साझा नेटवर्क
रमेश विश्वकर्मा,गुल्मी पुष २९ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८ र ०७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरेको छ । बुधबार गाउँपालिकाको सभाहल गौडाकोटमा साउन, भदौं, असोज र कार्तिक महिनामा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
गाउँपालिकामा सुशासन र संस्थागत विकासको लागि प्रमुख प्रशासकीय अधिकृतसँग शाखाका प्रमुखले कार्य सम्पादन करार सम्झौता गरेर काम गरिहरहेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुको मासिक र चौमासिक रुपमा मुल्यांकन हुने गरेको छ । मासिक रुपमा ई(बुलेटिन प्रकाशन हुदै आएको छ ।
सहायता कक्षबाट सेवा प्रवाह गरिएको गाउँपालिका र सबै वडामा विद्युतीय हाजिरी जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भने, ‘अनलाइन प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाका साथै राजस्व तिरेपछि तिर्ने ब्याक्तिको मोबाइलमा म्यासेज जाने व्यवस्था गरिएको छ, आन्तारिक आम्दानी बृद्धि गरिएको छ, उपभोक्तालाई सुविधा दिनको लागि सबै उपभोक्ताहरुलाई योजनाको बारेमा सबै बिवरण उपलब्ध गराइएको लगायतका काम पहिलो चौमासिकमा प्रभावकारी कार्यान्वयन भएको छ ।’
त्यस्तै गाउँपालिकाले सबै विद्यालयको कक्षा १ मा ‘हाम्रो गुल्मीदरबार’ नामक पाठ्यपुस्तक उपलब्ध गराइएको बताइएको छ । सेवा प्रवाहको सम्बन्धमा मासिक रुपमा कार्यालयका कर्मचारीको बैठक बस्दै आएको छ । गाउँपालिकाका सबै माध्यमिक बिद्यालयमा शौचालय, सेनेटरी प्याड र स्वच्छ खानेपानीको व्यवस्थाका लागि कूल ८० लाख रुपैयाँबाट काम चलिरहेको र १ करोड ५० लाखको काम टेण्डर प्रक्रियाबाट अगाडी बढेको ।
गाउँपालिकामा संचालित कार्यक्रम प्रभावकारी रुपमा अनुगमन गरिएको । बजार अनुगमन तिव्र रुपमा गरिएको, प्रगति समीक्षा निरन्तर भइरहेको, सडक विस्तारलाई कम प्राथामिकता दिई सडकको स्तरोन्नतीको काम तिव्रं रुपमा भइरहेको र गाउँपालिकाबाट विपतमा परेका ९५ जनालाई राहात उपलब्ध गराइएको पाण्डेले बताए ।
गाउँपालिकाले जिल्लामा पहिलोपटक १५ शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । कोरोनाको संक्रमणबाट बँच्नको लागि प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत पहिलोपटक गुल्मीदरबारमा निर्माण सम्पन्न हुन थालेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले कृषि र पशुपालनमा आफु पछाडी परेको भन्दै हेफर प्रोजेक्ट नेपालसँग सहकार्य गरेर कृषि र पशु सम्बन्धिको कार्यक्रमका लागि कर्मचारी भर्ना समेत गरिसकेको छ । गाउँपालिकाले पहिलो चौमासिकमा ४ वटा योजानाको सम्झौता र २ वटा योजनाको भुक्तानी समेत गरिसकेको समीक्षामा जानकारी गराइएको थियो । गाउँपालिकाले आफुलाई जनताको पहुँचसम्म पुराउनका लागि गाउँपालिकासँग लक्षित वर्गलाई छुट्टाएर कार्यक्रम चलाइरहेको छ ।
समीक्षा कार्यक्रममा विभिन्न बिषयगत शाखाका प्रमुख र वडाका सचिवहरुले आफुहरुले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाका सभापति प्रेम पुन, नेकपा एमालेका गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष सेर बहादुर सर्तुङ्गे, राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छबिलाल सर्तुङ्गले शुभकामना मन्तब्य राख्दै गाउँपालिकाले गरेको कामप्रति प्रशंसा गरेका थिए ।
उनीहरुले गाउँपालिकालाई अझै परिस्कृत रुपमा अगाडि बढाउँदै समग्र कार्य सम्पादन गुणस्तरीय र पारदर्शी बनाउन महत्वपूर्ण सुझावहरु दिएका थिए । कार्यक्रममा गाउँपालिका कार्याबाहक अध्यक्ष मीना भण्डारीले कर्मचारीको कामलाई उच्च प्रसंशा गरेकी थिइन् । उनले यहाँका राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिकाको हरेक क्षेत्रमा राम्रो सहयोग गरेको गरेको भन्दै सबैको साथ र सहयोगमा समृद्ध गुल्मीदरबार बनाउन हामी सबै लागेको हुँदा रचनात्मक सहयोग गर्न आग्रह गरिन् ।
देशभरका स्थानीय तहमा पालिकाहरुले गरेको सस्ंथागत क्षमता स्वमुल्यांकनमा अहिलेसम्म गुल्मीको गुल्मीदरबार गाउँपालिका ८१ अंक सहित उत्कृष्ट स्थानीय तह बनेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनप्रतिनिधिहरुले गरेका निति निर्माणको सही कार्यान्वयनले गाउँपालिकाले उत्कृष्ट अंक ल्याउन सफल भएकोले सबै जनप्रतिनिधिहरुलाई धन्यवाद भन्दै बधाई दिएका थिए ।
उनले जनता, राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्ध भएको कारणले गाउँपालिकाका कर्मचारीहरु उत्प्रेरित र उच्च मनोबलका साथ कार्य सम्पादन गरेको हुँदा गुल्मीदरबार गाउँपालिका नमूना गाउँपालिकाको रुपमा स्थापीत गर्न आफूहरु समर्पित भएर लागेको बताए ।
सुशासन र संस्थागत क्षमता विकासमा आफुहरु उत्कृष्ट हुनुको श्रेय गाउँपालिकाका स्वर्गीय अध्यक्ष अशोक कुमार थापा र सम्पूर्ण जनप्रतिनिधिलाई जाने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताएका थिए । गाउँपालिकाकी कार्याबाहक अध्यक्ष मीना भण्डारीले आफु खुसी हुदैँ कर्मचारीको निरन्तर खटाइले आफुहरुले संस्थागत क्षमता स्वमुल्यांकनमा उत्कृष्ट अंक ल्याएको बताइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend