साझा नेटवर्क
प्रिन्स मिश्र,कपिलवस्तु पुष ८ ।
कपिलवस्तु क्षेत्र नं ३ (१) मा षड्यन्त्र गरी हराएको भन्दै पुनः मतगणनाको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रविदत्त मिश्राले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
उम्मेदवार मिश्राले कपिलवस्तु ३ का मुख्य निर्वाचन अधिकृत प्रदीप मरासिनी , निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसी , निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमा अदालतले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कारण देखाउ आदेश दिएको हो ।
अदालतले मतगणना समयको सिसिटिभी फुटेज र मतपत्र पनि सुरक्षित राख्न भनिएको बुझिएको छ । ३ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका केसी लाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६ मतले विजयी भएको घोषणा गरेको थियो । तर, लोसपा नेपालका उम्मेदवार मिश्राले करिब १६४ सदर मत नै गणना नगरेको दाबी गरेका छन । प्रतिनिधि सभा तर्फको मतपत्र बाकसमा गएको अवस्थामा त्यसलाई पनि गणना गर्नुपर्ने आयोगको निर्देशिकामा व्यवस्था रहे पनि त्यसो नगरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गराएको मिश्राको दाबी छ ।
‘१६४ भन्दा बढी सदर मतलाई बदर गरिएको, कुन मतदान केन्द्रमा कति मत खसेको र कति गणना भएको लगायतका सूचना माग्दासमेत मुख्य निर्वाचन अधिकृतले नदिएपछि षड्यन्त्र गरेको पुष्टि हुन्छ’, मिश्राले भने, ‘पुनः मतगणनाको माग गरेको छु । पुनः मतगणना भयो भने म चुनाव जित्नेमा ढुक्क छु ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend