नगर प्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम छलफल तथा सुझावको लागि पेस गरेको छ । नगरसभामा प्रस्तुत निति तथा कार्यक्रमले आम नागरिकको मौलिक हक अधिकारलाई प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउने गरी कार्यक्रम अघि सारेको छ ।

त्यसैगरी पछिल्लो समय बसाई सराई अधिक बढेको र प्राय: जसो उच्च शिक्षाको लागि बाहिरिने गरेको देखेर विद्यार्थी रोक्न र गुणस्तरीय शिक्षाको प्रत्याभुत गराउन विभिन्न प्रोत्साहन, छात्रवृती, पुरस्कार एवम् आर्थिक राहत जस्ता कार्यक्रमलाई निरन्तरता दिने, १ देखि ३ कक्षासम्मको लागि निरन्तर विद्यार्थी मूल्याङ्कनमा जोड दिदै “पेपर पेन्सिल टेस्ट” लाई निरुत्साहित गर्ने, आगामी आ.व.को लागि समेत विशेष कार्यक्रम ल्याएको छ ।
त्यसै गरी रेसुङ्गा क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक भित्राउनको लागि जाउँ हिड रेसुङ्गा अभियान लगायत विभिन्न साहसिक पर्यटनलाई बढवा दिन निजीक्षेत्रको लगानीमा रेसुङ्गा क्षेत्रमा जीपलाइन, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग, घोडचडीजस्ता साहसिक खेलहरू सञ्चालन गर्न, निजी संघ संस्था सँग समन्वय गर्ने गरी कार्यक्रम ल्याएको छ ।
उक्त निति तथा कार्यक्रम रेसुङ्गा नगरलाई “हरित शहर” घोषणा गरी दिर्घकालिन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसन (HILL STATION) को रूपमा विकास गर्ने, रेसुङ्गा नगरपालिका क्षेत्रभित्रका अनुत्पादक रुख विरुवाहरू हटाई उत्पादनमुखी काठ, फलफूल तथा जडिबुटीहरूको रोपण र संरक्षण गर्ने नीति तथा कार्यक्रम भित्र राखीएको छ ।
त्यस्तै मौसमजन्य विपदमा परी घरबार विहीन नागरिकहरूको आवास निर्माण संघ, प्रदेश तथा नगरपालिकाको लागत सहभागितामा काम गर्ने, “मेयरसँग रोजगार कार्यक्रम” अन्तर्गत एक घर एक रोजगार कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिने आदिलाई मुख्य प्राथमिकता राखेको छ।आगामी असार १० गते नगरसभाबाट पास गरी बजेट समेत प्रस्तुत हुने नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend