साझा नेटवर्क
साझा नेटवर्क, जनकपुरधाम चैत ०३ ।
योग्य र दक्ष पत्रकार नभेटिएपछि प्रेस चौतारी नेपालले अयोग्य, गैरव्यवसायिक, माछा मासु तथा फलफूल व्यवसायी संघका पर्सा जिल्ला सचिव ग्यासु मियाँलाई मधेश प्रदेशको सचिवमा निर्वाचित गरेको छ ।

आठ कक्षा पनि नपढेका ग्यासु मिया अनुभवको आधारमा आफूलाई पत्रकार हैंन पत्रिकाको सम्पादक नै भन्दै हिंड्छन् । पर्साका स्थानीय पत्रकार नेताहरुलाई हप्तैपिच्छे घरमा मासु पुर्याएर योग्यता र मापदण्ड विपरीत पत्रकार महासंघको सदस्य हुन सफल भए, त्यत्ति मात्र नभई देशकै प्रतिष्ठित र मूलधारको टिभी च्यानल एभीन्यूज़ समेतमा ग्यासु मिया पर्सा जिल्ला समाचारदाताको रुपमा कार्य गरिरहेका छन् ।
तर पत्रकारिताको आडमा ग्यासु मियाँ देवानको धन्दा भने अर्कै रहेको जोकोहिलाई थाहा छ । ग्यासु मियाँले पत्रकारिताको आडमा पर्सास्थित नेपाल एवं सशस्त्र प्रहरीका एसपीसम्म आफ्नो पहुँच रहेको र राष्ट्रिय टेलिभिजन एभीन्यूज़मा कार्यरत रहेको भन्दै भारतबाट खुल्ला रुपमा खसी बोकाको तस्करी गराईरहेका छन्। भारतबाट खसी बोका नेपाल ल्याउनका लागि पशु क्वारेन्टाइनको स्वीकृति अनिवार्य हुन्छ।
यसबाहेक सरकारले एउटा खसी बोकाको पाँच हजार पाँच सय भारु मूल्यांकन राखी त्यसको १० प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यस अर्थमा हेर्दा पनि भन्सार र अन्:तशुल्क गरी १५ सय ६० रूपैयाँ तिर्नुपर्ने हुन्छ तर एक रूपैयाँ पनि भन्सार नतिरी दुवै प्रहरीको सेटिंगमा इनर्वागाउँबाट दैनिक झण्डै सय वटा खसी बोकाको तस्करी नेपालतर्फ हुँदै आएको छ । यो खसी बोकाको तस्करीको ठेक्का ग्यासु मियाँ देवानले गर्दै आएका छन् । पत्रकारको कार्ड देखाएर उनले यस्तो धन्दा गर्दै आएको जोकोहिलाई थाहा छ ।
इनर्वागाउँस्थित प्रहरी चौकीका असई र सोही स्थानमा खटिने सशस्त्र प्रहरी बलको वीरगंजस्थित बिओपी वीरगंज भन्सारका ड्युटीमा खटिने प्रहरीहरूलाई मिलाएर गयासुले दैनिक झण्डै सय वटा खसी बोका तस्करी गरी नेपाल भित्र्याउँदै आएका छन् । देवानले भारतबाट खसी बोका तस्करीका लागि आठ वटा मोटरसाइकल चालु हालतमा राखेका छन् र उक्त मोटरसाइकलमा एउटाले चलाउने र अर्को पछि बसी बीचमा दुई वटा खसी बोका हालेर दैनिक अवस्था हेरेर ७–८ पटकदेखि १० पटकसम्म पनि ल्याउने गरेको सीमाका स्थानीयहरू बताउँछन् ।
जतिवटा खसी बोका ल्याए पनि क्वारेन्टाइनका कर्मचारीको नाममा १८ सय रूपैयाँ बुझाउने काम पनि उनले गर्दै आएका छन् । तर क्वारेन्टाइनको रसिद देखाउन भनि केबल दुई देखि तीन सय रूपैयाँ मात्रै तिरेर सिफारिशवापतको रसिद लिने गर्दछन् । यसरी दैनिकरूपमा भित्रने ठूलो संख्याको खसी बोका वीरगञ्जमा मात्र नभई हेटौँडादेखि निजगढसम्म पुग्दछ ।
हिन्दूहरूको दोश्रो ठूलो पर्व फागुमा मासुको माग हवत्तै बढ़ने गरेका कारण पनि यतिखेर ग्यासुलाई भारतीय क्षेत्रबाट चोरबाटो हुँदै मासुजन्य खसी, बोका, बाख्रा भित्र्याउन भ्याई न भ्याई छ । यसरी देवानले भित्र्याएका तस्करीका खसी बोका काठमाडौँ र पोखरासम्म बसको डिकीमा हालेर पठाइने गरिएको छ । त्यत्ति मात्र नभई बारा, पर्सा, मकवानपुर र सर्लाहीसम्म पनि पठाइन्छ ।
पत्रकारको कार्ड भिरेर तस्करी गर्न र गराउन कसलाई छुट छ ? के ऊ कानुनभन्दा माथि छ ? भन्ने प्रश्न यहाँ बारम्बार उठे पनि देवानले सशस्त्रको भन्सारस्थित बिओपी, जिप्रका पर्सा, वडा प्रहरी कार्यालय बिर्ता, इनर्वा चौकी, भन्सार, इनर्वागाउँसमेतका केही चौकीलाई सित्तैमा मासु उपलब्ध गराएर र इनर्वागाउँ र त्यहाँ खटिने सशस्त्रका ड्युटीका प्रहरीहरूलाई रकम दिएर खसी बोकाको तस्करी हुँदै आएको छ ।
खसी बोकाका अलावा भारतीय सीमा बजार रक्सौलबाट दैनिक झण्डै एक दर्जन मोटरसाइकलमा प्लाष्टिकका बोरामा कुखुराको मासुसमेत भित्रिन थालेको छ । भारततर्फबाट काटिएको कुखुराको मासु खुलेआम भित्रिरहेको कुरा इनर्वा गाउँस्थित प्रहरीलाई थाहा नभएको पनि होइन । तर, प्रहरीले कहिले पनि पक्राउ गर्दैन । बरु उल्टो छोडेवापत मासु उपहार पाउँदै आएको छ । हरेक मोटरसाइकलमा ३० देखि ४० केजी तयारी मासु प्लाष्टिकको बोरामा प्याक गरी नेपाल भित्रिने गर्दछ ।
भारतको रक्सौलमा खसीको मासु प्रतिकेजी ६ सय ५० रूपैयाँ नेपाली पर्दछ तर वीरगंजमा प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री हुने गर्दछ । यो ठूलो रकमको फरकका कारण पनि भारतीय खसी–बोका नेपाल भित्रिने गर्दछ । यसरी खसी–बोका नेपाल भित्र्याउन सहयोग गरेवापत र पक्राउ नगरेका कारण ड्युटीमा खटिएका जवान र हवल्दारलाई ५० रूपैयाँका दरले घुस दिने काम व्यवसायीले गर्दै आएका छन् ।
प्रहरीलाई घुस मिलाउने र भारतबाट खसी–बोका एवम् तयारी कुखुराको मासु नेपाल भित्र्याउन सहयोगीको भूमिका यिनै गयासु मियां देवानले गर्दछन् । उनी आफूलाई कुखुरा व्यवसायी संघको सचिव भन्न पनि रुचाउँछन् । दिनभरि जसो इनरुवा बोर्डरमा झोला लिएर बसिरहेका हुन्छन् देवान् । उनले नै प्रहरीसँगको सेटिङ मिलाउने र कुखुरा एवम् खसी–बोकाका व्यवसायीहरूबाट रकम असुली मिलाउने काम गर्दै आएका छन् ।
जिप्रकाका एक अधिकृतका अनुसार यसरी मिलाइदिएवापत जिल्ला प्रहरी कार्यालयलाई १० केजीका दरले हप्तामा २ दिन खसीको मासु र एक दिन कुखुराको मासु, वडा प्रहरी कार्यालय विर्तालाई हप्तामा २ दिन ५ किलो खसीको मासु र एक दिन कुखुराको मासु, त्यसैगरी इनर्वागाउँस्थित प्रहरी चौकीका असईलाई हप्ताको २ दिन ३ केजी खसीको मासु र एक दिन कुखुराको मासु एवम् मन्दिर पोष्टका असईलाई हप्ताको २ दिन २ केजी खसीको मासु र एक दिन कुखुराको मासु दिने गरी मिलाउने कामसमेत हुँदै आएको थाहा भएको छ ।
शुद्धसँग नेपाली लेख्न-बोल्न समेत जान्ने, अनपढ़ व्यक्तिलाई हप्तै पिच्छे सित्तैमा मासु उपहार पाउनकै लागि पत्रकार महासंघको सदस्यता दिने, प्रेस चौतारीको मधेश प्रदेश सचिव बनाउने र एभीन्यूज़ टेलिभिजनको जिल्ला समाचारदाताको बिल्ला भिड़ाएर पत्रकारिता पेशालाई जग हंसाउने कार्य गर्दै आएका पर्साका पत्रकार नेताहरूको मौनता आफैंमा रहस्यमयी छ ।
यत्ति मात्र नभई कहिल्यै प्रकाशित नै नहुने, एक अंक संपादकीय समेत नलेख्ने, ११०% साभार गरिएका सिजिनल रुपमा प्रकाशित हुने ग्यासु मियांको पत्रिका प्रेस चौतारीसँग आवद्ध भएकै कारण प्रेस काउन्सिल नेपालले ख वर्गमा समेत वर्गीकृत गरिदिएर गैर व्यवसायिक पत्रकारितालाई प्रोत्साहन गरेको चर्चा समेत देशभरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend