साझा नेटवर्क
काठमाडौ, भदौ २३।
ब्लडमनि दिनुपर्नेलाई ५ लाखको सिडमनि मृतक परिवारलाई ७ लाख क्षतिपूर्ति ५ देशसँग श्रम सम्झौता गर्ने उजुरी तथा गुनासो टिपाउन फोन गर्दा शुल्क नलाग्ने २४ घण्टै कार्यालय गुनासो लिने प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुन : श्रम स्वीकृति तथा बिमा गर्न व्यवस्था मिलाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री दाहालले बिहीबार संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । खाडी तथा मलेसियामा कार्यरत नेपालीले पुन: श्रमस्वीकृतिको लागि दूतावासबाटै व्यवस्था गर्न माग गर्दै आएका थिए ।
प्रधानमन्त्री दाहालले विदेशस्थित अस्पतालमा रहेका नेपाली विरामीलाई परिवारकै सहमतिमा नेपालमा ल्याउने व्यवस्था गरेको बताए । खाडी तथा मलेसियामा कोमामा रहेका नेपालीलाई राज्यले जिम्मा नलिँदा स्वदेश फिर्ता सकेको छैन ।
कतारमा मात्रै झन्डै एक दर्जन विरामी छन् । दाहालले विदेशी जेलमा रहेका नेपालीको पक्षमा कानुनी पैरवी गर्ने दूतावास मार्फत मिलाउने बताए । उनले ब्लडमनि तिर्नुपर्ने नेपालीको हकमा ५ लाख ‘सिड मनि’ दिने बताए । र अपुग रकम विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोगको लागि पहल गर्ने बताए ।
दाहालले विदेशमा मृतक भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपुर्ति दिइने बताए । प्रधानमन्त्री दाहालले भने, आज म यो सम्मानित संसदमार्फत् विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग पनि भावना साट्न चाहन्छु । हामी यो देश रेमिट्यान्सले चलेको भन्छौं ।
वास्तवमा त्यो रेमिट्यान्स घरपरिवार छाडेर बिरानो भूमिमा उहाँहरूले बगाएको पसिना र रगतको फल हो । दुर्भाग्य नै भन्नुपर्छ, उहाँहरूको यो देशमा उचित कदर हुने वातावरण बन्न सकेन । ठगिँदा न्याय पाउनुभएन । अलपत्र पर्दा राज्य उहाँहरूसँग उभिएन । अब त्यसो हुने छैन । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूको अभिलेख संकलन गरिरहेको छ र उद्धार अभियान सुरु भइसकेको छ । विदेशी जेलमा रहेकाहरूलाई कानुनी उपचारका लागि दूतावासहरूले सहयोग गर्ने वातावरण बनाइने दाहालले बताए ।
उनले विदेशका अस्पतालहरूमा अलपत्र परेकाहरूलाई परिवारको सहमतिमा स्वदेश फर्काउन तत्काल अभियान सुरु गरिनेछ र ‘ब्लड मनी’ तिर्नुपर्नेहरूका हकमा सरकारले हरेक व्यक्तिलाई पाँच लाख बीज रकम (सिड मनी) राखिदिने र बाँकी पैसाका लागि देश–विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आव्हान गर्ने नीति लिइनेछ बताए ।
खाडी र मलेसियाका नेपालीहरूले पासपोर्ट लिँदा तिर्नुपर्ने शूल्क ८० डलरबाट घटाएर ५० डलर गरिएको जानकारी दिँदै । आगामी तीन महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एड्भान्स् प्यासेन्जर इन्फर्मेशन सिस्टम लागू गरी वैदेशिक रोजगारीमा जानेहरूले अध्यागमनमा फर्म भर्न नजान्दा खेप्नु परेको हैरानीको अन्त्य गरिने बताए ।
वैदेशिक रोजगारमा संलग्न कामदारहरूलाई उनीहरू कार्यरत मुलुकमै श्रम स्वीकृति र पुनर्विमा नवीकरण गर्ने व्यवस्था मिलाइने दाहालले बताए । ‘वैदेशिक रोजगारीमा ठूलो संख्यामा कार्यरत नेपालीहरू भएका मुलुक र श्रम तथा रोजगार मन्त्रालयबीच इन्टरलिङ्क प्रणालीबाट सोझै सूचना आदानप्रदान गर्ने व्यवस्था गरिनेछ ।
कम्तिमा थप पाँच मुलुकसँग श्रम सम्झौताका लागि तत्काल पहल गरिनेछ ।साथै, वैदेशिक रोजगारीमा गएकाहरूको समस्या, गुनासो र उजुरी सुन्न चौबीसै घन्टा खुला हुने कार्यालयको व्यवस्था मिलाइने छ,’ उनले भने, ‘त्यो कार्यालयमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्था गरिने छ ।
वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने छ । विमानस्थल र विमानस्थल बाहिर व्यहोर्न पर्ने सास्ती घटाउन विमानस्थलदेखि नयां वसपार्कसम्म लगेज राख्न मिल्ने गरी निश्चित समयमा गुड्ने ठूला बस सेवा सञ्चालनमा ल्याइनेछ ।
बाहिरबाट मृतकलाई नेपाल ल्याउन र क्षतिपूर्ति रकम पाउन अहिले देखिएको झन्झट हटाउन विशेष व्यवस्था गरिने छ । मृतकका परिवारलाई अहिले दिइँदै आएको क्षतिपूर्ति रकम रु. पाँच लाखमा रु. दुई लाख थपेर रु. सात लाख पुर्याइने छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend