साझा नेटवर्क
गुल्मी, साउन २०।
गु्ल्मीको रेसुङ्गा नगरपालिकाले २०७८ सालको एसईई परीक्षामा ३.२ जिपिए भन्दा माथि अंक ल्याई उत्तिर्ण भई प्लस–टू पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक कार्यक्रमबीच घोषणा गरेका हुन् ।उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताए ।
पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै बिशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडि सारिएको सुनाए ।
‘गरिव विपन्न वर्गका छोरा–छोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्, –उनले भने वडाध्यक्षहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँ बाट ल्याउने ? भन्ने चिन्तै नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधी अनुसारका विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले छात्रावृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ । ’
रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद भण्डारीले यस वर्षको एसईई परिक्षामा ३.६ भन्दा माथि ३६ जना र ३.२ भन्दा माथि १०६ जना गरि १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend