साझा नेटवर्क
हुमाकान्त पोखरेल
गुल्मी, १६ चैत । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकामा देविराम अर्याल ‘अमृत’ लाई अध्यक्षको उम्मेदवार उठाउने भएको छ । पार्टीको शनिबार बसेको गाउँ कमिटी बैठकले अर्यालाई सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । उक्त निर्णय अनुमोदनका लागि पार्टीको जिल्ला समन्वय समिति र प्रदेश समितिमा पठाइएको छ । अर्याल हाल नेकपा माओवादी केन्द्र मालिका गाउँकमिटीको अध्यक्ष छन् ।
जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय नेता अर्याल ०५७ मा अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीको कोषाध्यक्ष भएका थिए । त्यसपछि पार्टीको फौजी सेनाको रुपमा काम गरेका अर्याल ०५८ सालमा वामीटक्सारको भिडन्तमा परी खुट्टामा गोली लागेर घाइते भए । ०६० सालमा युद्ध सफल पार्न माओवादीद्धारा गठन गरिएको ‘जनमिलिसिया’ को गुल्मी जिल्ला कमान्डर बने । त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य, राज्य समिति सदस्य, वैकल्पिक सदस्य भएका अर्याल दोस्रो कार्यकालका लागि हाल पार्टीको गाउँकमिटी अध्यक्ष छन् ।
पहिलेदेखि नै आफु गाउँमै रहेर जनताको सेवा गरेकोले पालिका अध्यक्षमा आफु नेतृत्वको प्यानलले जित्ने अर्यालले दाबी गरे ।‘मालिकाको सबैभन्दा ठुलो समस्या बेरोजगारी हो ।’ उनले भने, ‘रोजगारीको सिर्जना, सडक, बिजुली, पानी लगायतका सुविधाका लागि माओवादी केन्द्रको जित आवश्यक छ ।’ सामाजिक क्षेत्रका हिसाबले उनी हाल अर्जै माविमा विद्यालय व्यवस्थापन समितिको तेस्रो कार्यकालका लागि अध्यक्ष छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend