साझा नेटवर्क
अनिल खत्री
१७ चैत, गुल्मी । गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उदघाटन गरेका छन् । विहिबार अक्सिजन प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए ।नेकपा एमालेका उपमहासचिव समेत रहेका नेता ज्ञवालीले पूर्ववर्ती सरकारले नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा र पालिका–पालिकामा आभारभूत स्वास्थ्य अस्पतालहरुलाई जोड दिएको उल्लेख गरे । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजि क्षेत्र प्रवेश ग¥र्यो ।

एक किसिमको निजिकरण भयो ।’ ज्ञवालीले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको संलग्नताका थुप्रै खालका विकृति भइरहेका छन् ।’निजि क्षेत्रका अस्पतालमा सर्वसाधरण नागरिकको पहुँचमा नभएको बताउँदै पूर्ववर्ती सरकारले अघि सारेको प्रत्येक पालिका–पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउँने कार्य अहिले पनि भइरहेको बताएका छन् । गुल्मी अस्पतालमा पनि आफु सरकारमा रहँदा बजेट बिनियोजन गरि ५० बेडको अस्पताल निर्माणको कार्य भइरहेको उल्लेख गर्दै केही समयपछि यस अस्पताल आधारभूत स्वास्थ्य सेवाका लागि प्रभावकारी गन्तव्य बन्ने उल्लेख गरे ।राजनिति भनेको एक जनाको ज्यान कसरी जोगाउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । जिल्लामा सबै राजनितिक दलहरुमा त्यो सेवा भाव रहेको बताए ।

राजनिति गर्ने क्षेत्रमा राजनिति भएपनि मावन सेवामा जिल्ला वासी सबै एकै ठाउँमा भएर सेवाको भाव देखाउने गरेको ज्ञवालीले बताए । नागरिक स्तरबाट सुरु गरिएको अक्सिजन प्लान्टमा राज्यबाट पनि लगानी गरेर सार्थकता पाएको उल्लेख गरे ।राज्यबाट अक्सिजन प्लान्ट निर्माणका निम्ति बजेट बिनियोजन भएपनि धेरै ठाउँमा काम नभएको ज्ञवालीले बताए । तर जिल्लामा अस्पताल प्रशासनको सक्रियता र नागरिकको खबदारीका कारण प्लान्ट सञ्चालनमा आउन सफल भएको बताए ।उनले दिर्घकालीन रुपमा प्लान्टले फाइदा दिने उल्लेख गरे । गुल्मी अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको छ ।
प्लान्टबाट जिल्लामै अहिले दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन क्षमता रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको थियो ।
प्लान्ट सञ्चालनमा आएको केहि महिना भएपनि बिधिवत रुपमा उद्घाटन गरिएको हो । अहिले गुल्मी अस्पतालमा प्रतिदिन १० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ ।
त्यो मागलाई प्लान्टबाट खपत हुँदै आएको छ । प्लान्ट निर्माणसँगै अस्पतालमा पनि अक्सिजनको निम्ति सहज भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए ।
प्लान्ट उद्घाटन कार्याक्रममा डाक्टर पच्याले अस्पतालको पछिल्लो अवस्था र भएका कामहरुको बारेमा जानकारी गराएका थिए । जिल्लामै अक्सिजन उत्पदानका निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिक र राज्यको लगानीमा जिल्लामा उदाहरणिय काम भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याले बताए ।
नागरिक स्तरबाट चौरासी पुजाको खर्च कटाएर प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको आज सपना पूरा भएको अर्यालले बताए । प्लान्ट उद्घाटन कार्यक्रममा प्लान्ट निर्माणमा सहयोग गर्ने र गुल्मी अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताए ।
अस्पतालमा सेवामा महत्वपूर्ण योगदान गर्ने कर्मचारी स्वास्थ्य कर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्ने हौसला दिलाउनको निम्ति सम्मान गरिएको पाण्डेको भनाई छ ।
अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको थियो । गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको छ ।
प्लान्ट निर्माणको लागि गुल्मी उद्योग वाणिज्य संघले भवन निर्माण गरिदिएको थियो । गत वैशाख–जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । तर अब भने जिल्लामा अब अक्सिनको अभाव नहुने अपेक्षा लिइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend