साझा नेटवर्क
गुल्मी, २४ पौष ।
गुल्मी जिल्लाको रेसुंगा विमानस्थल सिमिचौरमा तारा एयरले परीक्षण उडान सफल पारेको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरले आइतबार परीक्षण उडान गरेको हो।
आज बिहान ११:१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको वायुयान रेसुंगा नगरपालिकाको वडा नं १० स्थित सिमीचौरमा बनेको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो।
उक्त वायुयानलाई तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडान भरेका थिए। जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश सभा सदस्य धनेन्द्रबहादुर कार्की, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलगायतका राजनीतिक व्यक्तित्व, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसहित तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू रहेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend