साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन १६ ।
जिल्लाको गुल्मी दरवार गाउँपालिकाले बार्षिक समिक्षा गरेको छ । बार्षिक समिक्षाको गाउँपालिका प्रमुख सरोज कुमार थापाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख थापाले कर्मचारीलाई आधार र प्रमाणपत्र बिना भावनामा आएर काम नगर्न आग्रह गरे । उनले गाउँपालिकामा सात लाख ४९ हजार पेश्की बेरुजु र कागजात पेश गर्नुपर्ने २६ लाख ५१ हजार बेरुजु देखिएपछि कर्मचारीलाई जनप्रतिनिधी वा सेवाग्राहीको प्रभावमा परेर सेवा प्रबाह नगर्न आग्रह गरेका हुन् ।
उनले सेवाग्राहीलाई सेवा प्राप्त गर्नुपर्ने आवश्यक कागजात नपुगे वडातहबाटै सहजीकरण गर्नुपर्ने बताउँदै गाउँपालिका आएर फर्किने अवस्थाको अन्त्य गर्न निर्देशन दिए । यसैबिच गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र अन्य शाखा प्रमुखबिच कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकाले बार्षिक रुपमा प्राप्त गरेका उपलब्धिहरुको प्रतिवेदन पेश गरेका थिए । कार्यसम्पादन सम्झौतानुसार कर्मचारीको मासिक र चौमासिक मूल्याङ्कन, गाउँपालिकाका विभिन्न गतिविधिहरु समेटिएको मासिक इबुलेटिन प्रकाशन, गाउँपालिकाको पहिचान सहितको लोगो, गीत र डकुमेन्ट्री निर्माण, सूचनाको हकको कार्यान्वयनको लागि स्वत ः प्रकाशनको व्यवस्था गरिएको छ ।
कार्यसम्पादन सम्झौता र स्वत ः प्रकाशनको व्यवस्था जिल्लाका स्थानीय तह मध्ये आफुहरुले पहिलो पटक सुरुवात गरिएको गाउँपालिकाको दाबी रहेको छ । स्थानीय सरकार गठन भएदेखि हालसम्म गुल्मीदरबार गाउँपालिकाबाट सम्पादन भएका विभिन्न कृयाकलापहरुको गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निमार्ण, जिल्लामा पहिलो पटक गाउँपालिकाको संगठन सर्भेक्षण कार्य सम्पन्न गरीएको र गाउँपालिकाको सूचना प्रविधिमा आधारित वस्तुस्थिति विवरण संकलन कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले जानकारी दिए ।
अनलाईन राजस्व संकलन प्रणालीलाई सबै वडामा संचालन गरिएको, कृषकहरुको चासो, गुनासो र समस्या बुझ्नको लागि कृषकसँग गाउँपालिका कार्यक्रम संचालन गरिएको, उपभोक्ताहरुको सुविधालाई मध्येनजर गरी वडास्तरमा गई उपभोक्ता समितिहरुसँग योजना सम्झौता गर्ने कार्य गाउँपालिकाले गरेको छ । गाउँपालिकाबाट संचालन हुने महत्वपूर्ण कार्यक्रमहरुको सूचना एवं जानकारी पालिकाको नागरिकहरुको मोबाईलमा एसएमएस मार्फत जानकारी गराउने व्यवस्था गरिएको छ ।
जसमा गाउँपालिकामा चार हजार दुई सय घरधुरी दर्ता भएका छन् । गाउँपालिकाको समग्र सेवा प्रवाहको सम्बन्धमा आम नागरिकको प्रतिकृया बुझ्नको लागि ४२ वटा प्रश्नहरु समावेश गरी सेवाग्राही सन्तुष्टी सर्भेक्षण गराईएको जनाएको छ ।
उपभोक्ताहरुको कार्यलाई सरलीकरण गर्नको लागि योजना सम्बन्धी विस्तृत विवरण समावेश गरिएको पुस्तिका उपभोक्ता समितिलाई वितरण गरिएको, गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले अपाङ्ग परिचय पत्र वितरण कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अधिकृत टंक प्रसाद पन्थीले जानकारी दिए ।
कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम तयार गरी कक्षा १ मा हाम्रो गुल्मीदरबार नामक पाठ्यपुस्तकको अध्यापन गराउने कार्य भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार विभिन्न १० वटा सूचकमा गाउँपालिकाले ८१.२५ अंक प्राप्त गरेको छ । गाउँपालिकामा गत वर्ष एक सय ११ जना र यो वर्ष ९० उद्यमी सृजना गरिएको, गाउँपालिकाबाट आयोजना गरिएका विभिन्न तालिम कार्यक्रम अन्तर्गत बुटिक तालिम, ढाका बुनाई तालिम, हाउस वायरिङ्ग, डोजर अपरेटर, प्लम्बिङ्ग, अचार बनाउने, तालिम लगायतका तालिम लिएका जनशक्तिहरुको रोष्टर तयार गरिएको अधिकृत पन्थीले बताए ।
करिब ९८ प्रतिशत घर खरका छानामुक्त बनाइएको, गाउँपालिकामा महिला सशक्तिकरण मार्फत उद्यमी सिर्जना गर्दै गरिबी निवारणका लागि दिर्घकालिन परियोजना संचालन गर्ने उद्देश्यले ५ करोडको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संचालन भएको, हाल सम्म ६ सय २७ व्यवसाय दर्ता तथा अभिलेखिकरण गरेर नागरिकलाई गुणस्तरीय खाद्य पदार्थको उपभोग गर्न पाउने हक सुनिश्चित गराउन नियमित बजार अनुगमनको व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा आधुनिक स्वास्थ्य चौकि निर्माण गर्ने नीति अनुरुप वडा न ४ बाहेक सबै वडामा स्वास्थ्य चौकि निर्माण भैसकेको छन । वडा न ४ मा भवन निर्माण कार्य शुरुवात गरिएको छ । गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापन, निर्माण सम्झौता भई निर्माण कार्य भैरहेको स्वास्थ्य अधिकृत नारायण अर्यालले बताए ।
गाउँपालिकाको सबै वडा र टोल वस्तिहरुमा मोटरबाटो विस्तार गर्ने कार्य भएको, गाउँपालिकामा सुविधा सम्पन्न विद्यालय भवन निर्माणका कार्यहरु भईरहेका छन् ।
गाउँपालिका भित्र ठूला खानेपानी योजना अन्तर्गत खहरे खानेपानी तथा अमर अर्वाथोक लिफ्ट खानेपानी योजना सम्पन्न भई एक घर एक धारा कार्यान्वन भएको, अर्वाङ्गदि गैरा लिफ्ट खानेपानी, भलायचौर लिफ्ट खानेपानी, बठवाखोला लिफ्ट खानेपानी, बोटेपुच्छार सुपले घाट लिफ्ट खानेपानी, झाक्रेपानी लिफ्ट खानेपानी, नुनथला लिफ्ट खानेपानी र खोरिया खोल्सी लिफ्ट खानेपानी यस चालु आ।व। मा सम्पन्न हुने गरि कार्य अघि बढेको गाउँपालिकाले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend