logo
  • शनिबार, असोज १० २०८३

दुई दशक अघिकाे मेराे दशैं


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टिका सुबेदी, गुल्मी ।

दशैको बेला घर लिपपोत गर्नको लागी विहानै ५ बजे वल्तिर पल्तिरका आन्टी, भाउजु, दिदी बहिनी साथीभाई सँग एउटा सानो कुटो (कोदाली) अनि डोको नाम्लो र थैलो बोकेर नेटा हुदै नयाँगाउ पारी पट्टीको सालघारीको भिरमा लुकि लुकी परसम्मको सबैले खन्दा खन्दा सुरुङ्ग जस्तै बनेको खाल्टोबाट रातो माटो (ज्यानको प्रवाह नगरी) खनेर ल्याउन गईन्थ्यो र पो दशै आए जस्तो लाग्थ्यो।

त्यसैगरी तात्तातो मकै भट्ट भुटेर विहानको चिसो शितले बारम्बार फुत्किरहने चप्पल लाई भिजाउदै अनि कठ्यांग्रीदै फल्लाट केराउछरे हुदै अधेरीखोला का कुकुर हरुको डर लागेर सासले बोल्दै कन्चौडी गौडा पुगेर ढुक्कले सास फेर्दै धुवाँखोला र बरेंगका खोँचहरुमा घर पोत्न कमेरो खोज्दा खोज्दा एक जनाको भारी पुगेपनि अर्को साथीको भारी पुर्याउन को लागी (कमेरो खोज्दा खोज्दै) उतै रात पर्थ्यो र पो दशै आए जस्तो लाग्थ्यो।

बिहान सबेरै उठेर खरले छाएकै घर भएतापनि फलानो को घर भन्दा राम्रो घर बनाउछु भनेर गिठावट,भुर्तुंग, तोलाकोट हुदै कोरेंग माथी गेदास पुगेर गेरु (गाढा रातो माटो) खनेर हिड्ने बेला त्यो माटो भएको जमिन को मालिक ले त्यो गेरु लैजान दिन्न भन्दा पनि अब आईन्दा देखी आउदैनौ माफ़ गर्नुस भनेर बल्ल बल्ल ४ पाथी गेरु ल्याएर २–२ चोटी दोहोर्याएर घर लिपीन्थ्यो र पो दशै आए जस्तो लाग्थ्यो।


बिहानै झुल्के घाममा स्कुल को चौर अघि आफ्नै छाया आफु भन्दा ४ गुणा लामो हेर्दै, लाहुरे र अरबबाट दशै मान्न घर आएका हरुले टेप रिकर्डर बजाएर पावर सकिएका बेटरी (ब्याट्री) उनि हरुको खलान र मलखात अगाडी खोजेर ५–७ वटा जम्मा गरी घरमा लगेर सबै फुटाएर ब्याट्री भित्रको कालो धुलो भाग पानी चुहिने ढाई लिटरको ग्यालीन आधा भागबाट काटेर त्यसमा अलिकति पानी मा घोलेर बाक्लो बाक्लो बनाएर ति झ्याल ढोकामा लगाईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

बिहानै शित नसुक्दै कस्को खरबारी मा लामों बाँबियो छ त, भन्दै चोरी चोरी बाबियो को भारी लिएर पिंगको लठ्ठा बाटी ४ वटा बाँस गाढेर, को धेरै मस्किने भनी बाज़ी थाप्दै पिंगको लठ्ठामा तछाड मछाड गरी झुन्डिइन्थ्यो र पो दशै आए जस्तो लाग्थ्यो।

अर्काको घरबाट गाईको आलो गोबर चोरी चोरी ल्याएर घरका डिलका प्वाल हरु टाल्दै आँगन टिलीक्क पारेर लिपीन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

कारगिल कश्मीर बाट लाहुरेहरु र अरबबाट फलानो फलानो दशै मान्न आउदै छन, मिर्मी सम्म तिनै लाहुरेहरुको भारी बोक्न जाने हो बाबु भनेर गम्बिरे दाईले भन्थे र पो दशै आए जस्तो लाग्थ्यो।

बिहानै ६ बजे जुरुक्क उठेर गंगे दाईको आरनमा दुर्गा लाग्नु पहिले (विशेषत असोज महिनामा ख़रंधान काट्नको लागी हँसिया अर्जाब्ने चलन हुन्छ पहाडतिर) छुरा जस्तो बनाएको हँसिया र नाम्लो अनि भारी बाध्नको लागी एउटा डोरी बोकेर लाम्पईरो (धेरै लामों पहिरो गएको ठाउ) हुदै पलुवा भोगोरा सम्म पुगेर हस्याँग फस्याँग गर्दै आफ्नो तौल भन्दा पनि गह्रौ, शिर देखी पाऊँ सम्मको सिताईलो घासको भारी बोकेर चिप्लो र त्यो साँघुरो बाटोमा लड्दै र पड्दै अरुले भन्दा छिटो (९ बजे भित्रै) घासको भारी दिनभरको लागी घरमा पुर्याए बापत नवमी को दिन कोट जानको लागी २० रुपैया पाईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

नवमीको दिन २० रुपैया लिएर कोटमा गई मुंरे केरा र बेलाउती (अम्बा) खादै यसपाली त ओहो यती धेरै पंचल परेछन है ? फलानो ले त राँगो एकै चोट मा छिनायो फलानोले त छिनाउन सकेन है ? भन्दै साथीसँग बडो उत्सुकताका साथ गफ गरीन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

घरमा आमाले सेलरोटी बनाउदै गर्दा पहिलो सेलरोटी खान्छु भन्दा, आमाले पहिलो रोटी त भगवानलाई चढाउनु पर्छ नत्र भगवान ले काट काट्छन भन्दा ज्ञानी भएर चुल्हो को छेउमा त्यो सेलरोटी को प्रतिक्षा हुन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

दशैंको दिन १,२,५,१०,२० र ५० रुपैया का नयाँ नयाँ नोट थालीमा दहिमा मुछेको रातो टीका र पहेंलो जमरा संगै देख्दा त्यो नयाँ नोट मैले पनि पाउन पाए ? भन्दै सोच्दै टीका जमरा संगै बाबु आमा हजुरबा हजुरआमा लगायत सबै मान्यजन को टीका जमरा संगै आशीर्वाद थाप्न पाईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

तर आज, तर आज !
सब कहानी जस्तो लाग्छ।
जम्मा १०र१५ बर्ष मै !

कहाँ गए ति दिन ?
कहाँ छन ति क्षण?
अब मैले भेटाउन सक्छु त?
त्यो खुसी !
त्यो आनन्द !

आज धन छ होला,
शहरमा मा आलिशान महल छ होला !
तर मेरो मनरु
रोईरहेछ।
मात्र रोईरहेछ यो प्रदेश मा।

 

टीका सुबेदी गुल्मी
हाल बुटवल

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend