logo
  • शनिबार, असोज १० २०८३

गौतमबुद्ध विमानस्थलमा जजिराले रोक्यो दैनिक उडान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

भैरहवा, असोज ३१ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एकमात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए ।
यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए ।

जजिराले आफ्ना नयाँ जहाज लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ, उनले भने, तीन दिनसम्म उडान नहुँदा यात्रु रोकिएका थिए । शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ ।

विमानस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए । पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ । अहिले यात्रु सङ्ख्या साह्रै घटेकाले उडान घटाएका हौँ । अब पहिलेझैँ सातामा तीन उडान गर्नेछौँ उनले भने ।

नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । मागअनुसार नै आपूर्ति गर्ने हो । खाली विमान कहिलेसम्म उडाउने ? हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ, उनले भने । जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ।

तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन । गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकल लगायत कारण काठमाडौँ मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend