logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख ८ । 
गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य ११ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सदरमुकाम तम्घासमा बिहीबार गुल्मी जिल्ला अदालतमा कार्यालय स्थापना गरिएको थियो ।
कार्यालयहरु स्थापना भएसँगै निर्वाचनसम्बन्धी सबै काम अब कार्यालयबाटै हुने जिल्ला निर्वाचन कार्यालका प्रमुख माया कुँवरले जानकारी दिनुभयो । वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन कार्यालयले दलहरुको लागि मनोनयन तालिका सार्वजनिक गरेको छ । जसअनुसार नेकपा माओवादी केन्द्रका लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म, नेकपा एमालेका लागि दिउँसो २ देखि ४ बजेसम्म र नेपाली काँग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का लागि १२ गते दिउँसो १२ देखि २ बजेसम्म, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राष्ट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले र विवेकशील साझा पार्टीका लागि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोनयनको समय तोकिएको छ । मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कांग्रेस बिपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जनसमाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ ।

२ लाख २४ हजार मतदाता, १४२ मतदान केन्द्र

गुल्मीमा कुल दुई लाख २४ हजार दुई सय ७६ जना मतदाता रहेका छन् । जसमध्ये एक लाख १० हजार ५९ जना पुरुष र एक लाख १४ हजार दुई सय १५ जना महिला रहेका छन् । दुईजना अन्य मतदाता रहेका छन् ।

निर्वाचनका लागि एक सय ४२ मतदानस्थल रहेको छ भने दुई सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend