logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा भव्यताको साथ सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

१७ असोज ,काठमाडौं– नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति रविन्द्र खड्काले आफ्ना भनाईहरु राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले समारोहलाइ सम्बोधन गर्दै दशैंअघि नै नेपालभरका सिनेमा हलहरु खुल्ने जानकारी गराउंदै बोर्डले गरेका अन्य महत्वपूर्ण कामहरुको बारेका जानकारी गराएका थिए ।

अध्यक्ष दाहालले मरणोप्रान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरुको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुसँगको समन्वयमा आयोजित कार्यशालाहरुमा सहभागी गराउने, क्षेत्रीय स्तरमा चलचित्र महोत्सवहरुको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरुको पहल भईरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।

समारोहमा बसुन्धरा भुसालले कलाकार संघले आयोजना गरेका कार्यक्रम तथा चलचित्रकर्मीहरुको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरु अनुपस्थित रहेकोप्रति आक्रोश व्यक्त गर्दै आफूलाई समस्या पर्दा संघ चाहिने तर यत्रो साधारण सभामा नआउने भन्दै उनीहरु यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई संघले पनि वास्ता गर्न नहुने विचार व्यक्त गरे ।

समारोहमा कृष्ण मल्लले भने मनगढन्ते उपाधि लिने र दिनेहरुप्रति असन्तुष्टि व्यक्त गर्दै इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला महानायक र महानायिकाको आत्मरतिमा रमाईरहेको तथा यदि तपाईंहरु महान हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न, तपाईंहरु महान होईन, दर्शक महान हुन् भन्ने धारणा व्यक्त गरेका थिए ।

समारोहमा लय सङ्ग्रौला, कृष्ण मल्ल लगायतका वक्ताहरुले संघको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरुको खुलेर प्रशंसा गरेका थिए ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कार्यक्रम सञ्चालन गर्ने क्रममा कोभिड १९ का कारण यो कार्यक्रम समयमै आयोजना गर्न नसकिएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend