logo
  • शनिबार, असोज १० २०८३

किवीमय बन्दै भार्सेगाउँ : यम बहादुर थापा भन्छन, किवी मेरो पेन्सन हो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी असोज २६ ।
गुल्मीको सत्यवति गाउँपालिका ८ भार्सेका यम बहादुर थापा ५५ वर्षका भए । उनले सात वर्षदेखि किवीको व्यावासायीक उत्पादन गर्दै आएका छन् । थापाले पाँच रोपनीमा एक सय २० बोट किवी रोपेका छन् । घरमा पसल राखेका छन् । किवीले बारी ढाकिएको छ । थापा वडा सदस्य पनि भएकाले सामुदायीक काममा पनि सक्रिय छन् ।
उनले तीन बर्षबाटै किवी फल्ने भएकाले तीन/चार बर्षनै भए बेच्न थालेका । गत बर्ष त्यति फलेन । तर पनि डेढ लाखको किवी बिक्री गरेको थापा बताउँछन् । उनी अहिले १५ क्विन्टल किवी बिक्री गर्ने योजना छन् । थापाका अनुसार एउटै बोटमा ६० देखि ७० किलो फल्छ । साढे दुईसयदेखि तीन सय रुपैयाँमा घरबाटै किवी बिक्री हुने भएकाले बजारको कुनै समस्या नभएको थापाले बताए ।

किवीको नर्सरीबाटै झन राम्रो आम्दानी

यम बहादुर थापाले तीन बर्षदेखि किवीको नर्सरी सुरु गरेका छन् । नर्सरीबाट झन राम्रो आम्दानी थापाले गरेका छन् । उनले गत बर्ष डेढ लाखकका बिरुवा बेचे । बिरुवाको माग जिल्लासंगै बाग्लुङ्गमा छ । उनको नर्सरीमा अहिले दुई हजार पाँच सय किवीका बिरुवा छन् । प्रति बोट साढे तीन सयमा बिरुवा बिक्री गर्छन् ।

किवीका बिरुवा बिक्रीबाटै करिव नौ लाख आम्दानी हुने थापाले बताए । हेवार्डसंगै रेड किवीको बिरुवा थापाले उत्पादन गरिरहेका छन् । उनले आफ्नैमा उत्पादन भएको किवीको फलबाट नर्सरीमा बिरुवा उत्पादन गर्ने गरिएको बताए । पहिले किवीको बिरुवा खरिद गर्न झापा पुग्नु पथ्र्यो ।

५० हजारको खाद्यन्य नहुने बारीमा लाखौको किवी

यम बहादुर थापाले अहिले किवी रोपेको बारीमा पहिले गहुँ, मकै र भट्ट रोप्थे । लेक भएकाले बढिमा तीन जातका खेती बर्षमा हुन्थ्यो । त्यो माथि बाँदर, बँदेल र चराचुरुङ्गीबाट जोगाउन मुस्किल पथ्र्यो । बर्षमा सवैतिरबाट जोगिए ५० हजारको समेत खाद्यान्य उत्पादन हुन्थेन । तर, किवीबाट थापाले बर्षमा दशदेखि १५ लाख आम्दानी गर्छन् ।

सिजनमा आठ÷दश जनाले काम पाउँछन् । बाँदर र बँदेलको चिन्ता भएन । उनले बिस्तारै किवी बिस्तारको योजना पनि बनाएका छन् । ‘मैले सवै थोक त्यागेर किवी खेती गरेको छु । हावापानी हेरेर किवी रोपे पेन्सन हो,’उनले भने,‘सुरुको बर्ष लगानी गरेपछि बर्षौ उत्पादन दिन्छ ।’

गाउँभरी किवीको खेतीको लहर

सत्यवति गाउँपालिका ८ भार्सेमा किवीको लहर चलेको करिव एक दशक भए । अहिले लगभग सवैले किवी रोपेका छन् । त्यो बाहेक समुहमा पनि किवी रोपिएको छ । ठुलोपोखरी कृषी समुहमा ३० जना छन् । यो समुहले आठ बर्षदेखि किवी उत्पादन सुरु गरेको छ । ठुलोपोखरी कृषी समुहले दुई सय ७५ बोट किवी रोपेका छन् ।

समुहका सदस्य धन बहादुर काउछाका अनुसार सुरुमा बिरुवा, तारपोल खरिद गर्ने, खाडल खन्ने र बिरुवा रोप्ने गर्दा एक बोट बराबर पाँच हजार लगानी हुन्छ । समुहले बार्षिक ५० हजारमा जग्गा भाडामा लिएको छ । गत बर्ष समुहका एक जनाको भागमा एक सय ४१ किलो परेको काउछाले बताए । अहिले ३०/३५ क्विन्टल उत्पादन हुने समुहले अनुमान गरेको छ ।

सुरुका बर्ष हुर्काउन, मल र पानीको व्यावस्थापनसंगै काँटछाँट गर्नुपर्छ । बर्षमा दुई पटक काँटछाँट गर्नुपर्ने काउछाले बताए ।भार्सेकै अर्कुल किवी समुहले पनि एक सय बोट किवी रोपेको छ । समुहका सदस्य कुल बहादुर छन्तेलका अनुसार १५ जनाको समुहलेगत बर्ष सात क्विन्टल किवी बेचे ।

अहिले १२ देखि १५ क्विन्टल बिक्री गर्ने योजना रहेको छन्तेलले बताए । समुहले बर्षमा एक हजार दुई सय रुपैयाँमा जग्गा भाडामा लिएको छ । मकै भट्ट र कोदो भन्दा राम्रो आन्दानी किवीबाट प्राप्त भएको छ । उनले भार्से गाउँमा कम्तिमा १० बोट किवी अधिकांश घरले रोपेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend