साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज ३ ।
धुर्कोट गाउँपालिकाको विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा गाउँपालिकाले पालिकाको विकासमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुलाई नगदसहित सम्मान गरेको हो । ‘शहिद समशेर बहादुर खत्री पुरस्कार’ बाट नगद ५० हजारसहित पूर्व सासंद स्व. निलाम्बर पन्थी सम्मानित हुनुभएको छ ।
‘शहिद खिम विक्रम नेपाली शैक्षिक बर्ष पुरस्कार’ नगद २५ हजारसहित बाट जैसिथोकको पाञ्चायन मावि पुरस्कृत भएको छ भने १५ हाजर राशिको ‘शहिद खिम विक्रम नेपाली शैक्षिक बर्ष पुरस्कार’ बाट नयाँगाउँको देउराली प्रावि पुरस्कृत भएको छ । १५ हजार राशिको ‘शहिद जेदुराम भण्डारी कृषि वर्ष पुरस्कार’ बाट धुर्कोट –२ पिपलधाराका डिल बहादुर थापा, १५ हजार राशिकै ‘शहिद विष्णु बस्नेत बर्ष पशुपालक कृषक पुरस्कार’ बाट धुर्कोट –६ रजस्थलका भक्त बहादुर पाण्डे सम्मानित हुनुभएको छ ।
१० हजार राशिको ‘उत्कृष्ट कर्मचारी बर्ष पुरस्कार’ बाट लेखापाल कमल महत, ‘उत्कृष्ट कर्मचारी बर्ष पुरस्कार’ बाट कार्यालय सहयोगी शिवराज पोखरेल, ‘उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट मेडिकल अधिकृत डाक्टर जनक पाठक सम्मानित हुनुभएको छ । ‘उत्कष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट सिनियर अनमी भूमा थापा, ‘पत्रकारिता बर्ष पुरस्कार’ बाट टोपलाल अर्याल, ‘उत्कृष्ट शिषक बर्ष पुरस्कार’ बाट मदन कुमार सिंह र हुम बहादुर महत तथा ‘उत्कृष्ट विद्यालय कर्मचारी बर्ष पुरस्कारबाट राजु पछाई सम्मानित हुनुभएको छ ।
सम्मानित हुने सबैलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले सम्मान पत्र हस्तान्तरण गरेका गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले सरकारले सबै क्षेत्रालाई समेट्नुपर्ने र त्यो काम धुर्कोट गाउँपालिकाले गरेको बताउनुभयो । गाउँपालिकाको विकासमा सहयोग गर्नेलाई सम्मान गर्ने कार्य अन्य स्थानीय तहले सिक्नुपर्ने उहाँको भनाई छ ।
त्यसका साथै उहाँले संविधानलाई सही ढंगले कार्यान्वयन गर्नको लागि सबै राजनीति दल एकजुट हुनुपर्ने धारणा राखे । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सम्मानित हुने व्यक्ति तथा संस्थालाई सफलता जोगाइराख्ने चुनौति थपिएको बताउनुभयो । उहाँले अर्को बर्षदेखि पुरस्कारको दायरा बढाउने र सकेसम्म सबै क्षेत्रलाई समेट्ने बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend